१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ जेठ ६ आइतबार o८:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

स्रोतमै फोहोर छुट्याउने अभियानमा सफल बन्दै महानगर

वडा नम्बर २७ बाट सुरु भएको अभियान थप पाँच वडामा विस्तार

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:५२:oo

स्रोतमै फोहोर छुट्याउने अभियानमा काठमाडौं महानगरपालिका सफल हुँदै गएको छ । वडा नम्बर २७ बाट सुरु भएको यो अभियान थप पाँच वडामा विस्तार भएको छ ।महानगरका अनुसार वडा ५, ७, १०, १२, १७ मा स्रोतमै फोहोर छुट्याउन थालिएको छ भने अरू पाँच वडाबाट समेत फोहोर छुट्याउनुपर्ने माग आएको छ । महानगरअन्तर्गतको वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठ भन्छन्, ‘स्रोतमै फोहोर छुट्याउने काममा हामी सफल हुँदै छौँ । वडा नम्बर २७ बाहेक अरूमा समेत अभियान सुरु भइसकेको छ । यसबाहेकका अन्य वडाले समेत फोहोर छुट्याएर संकलन गरिदिन माग गरिरहेका छन् ।’ वडा नम्बर ६ र २० ले औपचारिक रूपमै स्रोतमा फोहोर छुट्याएर संकलन गर्न माग गरेका छन् । 

महानगरले औपचारिक रूपमा गत २३ माघदेखि स्रोतमै फोहोर 
छुट्याएर संकलन गर्न थालेको हो । छुट्याएको फोहोर संकलन गर्न भिन्न संकेत (रङ)सहितको गाडी तयार पारेको छ । फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्ने गरी गाडीको व्यवस्था गरिएको हो । विभागले स्थानीयको घरदैलोमा पुगेर फोहोर संकलन गर्ने रुट निर्धारण, साधन तथा उपकरणको प्रबन्ध, जनशक्ति परिचालन, संकलन तथा व्यवस्थापन विधि सिकाउने, समुदायको सहभागिता बढाउने र कामको अनुगमन मूल्यांकनको समेत योजना बनाइरहेको छ । महानगरले स्रोतमै फोहोर वर्गीकरण गर्न थालेका वडाहरूका घरमै फोहोर वर्गीकरण नगरे संकलन नै गर्दैन ।

रविनमान श्रेष्ठ, प्रमुख, वातावरण विभाग,
काठमाडौं महानगरपालिका

स्रोतमै फोहोर छुट्याउने काममा सफल हुँदै छौँ । वडा नम्बर २७ बाहेक अरूमा समेत अभियान सुरु भइसकेको छ । यसबाहेकका अन्य वडाले समेत फोहोर छुट्याएर संकलन गरिदिन माग गरिरहेका छन् ।

महानगरले यसअघि पटक–पटक फोहोर वर्गीकरण गर्ने प्रयास गरेको थियो, तर उक्त प्रयास सफल हुन सकेको थिएन । तर, पछिल्लो समय भने यसले सकारात्मक सन्देश दिएको महानगरको भनाइ छ । महानगरले वैशाख ०७९ मा सूचना जारी गर्दै १ साउनदेखि स्रोतमै फोहोर वर्गीकरण गर्नुपर्ने उल्लेख गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयन भएन । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, ०७७ र फोहोरमैला व्यवस्थापन ऐन, ०६८ को हवाला दिँदै स्रोतमै फोहोर पृथकीकरण गर्न आग्रह गरेको थियो । घर वा कार्यालयमै फोहोर नछुट्याए वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, ०७७ र फोहोरमैला व्यवस्थापन ऐन, ०६८ अनुसार कसुर मानी प्रत्येकपटक पाँच सय रुपैयाँ जरिवाना गर्ने जनाएको थियो । तर, महानगरले आफ्नो तर्फबाट तयारी पु¥याउन नसक्दा फोहोर छुट्याए पनि त्यसले निरन्तरता भने पाउन सकेको थिएन ।

५० टन मल उत्पादन
महानगरले स्रोतमै छुट्याएको फोहोरबाट ५० टन मल उत्पादन गरेको छ । यसका लागि महानगरले टेकुमा ठाउँ बनाएको छ । उत्पादित मल के गर्ने भन्नेबारे भने महानगरको कुनै योजना छैन । महानगरसँग जम्मा भएका पुनः प्रयोग र पुनः चक्रिय फोहोर बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ । भ्याटबाहेक २२ करोड ४८ लाख ७८ हजार रुपैयाँ न्यूनतम रकम तोकी बोलपत्र आह्वान गरेको हो । 

ad
ad