१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:४६:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

माथिल्लो तामाकोसीका ६ वटै टर्वाइन घुमे, पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु

४ युनिटको आम्दानी दैनिक २ करोड ६१ लाख ,२ युनिटको विद्युत परीक्षणमा 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:४६:oo

स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको दोलखाको लामाबगरस्थित बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका ६ वटै युनिटका सबै टर्वाइन सञ्चालनमा आएसँगै पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु भएको छ ।  असार २१ गतेबाट पहिलो युनिटको ७६ मेगावाट विद्युत् उत्पादन सुरु गरेको आयोजनाले क्रमशः ६ वटै युनिट चार्ज गरी पूर्णक्षमता अर्थात् चार सय ५६ मेगावाट विद्युत् उत्पादन सुरु गरेको हो । आयोजनाका उपप्रबन्धक इन्जिनियर विमल गुरुङका अनुसार मंगलबारदेखि ६ वटै युनिटबाट पूर्णक्षमतामा विद्युत् उत्पादन सुरु भएको छ । 

उत्पादित सबै विद्युत् गोंगर–खिम्ती–ढल्केबर प्रसारणलाइनमार्फत नेसनल ग्रिडमा जोडिएको छ । आयोजना उदघाटन भएको एक महिना १० दिनभित्रै सबै युनिटबाट विद्युत् उत्पादन गर्न सफल भएको उपप्रबन्धक गुरुङले बताएका छन् । नयाँ पत्रिकासँग कुरा गर्दै गुरुङले भने, ‘तोकिएको समयमा सबै युनिटबाट विद्युत् उत्पादन गर्न थुप्रै चुनौती थिए, तैपनि सबै चुनौतीलाई सामना गर्दै विद्युत् उत्पादन गर्न सफल भयौँ ।’ गुरुङले हाल खिम्तीदेखि ढल्केबरसम्मको प्रसारणलाइनमा सामान्य कामहरू बाँकी रहे पनि उत्पादित विद्युत् भने नियमित प्रवाह भइरहेको जनाएका छन् । उनका अनुसार ती क्षेत्रमा ट्रान्सफर्मर अपग्रेड गर्नेजस्ता सामान्य कामहरू भइरहेको बताएका छन् । 

चार युनिटबाट दैनिक दुई करोड ६१ लाख आम्दानी 
आयोजनाबाट उत्पादित चार सय ५६ मेगावाट विद्युतमध्ये चार युनिटको तीन सय चार मेगावाट विद्युतबाट आयोजनाले बुधबारदेखि प्रतियुनिट तीन रुपैयाँ ६३ पैसाका दरले दैनिक दुई करोड ६१ लाख रुपैयाँ आम्दानी गर्न थालेको छ । उपप्रबन्धक गुरुङका अनुसार चारवटै युनिटबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले फरक–फरक समयमा १५ दिन परीक्षण गरिसकेको र चौथो युनिटको पनि परीक्षण सम्पन्न भएपछि बुधबारदेखि उल्लेखित आम्दानी सुरु भएको बताएका छन् । उनका अनुसार उत्पादित विद्युत्बापतको आम्दानी हरेक वर्ष तीन प्रतिशतका दरले वृद्धि हुँदै जाने सम्झौता छ । आगामी आर्थिक वर्ष वर्षायाममा सम्झौताअनुसारको मूल्य वृद्धि हुँदा आयोजनाको आम्दानी प्रतियुनिट तीन रुपैयाँ ७४ पैसा हुने आयोजनाका अधिकारीहरूले जनाएका छन् । 

दुई युनिट परीक्षणमा, भदौ तेस्रो साताबाट दैनिक तीन करोड ९७ लाख आम्दानी 
आयोजनाका दुईवटा युनिटबाट उत्पादित एक सय ५२ मेगावाट विद्युत् अहिले परीक्षणमा रहेको छ । उपप्रबन्धक गुरुङका अनुसार भदौ तेस्रो साताबाट सबै युनिटको उत्पादित विद्युतबापतको आम्दानी प्रतिदिन तीन करोड ९७ लाख २६ हजार सात सय २० रुपैयाँ हुनेछ । गुरुङले यो आम्दानी वर्षातको मौसम अर्थात् वैशाखदेखि मंसिरसम्म लागू हुने र सुक्खा मौसममा भने दैनिक पाँचदेखि ६ घन्टा मात्र विद्युत् उत्पादन गरिने भएकाले आम्दानी पनि घट्न सक्ने बताएका छन् । उनका अनुसार सुक्खायाममा प्रतियुनिट ६ रुपैयाँ ९६ पैसाका दरले आम्दानी हुनेछ । उक्त मूल्य अर्को वर्ष तीन प्रतिशतले वृद्धि हुँदा सात रुपैयाँ १७ पैसा पुग्नेछ ।  

११ वर्षपछि उत्पादन 
आयोजनाले उत्पादन गरेको विद्युत् गोंगरस्थित विद्युतगृहबाट २२० केभी डबल सर्किट प्रसारणलाइनबाट न्यु खिम्ती सबस्टेसन पुर्‍याइएको छ । त्यहाँबाट खिम्ती–ढल्केबर प्रसारणलाइनबाट ढल्केबरको सबस्टेसनमा जोडिएको छ । ०६७ भदौ १७ गतेबाट मुख्य सिभिल संरचनाको निर्माण सुरु गरिएको आयोजनामा ११ वर्षपछि विद्युत् उत्पादन भएको हो । 

स्वदेशी लगानीमा निर्माण सुरु भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुवाती लागत ३५ अर्ब २९ करोड प्रक्षेपण गर्दै निर्माण सुरु भएको थियो । ०६७ मा ३५ अर्ब २९ करोडको आयोजना ०७५ मा पुग्दा ब्याजसहित ४९ अर्ब २९ करोड पुगेको प्रवक्ता न्यौपाने बताउँछन् । त्यसपछि ५२ अर्ब प्रक्षेपण गरिएको आयोजनामा ३२ अर्ब ब्याज जोडिँदा अहिले माथिल्लो तामाकोसीको कुल लागत ८४ अर्ब पुगेको जनाइएको छ । उपप्रबन्धक गुरुङले ठेकेदार कम्पनीले समयमा काम नगर्नु, भूकम्प, नाकाबन्दी र विगत वर्षदेखि सुरु भएको कोभिड महामारीका कारण पनि केही लागत वृद्धि भएको बताएका छन् । 
 

ad
ad