एमालेले चाहेमा सरकार सात दिनमै ढल्ने ओलीको दाबी

बुधबार, ३ कार्तिक, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहेमा एक हप्ताभित्रै सरकार ढाल्न सक्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका ओलीले आफूहरूको लक्ष्य तत्काल सरकार ढाल्ने भने नरहेको स्पष्ट पारे। ‘अहिले पनि यो सरकार ढाल्दिने हो भने धेरै त नभनौँ, एक हप्ताभित्र यो सरकार जान्छ। एमालेले ढाल्दिने हो भने। यस्तै यस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिनभित्र ढाली दिन्छौँ। लोभीपापीहरू छन्, दिए भइगो नि। ढलिहाल्छ नि, त्यो कुन ठूलो कुरा हो र,’ उनले भने।

अध्यक्ष ओलीले देश बनाउने निश्चित भएपछि मात्रै आफ्नो पार्टी सरकारमा जाने बताए। उनले देश बनाउने कुरा र सरकार बनाउने कुरा फरक भएको उल्लेख गर्दै देश बनाउनका लागि आफूहरूले निर्वाचनमा आफ्नो पार्टीलाई विजयी बनाउन चाहेको बताए ।

सुझावित समाचार