१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ७ शुक्रबार
  • Monday, 30 June, 2025
दोलखाको शैलुङ गाउँपालिका– ७ मा निर्माण भएको अँधेरी खोला–झोरघट्ट सिँचाइ आयोजना
२o७८ माघ ७ शुक्रबार o९:३९:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दोलखामा १४ वटा सिँचाइ आयोजना निर्माण हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ७ शुक्रबार o९:३९:oo

पहाडी जिल्ला दोलखामा खेतीयोग्य जमिन सिञ्चित गर्न चालू आर्थिक वर्षभित्रै १४ वटा सिँचाइ आयोजना निर्माण सुरु हुने भएका छन् । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लाभर साना तथा मझौला गरी १४ वटा सिँचाइ आयोजना निर्माण सुरु गर्न लागेको हो । कार्यालयका प्रमुख डिभिजन इन्जिनियर मनीष महर्जनले छनोटमा परेका योजनाहरूको गुरुयोजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम भइरहेको जानकारी दिए । 

निर्माण सुरु हुन लागेका अधिकांश योजनाहरू बहुवर्षीय ठेक्का प्रणालीअनुसार अघि बढाइने उनले बताए । आगामी आर्थिक वर्षको अन्तिमसम्म सबै योजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी कार्यालयले काम थालेको छ । निर्माण सुरु हुन लागेका योजनाहरूमा घ्याङखोला सिँचाइ योजना मेलुङ, उपल्लो डिही टहले कात्तिके सिँचाइ योजना भीमेश्वर, मसाने खोला सिँचाइ बिगु, महादेव खोला सिँचाइ जिरी, ओख्रे खोला सिँचाइ सैलुङ, तामाकोसी किर्ने लिफ्ट सिँचाइ योजनालगायत छन् । १४ वटै सिँचाइ आयोजनाको निर्माण सुरु गर्न कार्यालयलाई झन्डै चार करोड बजेटको अख्तियारी प्राप्त भएको कार्यालयले जनाएको छ । डिभिजन प्रमुख महर्जनले पर्याप्त कर्मचारीको पदपूर्ति नहुँदा तोकिएकै समयमा योजनाहरूको निर्माण कार्य थालनी गर्न असहज भएको सुनाउँदै केही समयभित्रै सुरु हुने जनाएका छन् ।

६ वटा सिँचाइ आयोजनाको निर्माण सकियो, चार निर्माणाधीन
कार्यालयले यसअघि निर्माण सुरु गरेका ६ वटा सिँचाइ आयोजनाको निर्माण सम्पन्न गरेको छ । सम्पन्न भएका आयोजनाहरूमा गलगले सिँचाइ आयोजना बोच, होसिंगा सिँचाइ आयोजना जिरी, फेदी कुडार सिँचाइ आयोजना जिरी, च्यासे छहरा सिँचाइ योजना भीमेश्वर, ज्याग्वे खोला सिँचाइ योजना बिगु र अँधेरी खोला झोरघट्टा सिँचाइ सैलुङ रहेको कार्यालयका अर्का इन्जिनियर नेत्र पौडेलले जानकारी दिए । उनका अनुसार गुमु खोला तोरीखेत सिँचाइ आयोजना कालिञ्चोक, फड्के खोला पौवा सिँचाइ आयोजना मेलुङ, धुम्बा लाटिखेत सिँचाइ बैतेश्वर र चोक्टे रुप्थाङ खोला सिँचाइ योजना बिगु भने यही आर्थिक वर्षभित्र सम्पन्न हुने गरी निर्माण भइरहेका छन् । 

विगत दुई वर्षदेखि लगातार लापिलाङमा आएको विशाल पहिरोले गुमु खोला तोरीखेत सिँचाइ आयोजनाको मुहान पुरिएको कार्यालयले जनाएको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ र ७ का किसानहरूको खेतीयोग्य जमिन सिञ्चित गर्ने उद्देश्यले निर्माण सुरु भएको उक्त आयोजनाको मुहान पहिरोले पुरेपछि सरोकारवाला र स्थानीय कृषकहरू चिन्तित बनेका छन् । योजना निर्माणको काम अन्तिम चरणमा पुग्दा पहिरोले मुहान नै पुरिदिएपछि मुहानको विकल्प खोजी भइरहेको डिभिजन प्रमुख महर्जनले जानकारी दिए । उनका अनुसार पहिरोले पुरिएको क्षेत्रभन्दा तल वा माथि मुहान छनोट गर्न प्राविधिक र स्थानीयहरू लागिरहेका छन् । उनले भने, ‘उपयुक्त ठाउँ छनोट गरी अस्थायी प्रकृतिको मुहान बनाएर भए पनि आयोजना सञ्चालनमा ल्याइनेछ ।’