
भारतले बिहीबारसम्म आफ्ना जनतालाई १ अर्ब डोज खोप लगाएकोमा विश्व स्वास्थ्य संगठनले प्रशंसा गरेको छ । संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतका वैज्ञानिक, स्वास्थ्य कार्यकर्ता तथा जनतालाई बधाई दिएका छन् ।
भारतीय समाचार संस्था एएनआईले खोपकरणमा भारतको प्रयास कोरोनाबाट जनता बचाउने उपायको कोशेढुंगा भन्दै विश्व स्वास्थ्य संगठनले प्रशंसा गरेको समाचार लेखेको छ । ‘भारतले जोखिममा रहेका जनसंख्यालाई खोप लगाएर कोरोना महामारीबाट बचाउन उल्लेखनीय प्रयास गरेको छ, यो प्रयासको म सराहना गर्दछु,’ महानिर्देश्क टेड्रोसले भनेका छन् । कोबिन पोर्टलका अनुसार बिहीबार अपराह्नसम्म भारतले १ अर्ब डोज खोप लगाएको छ । गत जनवरीमा सुरु भएको खोपकरण सुरुमा स्वास्थ्य कार्यकर्ता हुँदै अहिले १८ वर्षमाथिका जनसंख्यालाई भारतले व्यापक मात्रामा लगाइरहेको समाचार संस्थाहरूले जनाएका छन् ।
फेब्रुअरीबाट भारतले प्रहरी, अर्धसैनिक बल, सेना, होम गार्ड, नगरपालिकाका कर्मचारी, जेलका कर्मचारी, राजस्व संकलकलगायत ठूलो जनसंख्यालाई खोप लगाउन सुरु गरेको थियो । गत मार्च १ बाट ६० वर्षमाथिका सबैलाई, अप्रिलबाट ४५ वर्षभन्दा माथि उमेर समूहकालाई तथा मेबाट १८ वर्षमाथिको जनसंख्यालाई भारत सरकारले खोप लगाउँदै आएको छ ।