Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर : गोविन्द सुवेदी/नयाँ पत्रिका
२०७८ माघ १२ बुधबार ०७:४२:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

निर्माण सकेर टेको झिक्दा नै भाँचियो ६ करोडको पुल

Read Time : > 2 मिनेट
२०७८ माघ १२ बुधबार ०७:४२:००

पोखरा महानगरपालिका वडा नम्बर ३२ गगनगौडा र वडा नम्बर ३३ लामगाँदे जोड्ने पुल निर्माण सम्पन्न भएर परीक्षण नहुँदै भाँच्चिएकोे छ । निर्माण भएको पुलको टेको झिक्ने क्रममा पुल भाँच्चिएको हो । निर्माण कम्पनीले कम गुणस्तरको सामाग्री प्रयोग गरेका कारण पुल निर्माण भएर परीक्षण हुन नपाई भत्किएको स्थानीय मेघनाथ आचार्यले बताए । सोमबार दिउँसो उक्त पुल परीक्षण गर्ने तयारी थियो । पुल भाँच्चिएपछि परीक्षण गर्न माटो बोकेर गएका टिपर फर्काइएको  उनले जानकारी दिए । 

‘टेका निकालेर पुल परीक्षण गर्न माटो बोकेका भारी टिपर गुडाउने तयारी थियो । टेका निकाल्दा नै पुल भाँच्चिएपछि टिपर खेतको कुनामा माटो फालेर फर्किए’ उनले भने । आचार्यका अनुसार टेका झिक्नेक्रममा ठूलो आवाज निकाल्दै पुल भाँच्चिएपछि मजदूरहरुको भागाभाग भएको थियो । ‘मजदूरहरु टेका निकाल्दै थिए । अचानक ठूलो आवाज आयो । अनि उनीहरुको भागाभाग भयो’ प्रत्यक्षदर्शी रहेका उनले भने । पुलको स्टिल ट्रष्ट बाँगिएको छ भने स्टिल ट्रष्टसहितका माथिल्लो संरचना चर्किएर डोलिएको छ । 

६ करोड भन्दा धेरै लागत 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभाग (डोलिडार)ले पुन डिजाइन पछि डेढ वर्षमा सम्पन्न गर्ने गरि २२ पुस २०७५मा सेति नदी पुल निर्माण गर्न  एमएस एलिट कन्स्ट्रक्सन कम्पनी प्रालीसंग सम्झौता गरेको हो । 

सम्झौता भएको तीन वर्षपछि पुल निर्माण भएर परीक्षण गर्ने तयारी थियो । निर्माण कम्पनीले रिडिजाइनिङ गर्नुपरेकाले र कोरोना संक्रमणका कारणले समय लम्बिएको जानकारी दिएको छ । उक्त पुल निर्माण गर्न ६ करोड ११ लाख २० हजार ८२५ रुपैयाँमा सम्झौता भएको हो । 

निर्माण कम्पनी भन्छ ‘ट्रायल प्रोजेक्ट हो, हाम्रो व्याडलक भन्नुपर्छ’

निर्माणको जिम्मा लिएको एमएस एलिट कन्स्ट्रक्सन कम्पनी प्रालीका प्रोजेक्ट इन्चार्ज जीवन पौडेलले पुल भाँच्चिनु निर्माण कम्पनीका लागि व्याडलक भएको टिप्पणी गरेका छन् । ‘प्रप क्यान्टिलिभर ट्रस ब्रिज’ नेपालमा पहिलो पटक ट्रायल  गरिएको पहिलो पुल रहेको भन्दै उनले यसमा रिस्क हुन सक्ने आंकलन पहिले नै गरिएको जानकारी दिए । 

तर, यो लेबलको रिस्क होला भन्ने आफूहरुले कल्पना समेत नगरेको उनको भनाई छ । ‘यो नेपालमै पहिलो पटक नयाँ डिजाइन परीक्षण गरिएको परियोजना हो । यसमा केही रिस्क हुन्छ नै तर यो लेबलको रिस्क होला भन्ने सोचेका थिएर्नौं’ उनले भने । 

निर्माण कम्पनीको तर्फबाट कुनै कमजोरी नगरिएको उनको दाबी छ । पुलमा आठ हजार वटा नटबोल्ट प्रयोग गरिएको र ती कुनैपनि नटबोल्ट ढिला नभएको उनले बताए । तर, संरचना बांगिनु आफूहरुका लागि दुखद् भएको उनले सुनाए । पुल निर्माणको काम ९८ प्रतिशत सकिएको र परीक्षण गरेर रंगरोगन सक्ने अनि हप्तादिनभित्र पुल हस्तान्तरण गर्ने योजनामा आफूहरु रहेको उनले बताए ।

निर्माण कम्पनीका सुपरभाइजरले पुल निर्माण भएर परीक्षण गर्ने तयारी हुँदैगर्दा पुल भाँच्चिएको बताए । ‘हामी पुल परीक्षणको तयारी मै थियौं । गुड्का खोल्दा खोल्दै पड्कियो । परीक्षण गर्न नै पाइएन । लोड टेष्ट गर्ने भनेर गाडि पनि मगाएका थियौं । इन्जिनियर सरले गुड्का खोलेपछि केही बेर हेरेर परीक्षण गर्ने भन्दै हुनुहुन्थ्यो तर पाइएन । कम्जोरी त भएको होला नै । मलाई हाम्रो कमजोरी हो जस्तो लाग्दैन । डोलिडार, पूर्वाधार, एलआरडिपीका सरहरु आउँछौं भन्नुभएको छ । उहाँहरु आएपछि के कमजोरी भयो भन्ने पत्ता लाग्ला’ उनले भने ।  

नेताहरुले गरे निरीक्षण 
निर्माणाधिन पुल भाँच्चिएको खवर पाएसंगै कास्कीबाट संघीय संसदमा निर्वाचित दुई जना सांसदहरुले निरीक्षण गरेका छन् । संघीय सांसद एवं एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी र संघीय सांसद विद्या भट्टराईले छुट्टाछुट्टै निरीक्षण गरेका हुन् । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले समेत उक्त पुलको मंगलबार बिहानै निरीक्षण गरेको स्थानीय युवा रविन केसीले जानकारी दिए । 

‘विहान सांसदहरु खगराज अधिकारी र विद्या भट्टराईका साथै कांग्रेस उपसभापति धनराज गुरुङ अनि वडा नम्बर ३२ र ३३ का वडाध्यक्षले समेत पुलको निरीक्षण गरेर जानुभएको छ’ उनले भने । सांसद भट्टराईले आफूले पुलको निरीक्षण गरेको बताईन् । उनले पुल भाँच्चिएको र लच्किएको आफूले पाएको बताइन् । डोलिडारको परियोजना अन्तर्गत पुल निर्माण भएकाले डोलिडारलाई आफू र खगराज अधिकारी दुबैले जानकारी गराएको उनको भनाई छ । ‘पुल भाँच्चिएको थाहा पाएपछि हामी पुगेका हौं । हेर्दा पुल लच्किएको छ । फलाम भाँच्चिएको नै देखिन्छ । यस सम्बन्धमा हामीले डोलिडारका डिजी ईश्वर मरहट्टठालाई जानकारी पनि गराएका छौ ।