गृहमन्त्रीले भने– बाँकेका दुई महिलाको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही हुन्छ

आइतबार, २४ असोज, २०७८
डिजिटल संस्करण

गृहमन्त्री बालकृष्ण खाणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताएका छन् । गृहमन्त्री खाणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नलाई तत्काल अनुसन्धान गरी कानुनबमोजिम कडा कारबाही गर्ने बताए । 

आइतबार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीले घटनाका दोषीमाथि कडा कारबाही गर्न गृहमन्त्री खाणलाई ज्ञापनपत्र बुझाएका थिए । त्यसक्रममा गृहमन्त्री खाणले पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताए । 

उनले भने, ‘नेपाली जनताको जीवन रक्षा गर्ने राज्यको दायित्व हो । कुनै पनि नेपाली जनताले अनाहकमा जीवन गुमाउन नपरोस् त्यसमा हामी गम्भीर छौँ । र, जनताको जीवन रक्षाका लागि महिला दिदीबहिनीहरूको रक्षाका लागि सरकार गम्भीर छ । घटनाको बारेमा तत्काल अनुसन्धान पनि हुन्छ । अब कानुनमा भएको व्यवस्थाको रक्षा गर्ने, कानुनको रक्षा गर्ने दायित्व पनि सरकारको हो । कानुनबमोजिम नै कारबाही हुन्छ ।’

गृहमन्त्री खाणले सरकार महिलामाथि हुने हत्या, हिंसालगायतका अपराधिक घटना नियन्त्रण गर्न गम्भीर भएर लागिपरेको दाबीसमेत गरे । त्यसक्रममा महिला अधिकारकर्मीले पीडितको न्यायका लागि दोषीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । 

महिला सुरक्षा दबाब समूहकी सुशीला श्रेष्ठले दोषीमाथि कडा कारबाही गरी पीडितलाई न्याय दिन सरकारलाई दबाब दिनुपरेको बताइन् । 
 

सुझावित समाचार