१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o६:२८:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण महिला फुटबल आज

विश्व फिफा वरीयतामा नेपाल एक सय एक स्थानमा छ भने बंगलादेश एक सय ३७ स्थानमा छ । दक्षिण एसियाली वरीयतामा नेपाल भारतपछि दोस्रो स्थानमा छ ।

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:२८:oo

एक साताको अन्तरमा दशरथ रंगशालामा घरेलु समर्थकले दुईवटा मैत्रीपूर्ण फुटबल हेर्न पाउने भएका छन् । नेपाल–भारतबीच मैत्रीपूर्ण पुरुष फुटबल सकिएको चार दिनपछि (बिहीबार) नेपाल–बंगलादेशबीच मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिता हुन लागेको हो ।दशरथ रंगशालामा बिहीबार ५ बजे खेल सुरु हुनेछ । नेपाली महिला फुटबल टोली २०२२ को एएफसी महिला एसियन कप छनोटको तयारीमा छ । छनोट प्रतियोगितामा सहभागी हुनुअघि नेपालले तयारीस्वरूप बंगलादेशसँग दुईवटा खेल खेल्न लागेको हो । यसको प्रबन्ध अखिल नेपाल फुटबल संघले गरेको हो । नेपाल–बंगलादेश मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्न पूर्ण रूपले तयार रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । 

नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आफ्नो टोली बंगलादेशविरुद्ध खेल्न तयारी अवस्थामा रहेको प्रि–पोस्टम्याच कन्फरेन्समा बताएका छन् । एएफसी महिला एसियन छनोटअघि हुन गइरहेको मैत्रीपूर्ण खेलबाट खेलाडीले धेरै सिक्ने अवसर पाउने मुख्य प्रशिक्षक फिलिप्सले बताए । ‘बंगलादेशसँगको मैत्रीपूर्ण खेलबाट नेपाली खेलाडीले धेरै पक्ष सिक्ने अवसर पाउनेछन्,’ फिलिप्सले भने, ‘मैत्रीपूर्ण खेल एएफसी छनोटका लागि ठूलो मौका हो ।’

मुख्य स्ट्राइकर सावित्राको अभाव
बंगलादेशविरुद्धको प्रतिस्पर्धामा दक्षिण एसियाली उत्कृष्ट स्ट्राइकर सावित्रा भण्डारी हुनेछैनन् । सावित्रा उपचारार्थ कतारमा छिन् । महिला राष्ट्रिय फुटबल लिगका वेला सावित्रा घाइते भएकी थिइन् । एन्फाले उनको एन्टेरिएर क्रुसियल लिगामेन्ट शल्यक्रियाका लागि कतार पठाएको हो । सन् २०१४ मा सावित्राले राष्ट्रिय महिला फुटबल टोलीमा स्थान बनाएकी थिइन् । 

सात वर्षको अन्तरमा सावित्राले आफूलाई महिला फुटबलको एक नम्बर स्ट्राइकरका रूपमा स्थापित गरिन् । उनले अहिलेसम्म ३४ अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ३८ गोल गरेकी छन् । टोलीमा भरपर्दो स्ट्राइकर नहुँदा त्यसको असर देखिन सक्ने प्रशिक्षक फिलिप्सले औँल्याएका छन् । ‘सावित्रा नहुनु टोलीका लागि घाटा हो, मैदानमा उनी हुँदा विपक्षी टोलीमा दबाब हुन्थ्यो । सावित्राविना नेपाली टोलीमा निकै दबाब हुन्छ,’ उनले भने, ‘सावित्रासँग भारतको चर्चित आईलिगको अनुभव छ ।’

यद्यपि, फिनिसिङ लाइनमा मुख्य स्ट्राइकरको अभाव रहे पनि नेपाली टोली बलियो रहेको मुख्य प्रशिक्षक फिलिप्सले बताए । ‘यद्यपि, नेपाली टोली बलियो छ,’ उनले भने, ‘मलाई विश्वास छ, बंगलादेशसँग खेलाडीहरूले राम्रो नतिजा निकाल्नेछन् ।’

नयाँ खेलाडीलाई मौका
प्रशिक्षक फिलिप्सका अनुसार मैत्रीपूर्ण खेलमा नयाँले मौका पाउनेछन् । ‘केही खेलाडी घाइते छन्, यस्तो अवस्थामा नयाँ खेलाडीले राष्ट्रिय टोलीमा मौका पाउने सम्भावना छ,’ उनले भने । कोरोना महामारीबीच महिला खेलाडीले मैत्रीपूर्ण खेल खेल्न पाउनु एउटा राम्रो अवसरका रूपमा आफूले लिएको प्रशिक्षक फिलिप्सले जनाए । मैत्रीपूर्ण खेलका लागि ६ साताको तयारी गरेको उनले बताए । 

बंगलादेशका मुख्य प्रशिक्षक गोलाम छोटनले पनि मैत्रीपूर्ण खेलले एसियन कप छनोटमा सहयोग मिल्ने बताए । ‘एसियन कप छनोटअघि हुने मैत्रीपूर्ण खेलले नेपाल र बंगलादेश दुवै देशलाई फाइदा पुग्नेछ,’ प्रशिक्षक छोटनले भने, ‘खेलपछि धेरै पक्ष सुधार गर्ने मौका मिल्नेछ ।’ 

विश्व फिफा वरीयतामा नेपाल बंगलादेशभन्दा माथि नै छ । फिफा वरीयताअनुसार नेपाल एक सय एक स्थानमा छ भने बंगलादेश एक सय ३७ स्थानमा छ । नेपाल बंगलादेशभन्दा ३६ स्थान माथि छ । दक्षिण एसियाली वरीयतामा नेपाल भारतपछि दोस्रो स्थानमा छ । 

एसियन कप छनोट
एसियन कप छनोट उज्वेकिस्तानमा हुनेछ । नेपाल छनोट खेलको समूह एफमा छ । नेपालले उज्वेकिस्तानमा दुई खेल खेल्नेछ । नेपालले १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङको सामना गर्नेछ । यस छनोट प्रतियोगितामा शीर्ष स्थानमा आउने टोलीले अर्को वर्ष भारतमा हुने एसिया कप खेल्नेछ । एसिया कप २० जनवरीदेखि ६ फेब्रुअरी २०२२ सम्म हुनेछ । 

 बंगलादेशी युवा टोली
बंगलादेशको टोलीले नेपालविरुद्ध विनादबाबमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक छोटनले बताए । ‘अधिकांश खेलाडी उमेरसमूहबाट आएका छन्, तर उनीहरूले लामो समय सँगै खेलेका छन्,’ छोटनले भने, ‘नेपालसँगको खेलमा दबाब लिनेछैनौँ ।’ बंगलादेशले छनोट प्रतियोगिताका लागि लामो समयदेखि अभ्यास गरेको प्रशिक्षक छोटनले जनाए ।

‘छनोट खेलका लागि हामीले अगाडिदेखि नै तयारी गरेका थियौँ, धेरै अन्तरालपछि बंगलादेश महिला टोलीले अन्तर्राष्ट्रिय खेल खेल्दै छ,’ उनले भने । प्रशिक्षक छोटनले प्रि–पोस्ट म्याचमा नेपाली स्ट्राइकर सावित्राको खुलेर प्रशंसा गरेका छन् । ‘सावित्रा दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमा पर्छिन्, उनी खेलमा नहुँदा अलि दुःख लागेको छ,’ उनले भने, ‘सावित्रा नभए पनि नेपाली टोली बलियो छ ।’ यसैगरी, नेपालका प्रशिक्षक फिलिप्सले घोषित २३ जना खेलाडी तयार भएको जनाए । ‘खेलाडी सबै फिट छन्, उनीहरू सबै पोसेसनबाट खेल्न सक्छन्,’ उनले भने । 

ad
ad