१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
शुरोजंग पाण्डे नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:१४:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

निर्विकल्प अध्यक्ष  बन्ने ओलीको तयारीमा रावलको चुनौती 

Read Time : > 4 मिनेट
शुरोजंग पाण्डे, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:१४:oo

अध्यक्षमा उठ्ने घोषणा गर्दै रावलले भने– हार्ने–जित्ने चिन्तै नगर्नुस्, ओलीले पनि हारेकै हुन्

चितवनमा हुने दशौँ महाधिवेशन (१०–१२ मंसिर)बाट निर्विकल्प अध्यक्षमा दोहोरिने एमाले अध्यक्ष केपी ओलीको तयारीलाई उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेर चुनौती दिएका छन् । एमाले देशभर महाधिवेशन प्रतिनिधि छनोटको अन्तिम तयारीमा जुटिरहेका वेला उपाध्यक्ष रावलले गृहजिल्ला अछाम पुगेर मंगलबार अध्यक्षको दाबेदारी घोषणा गरेका छन् । शक्ति बाँडफाँडमा नाटकीय सहमति नभए ओली निर्विरोध अध्यक्ष हुनेछैनन् । 

अछामको साँफेबगर नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलामार्फत रावलले ओलीसँगै अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । यद्यपि ओलीले पनि अध्यक्ष लड्ने घोषणा अझै गरेका छैनन् । महाधिवेशनका लागि अध्यक्षको दाबेदारी घोषणा गर्ने रावल पहिलो नेता हुन् । एमालेको संस्थापन पक्ष एकताका सन्देश दिन सर्वसम्मत नेतृत्वको कोसिसमा छ । उपमहासचिव घनश्याम भुसालले पनि निर्विरोध अध्यक्ष सम्भावना नरहेको बताएका छन् । 

एमालेले २७ कात्तिकमा देशभर एक हजार नौ सय ९९ जना महाधिवेशन प्रतिनिधि छनोट गर्दै छ । त्यसका लागि देशभरका जिल्ला कमिटीले तयारी थालेका छन् भने केन्द्रीय कार्यालयमा उपमहासचिव विष्णु पौडेल प्रमुख रहेको संगठन विभागले सदस्यता नवीकरणको कामलाई अन्तिम रूप दिँदै छ । केन्द्रीय कार्यालयले महाधिवेशन प्रतिनिधि छनोटको मापदण्डसमेत उल्लेख गरेर चौधौँ अन्तरपार्टी निर्देशन पठाइसकेको छ । 

अध्यक्षमा उठ्ने घोषणाअघि रावलले ओलीसँगको प्रतिस्पर्धामा हारको परिणाम आफूलाई स्वीकार्य हुनेसमेत प्रस्ट्याएका छन् । ‘कतिपय साथीहरूले दशौँ महाधिवेशनका सन्दर्भमा तपाईं केमा उठ्नुहुन्छ भन्दै खुल्दुली व्यक्त गरिरहनुभएको छ । मैले त्यसमा दुईवटा उत्तर दिने गरेको छु । पहिलो, तपाईंहरू जेमा उठ् भन्नुहुन्छ म त्यहीमा उठ्छु । तपाईंहरूको पनि यहाँ केही छ भने भनिहाल्नुस्... (हलको जवाफ– अध्यक्ष) । तपाईंहरूको प्रस्तावै रहेछ । एउटा त्यो भनेको छु ।’ अध्यक्ष उठ्ने तयारीलाई कार्यकर्ता भेलाबाट अनुमोदन गराउँदै रावलले भनेका छन् ।

ओली पनि आठौँ महाधिवेशनमा पराजित भएर अध्यक्ष भएको प्रसंग स्मरण गर्दै रावलले आफूलाई जस्तोसुकै चुनावी परिणाम पनि स्वीकार्य भएको प्रस्ट्याएका छन् । उनले त्यतिवेला ओलीकै प्यानलमा आफू उपाध्यक्षमा पराजित भएकोसमेत स्मरण गरेका छन् ।

‘कति कार्यकर्ताले सोध्नुभएको छ, हार्‍यो भने के गर्नुहुन्छ ? मैले भनेको छु, चुनावमा लडेपछि नहारेको को छ ? आठौँ महाधिवेशनमा केपी ओलीले हार्नुभएको होइन ? त्यो महाधिवेशनमा केपी ओली र म एउटै प्यानलमा थियौँ, उहाँले अध्यक्षमा र मैले उपाध्यक्षमा हारेको हो,’ रावलले भने, ‘अब चुनावको कुरा गरौँ, केपी ओलीले प्रतिनिधिसभाको चुनावमा झापामा हार्नुभएको छैन ? म पनि त्यतिवेला संविधानसभाकै चुनावमा हारेको हुँ । दुवैले हारेका थियौँ, माधव नेपालले काठमाडौंमा हार्नुभएको थिएन र ? मुख्य कुरा देशको लागि, जनताको लागि, न्यायका लागि, समानताका लागि, सिद्धान्तका लागि झन्डा बलियो गरी समात्छ कि समात्दैन भन्ने हो । हार्ने कुरा के भो र ? यही ठाउँमा ०४८ मा हारेको हुँ, तर तपाईंहरूले जिताएर प्रतिनिधिसभा सदस्य, देशको उपप्रधानमन्त्री बनाइदिनुभो । त्यसकारण दशौँ महाधिवेशनमा तपाईंहरूको स्वाभिमान र भावनाको झन्डालाई बलियो गरी समात्छु, हार्ने–जित्ने कुराको चिन्तै नगर्नुस् ।’

उपाध्यक्ष रावलले असन्तुष्टि जनाउँदै पार्टी विभाजनका वेला एमालेमै रहेका दशजना स्थायी समिति सदस्यहरूको प्रतिनिधित्व गर्दै ओलीसँग प्रतिस्पर्धा गर्न लागेको संकेत गरेका छन् । रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, गोकर्ण विष्ट, अमृत बोहरा, भीम आचार्यसहितका नेता दशबुँदे सहमतिपछि एकताका पक्षमा उभिएका थिए । 

सहमति कार्यान्वयनका विषयमा अन्य नेताहरू प्रायः मौन रहे पनि रावल र भुसालले ओलीको कार्यशैलीप्रति पार्टीको बैठक र सार्वजनिक कार्यक्रममार्फत नै प्रश्न उठाउँदै आएका छन् । रावलले पनि महाधिवेशनका प्रतिनिधि छनोटपछि भुसालसँग अन्तिम परामर्श गरेर उम्मेदवारीको अन्तिम निर्णय गर्ने उनीनिकट एक नेताले बताएका छन् ।

‘ओलीले अहिले जसरी सर्वसम्मत रूपमा नेतृत्व चयनको हौवा पिटाए पनि त्यो सम्भव छैन । दशबुँदे सहमति कार्यान्वयनका पक्षमा रहनुभएका फरक विचार समूहका ११ जना स्थायी समिति सदस्य को कहाँ भन्दा पनि समग्र विचार समूहको निरन्तरताका लागि पनि रावल कमरेडले प्रतिस्पर्धा गर्ने तयारी गरिरहनुभएको छ,’ ती नेताले भने, ‘त्यसका लागि उहाँले घनश्याम भुसालसँग परार्मश गरेर अन्तिम निर्णय गर्नुहुनेछ । देशभर छरिएर रहेका कार्यकर्ताहरूको बीचबाट जति प्रतिनिधि चुनिएर आए पनि उहाँले प्रतिनिधित्व गर्दै ओलीसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।’

रावलसहित दशबुँदे सहमतिबाट पार्टी एकताका पक्षमा उभिएका नेताहरूको सम्मानजनक व्यवस्थापनबारे ठोस प्रस्ताव ल्याएको खण्डमा भने सर्वसम्मत नेतृत्व चयन गर्ने तयारीमा सहयोग हुन सक्ने पनि ती नेताले बताए । ‘सबैलाई मिलाएर लैजाने, सबैको भावनाको प्रतिनिधित्व गर्न खोजियो भने सहमति हुन पनि सक्छ, तर अहिलेलाई ओलीलाई निर्विकल्प छाड्ने सम्भावना छैन,’ ती नेताले भने । 

तर, उपाध्यक्ष युवराज ज्ञवालीले रावलले उम्मेदवारी घोषणापूर्व दशबुँदे सहमतिका पक्षधर नेताहरूसँग परामर्श नगरेको बताए । ‘महाधिवेशनमा कुन पदमा उठ्ने सम्बन्धित नेताको अधिकारको कुरा हो । तर, सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने दिशामा जानुपर्छ । सकेसम्म केन्द्रीय कमिटी नै, त्यो नभए पनि कमसेकम पदाधिकारी सर्वसम्मत चयन गरिनुपर्छ । त्यसो गर्न कुनै समस्या पनि छैन,’ ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘उहाँ (भीम रावल)ले के भन्नुभो, थाहा पाएको छैन, महाधिवेशनमा उठ्ने–नउठ्ने व्यक्तिको स्वतन्त्रता हो । सकेसम्म सहमतिलाई प्रयास गर्ने हो, नभए प्रतिस्पर्धाबाट हल गर्नुपर्छ । हामीसँग उहाँको कुनै सल्लाह भएको छैन । दशजनाको पनि सबै मिल्नुपर्छ भन्ने छैन । विभिन्न विषय मिल्न सक्छ, कतिपय नमिल्न सक्छ ।’

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एमालेको मात्र होइन, मुलुककै नेतृत्वमा केपी ओलीबाहेकको विकल्प नरहेको प्रतिक्रिया दिए । ‘निर्वाचनको संघार भएको हुनाले पार्टीभित्र सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ भन्ने मनोविज्ञान बलियो बन्दै गएको छ । त्यही मनोविज्ञानमा टेकेर हामी अगाडि बढ्ने तयारीमा छौँ । अहिले एमालेले मात्र होइन, मुलुकले खोजेको नेतृत्व एमाले अध्यक्ष केपी ओली नै हुनुहुन्छ । उहाँ मुलुकले खोजेको नेता हो । त्यसकारण उहाँकै नेतृत्वमा फेरि पनि पार्टीलाई अगाडि बढाउनुपर्छ भन्ने तयारीमा छौँ । तर, कसैले प्रतिस्पर्धा गर्छु भन्दा गर्नै नपाइने भन्ने त छैन,’ तामाङले भने, ‘किनभने एमाले विधि र पद्धतिमा विश्वास गर्ने पार्टी हो । तर, प्रतिस्पर्धामा कस्तो परिणाम आउँछ भन्ने सम्बन्धित व्यक्तिले नै आकलन गर्ने हो । तर, अहिलेको सन्दर्भमा हामीले केपी ओलीको नेतृत्व र अगुवाइमा मुलुकलाई अगाडि बढाउनेबाहेक कुनै अर्को विकल्प देखिरहेका छैनौँ ।’

प्रतिस्पर्धाबाट प्रतिनिधि छनोट रावलको प्राथमिकता 
अध्यक्ष ओलीले वडा र पालिका अधिवेशन सर्वसम्मत सम्पन्न गराएर दशौँ महाधिवेशनको नेतृत्व पनि सर्वसम्मत चुन्ने गरी माहोल सिर्जना गरे पनि रावलले भने चुनावी प्रतिस्पर्धाबाट प्रतिनिधि छनोट गर्नुपर्नेमा जोड दिएका छन् । 

‘कुनै भूमिका नखेलेका र यो पार्टीविरुद्ध काम गरेका मान्छेलाई ल्याएर सदस्य भन्दै मनपरी महाधिवेशन प्रतिनिधि चयन गर्न खोजियो भने त्यो मान्य नहुने मान्यतामा उहाँ दृढ हुनुहुन्छ, त्यसैले स्वस्थ चुनावी प्रतिस्पर्धाबाट प्रतिनिधि छनोट उहाँको प्राथमिकता हो,’ उनीनिकट नेताले भने ।

२७ कात्तिकमा प्रतिनिधि छनोटपछि कसरी अघि बढ्ने विषयमा रावलले निकटस्थहरूसँग थप छलफल गर्ने तयारी गरिरहेका छन् । उनले पार्टी एकता जोगाउन गरिएको दशबुँदे सहमति झापामा लागू गरेर ओलीले पूर्वाग्रह राखेर सुदूरपश्चिम प्रदेशमा लागू नगरेको भन्दै प्रतिवाद पनि गरेका छन् । 

भीम रावलनिकट नेता झपट रावलले संस्थापन पक्षले नक्कली संगठित सदस्यका बीचबाट प्रतिनिधि चयनको कोसिस गरेको आरोप लगाए । ‘कैलालीमा पार्टी एकता हुँदाका अधिकांश माओवादीका नेता–कार्यकर्ता पूर्वपार्टीमा फर्किसके, तर नक्कली नाममा ठेगानासमेत नभएका करिब नौ हजार सदस्य हालेर नवीकरण गरिएको छ । उनीहरू नेपाली हुन् कि भारतीय, बाबुआमाको समेत पहिचान छैन,’ उनले भने, ‘प्रतिनिधि चुन्न र चुनिन पाउने अधिकार कुण्ठित गरेर नक्कली संगठित सदस्यका बीचबाट कसरी स्वस्थ प्रतिस्पर्धा भएर प्रतिनिधिहरू चुनिन्छन् ? कसैले अपराध गर्छ भने हामी त्यस्तो अपराधको साक्षी मात्रै बस्ने हुँदैन ।’
 

ad
ad