सेयर बजारमा ७१ अंकको उछाल कारोबार रकम पनि पाँच अर्ब नाघ्यो

सोमबार, १२ पुष, २०७८
डिजिटल संस्करण

साताको पहिलो दिन आइतबार नेप्से ७१ दशमलव २० अंकले बढेर दुई हजार पाँच सय ९१ दशमलव ४२ बिन्दुमा पुगेको छ । सो दिन ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स पाँच दशमलव ३८ अंकले बढेर चार सय ८२ दशमलव ७४ बिन्दुमा पुगेको छ । अघिल्लो हप्ताको चार दिन सकारात्मक लय समातेको बजारको आइतबार कारोबार रकम पनि सकारात्मक बनेको छ । ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ता लगानी गर्न थालेका छन् । बैंकमा देखिएको तरलता संकट कम गर्न राष्ट्र बैंकले आयातमा कडाइ गरेको छ । यसले बजारमा तरलता संकट कम गर्न सहयोग पु¥याउने राष्ट्र बैंकको ठहर छ । 

 बजारले लामो करेक्सन पार गरेको सेयर बजार दबाब समूहका महासचिव नयन बाँस्तोलाले बताए । उनले भने, ‘एकपटक करेक्सन हुन आवश्यक थियो, जुन सकिएको छ । यस दिन एक सय ३२ वटा स्क्रिप्टको सेयर मूल्य बढेको छ भने ५२ वटा स्क्रिप्टको मूल्य घटेको छ । २० भन्दा बढी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । १० प्रतिशतले बढेर सर्किट मूल्य लाग्नेमा अधिकांश जीवन बिमा र निर्जीवन बिमा रहेका छन् ।

कारोबारमा आएका १३ वटा समूहका सूचकमध्ये जलविद्युत् र फाइनान्स समूहका सूचक भने घटेका छन् । सर्वाधिक बढ्नेमा जिवन बिमा, निर्जीवन बिमा समूहको सूचकमा लगानीकर्ताको आकर्षण उच्च रहेको देखिएको छ । त्यस्तै, वाणिज्य बैंक, विकास बैंक, उत्पादनमूलक, माइक्रो फाइनान्सतर्फ पनि लगानीकर्ताको आकर्षण कायम रहेको छ । 

गोर्खाज फाइनान्स कम्पनीको सेयर मूल्य ५ प्रतिशतले घटेको छ, माउन्टेन इनर्जी, ग्रिन लाइफ हाइड्रोपावरको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३१ कम्पनीको ८६ लाख कित्ता–इकाइ सेयर खरिद–बिक्री हुँदा पाँच अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुनेमा नबिल बैंकको ३२ करोडमाथिको कारोबार भएको छ । त्यसैगरी, हिमालयन डिस्टिलरी, नेपाल लाइफ इस्योरेन्स, शिवम् सिमेन्ट, नेपाल दूरसञ्चार कम्पनीको २६ करोडदेखि १३ करोड रुपैयाँसम्मको सेयर कारोबार भएको छ ।
 

सुझावित समाचार