१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
यमबहादुर दुरा
२o८१ बैशाख २३ आइतबार o९:३४:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

भारतको व्यवहार छिमेकसम्मत भएन

Read Time : > 3 मिनेट
यमबहादुर दुरा
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:३४:oo

छिमेकी मुलुक भारतले नेपालप्रति देखाउँदै आएको व्यवहार मित्रवत् नभएको अनेकन् घटनाक्रमले पुष्टि गर्दै आएका छन् । १५ साउनमा महाकाली नदी तर्दातर्दै भारतीय सुरक्षाकर्मीले तुइन चुँडाइदिँदा नेपाली नागरिक जयसिंह धामी महाकालीको उर्लंदो विशाल बर्खे प्रवाहमा हराएको घटना यसको पछिल्लो दृष्टान्त हो । यो अमानवीय घटनाबाट सीमावर्ती क्षेत्रमा भारतीयहरूबाट नेपाली नागरिकले भोग्नुपरेका सास्तीको पुरानो घाउ पुनः बल्झिएको छ ।

छिमेकी मुलुक भारतबाट सीमावर्ती क्षेत्रका नागरिकले भोग्नुपरेका हैरानीको पछिल्लो शृंखलाबाट धेरै स्वाभिमानी नेपालीको हृदय नराम्रोसँग चिमोटिएको छ । महाकाली घटनाले विगतदेखि नै सीमावर्ती क्षेत्रका नेपाली नागरिकले भोग्नुपरेका अनेकौँ हैरानीसँग सम्बन्धित तितो यथार्थको पुनरावृत्ति गराएको छ । भारतीय सुरक्षा दस्ताले नेपाली सरहदभित्रै छिरेर नेपालीलाई कुटपिट गर्ने, धम्क्याउने, पक्राउ गर्ने, नेपालले निर्माण गरेका सडकलगायत भौतिक संरचना भत्काइदिने, साँधकिल्लामा जबरजस्ती गर्ने गरेका घटना कुनै नयाँ विषय होइन । यस्ता अनन्त शृंखला चल्दै आएका छन् ।

अर्कोतिर, छिमेकी भारतले अन्तर्राष्ट्रिय कानुनसमेत उल्लंघन हुने गरी सीमावर्ती क्षेत्रमा बाँध तथा सडक बनाउँदा नेपाली भूभाग डुबानमा परेको वास्तविकता घामजत्तिकै छर्लंग छ । छिमेकीको सुख–दुःखप्रति कुनै वास्तै नगरी आफ्नो स्वार्थलाई मात्र केन्द्रमा राखेर एकतर्फी रचिएका यस्ता अमानवीय व्यवहारबाट छिमेकीसँगको सम्बन्ध चाहेर पनि सुमधुर हुन सक्दैन । नेपालले वर्षौंदेखि छिमेकीबाट हेपिएको अनुभव गरिरहेको छ ।

नेपालीजनले खेप्नुपरेको हैरानी र सास्तीको उपचार खोज्न ढिलो भइसक्यो । सबैलाई थाहा छ, छिमेकीसँग वैरभाव राख्नुहुँदैन । तर, आफ्ना छिमेकीको व्यवहार छिमेकसम्मत, न्यायसम्मत र व्यवहारसम्मत छैन भने उसको त्यस्तो व्यवहारलाई औँल्याउने र त्यसलाई सच्याउने उपाय खोज्नु पनि एक असल छिमेकीको दायित्व नै हुन आउँछ । 

देशभित्रकै एकथरी तप्काले छिमेकी मुलुक भारतविरुद्ध चुइँक्कसम्म पनि बोल्नैहुन्न, बोलेमा मित्रता बिथोलिन्छ भन्ने मान्यता राख्छन् । नेपाली नागरिकले उठाएका आफ्ना जायज सरोकारका विषयमा आवाज उठाउँदा पनि त्यो तप्काले अपव्याख्या गरेको पाइन्छ । उनीहरूका दृष्टिमा भारतविरुद्ध बोल्नु ‘अन्धराष्ट्रवाद’ हो ।
कसैले साँघुरो राजनीतिक अभीष्ट पूरा गर्नका लागि छिमेकी मुलुकको विरोधका लागि विरोध गर्छ भने त्यो बेग्लै विश्लेषणको विषय हो । 

छिमेकीसँग मित्रवत् व्यवहार पनि गर्ने हो र छिमेकीबाट आफूमाथि अन्याय भइरहेको छ भने त्यसविरुद्ध आवाज उठाउने पनि हो । यो नै असल छिमेकीसँग प्रदर्शन गर्नुपर्ने सन्तुलित व्यवहार हो ।

आफूमाथि चरम अन्याय भइरहँदा पनि छिमेकीसँग सम्बन्ध चिसिन्छ भन्ने नाममा मुख नखोली कसरी बस्न सकिन्छ र ? छिमेकीसँग मित्रवत् व्यवहार पनि गर्ने हो र छिमेकीबाट आफूमाथि अन्याय भइरहेको छ भने त्यसविरुद्ध आवाज उठाउने पनि हो । यो नै असल छिमेकीसँग प्रदर्शन गर्नुपर्ने सन्तुलित व्यवहार हो । आफूमाथि भएको अन्यायबारे आवाजै नउठाए आफूले आफैँमाथि अन्याय गरेको ठहरिन्छ । विवेकसम्मत व्यवहार जहाँ पनि जहिले पनि अपेक्षित नै रहन्छ ।

छिमेकीबाट भएको दुव्र्यवहारको भद्र शैलीमा असहमति जनाउँदै उससँग सम्बन्ध सुमधुर बनाउने रचनात्मक उपायहरू खोज्नुपर्ने वेला आएको छ । नेपाल र भारत युगाैँ पुरानो आर्थिक तथा सांस्कृतिक सम्बन्धमा बाँधिएका खुला सिमानायुक्त छिमेकी भएकाले एक देशका नागरिक अर्को देशमा आवतजावत गर्न सक्छन् । दुई छिमेकीबीच सन् १९५० मा सम्पन्न ‘शान्ति तथा मैत्री सन्धि’ले पनि यही तथ्यलाई अंगीकार गरेको छ । 

आर्थिक तथा सांस्कृतिक सम्बन्धका कारण एक देशका नागरिक अर्को देशमा आवतजावत भइरहन्छ । उनीहरूबीच नातासम्बन्ध पनि छ । यस प्रकारको अन्तरदेशीय आवतजावतबाट उत्पन्न हुन सक्ने समस्या पहिचान गरी समाधानका उपाय खोजिनुपर्छ । दुई देशबीच थाँती सीमा विवादका विषयमा पनि समाधान खोजिनुपर्छ । यसका लागि दुवै छिमेकी समस्या समाधानका विषयमा चिन्तनशील र प्रयत्नशील हुनुपर्ने वेला आएको छ ।

दुई देशबीच विद्यमान समस्या निराकरण गर्न भारत इच्छुक देखिएको छैन । नेपालमा केपी शर्मा ओली र भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि दुई देशबीच भएका सन्धिलगायत द्विपक्षीय सम्बन्धका विविध आयामको बृहत् पुनरावलोकन गरी सुझाब दिन गठित नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले तयार पारेको प्रतिवेदन बुझ्न भारतले निरन्तर आलटाल गर्दै आएको तथ्य लुकेको छैन । 

भारतले कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको नेपाली भूभाग समेटेर ०७६ साल कात्तिक १६ गते आफ्नो नयाँ नक्सा जारी ग¥यो । त्यसप्रति आपत्ति जनाउँदै नेपालले कूटनीतिक नोट पठाउँदा उसले चासो देखाएन । सीमा समस्या समाधानका लागि नेपालले बारम्बार गरेको आग्रहलाई भारतले बरोबर टार्दै आएको छ । सिमानासम्बन्धी विषयलाई हेर्ने गरी दुई देशबीच बनेको समूह भारतकै कारण तीन वर्षदेखि निष्क्रिय रहेको समाचार आएको छ । भारतले दुई छिमेकीबीच गुजुल्टिएका तमाम समस्यालाई बरोबर नजरअन्दाज गर्दै आएको छ । 

वार्ता नै समस्या समाधानको उपाय हो । नेपालले कूटनीतिक तथा राजनीतिक माध्यमबाट भारतलाई वार्ताको टेबलमा ल्याउनुपर्छ । यसका लागि नेपालको तर्फबाट अहोरात्र प्रयास हुनुपर्छ । यसका लागि सरकार मात्र होइन, देशका राजनीतिक शक्तिहरू पनि प्रयत्नशील हुनुपर्छ । देशको राजनीतिक नेतृत्व बदलिए पनि राष्ट्र र राष्ट्रियताका सन्दर्भमा सबै सरकारको एउटै नीति हुनुपर्छ । 

देश र नागरिकका सन्दर्भमा सबै राजनीतिक शक्ति एउटै सिद्धान्तबाट निर्देशित हुनुपर्छ । यही आधारमा छिमेकीसँग वार्ता गर्नका लागि हामीभित्रैबाट साझा एजेन्डा तयार हुनुपर्छ । दुई छिमेकी मुलुकबीच वार्ता नभई समस्या समाधान नहुने भएकाले वार्ताप्रति अनिच्छुक छिमेकीलाई वार्तामा त्याउने वातावरण तयार पार्न आवश्यक छ । यसप्रति देशको राजनीतिक नेतृत्वमा रणनीतिक कौशल विकास हुन आवश्यक छ । 

राष्ट्र र राष्ट्रियतासँग जोडिएको साझा अजेन्डामा देशका राजनीतिक शक्तिहरू आपसी वादविवादलाई एकैछिन परै राखेर एउटै टुंगोमा पुगेमा हाम्रो आन्तरिक शक्ति मजबुत हुन्छ । यसका लागि देशभित्रका राजनीतिक शक्तिहरूले साँघुरो स्वार्थलाई तिलाञ्जली दिन सक्नुपर्छ । नेपालले छिमेकी मुलुक भारतसँग वार्तालाप गरेर समस्या समाधान गर्नका लागि कूटनीतिक र राजनीतिक सामथ्र्य विकास गर्न सकेको छैन भनेर देशका बौद्धिक जमातबाट टीका–टिप्पणी भएको सुनिन्छ । यस प्रकारको टीका–टिप्पणीलाई गलत साबित गर्न राजनीतिक नेतृत्व प्रयत्नशील हुनुपर्छ । 

देशभित्रका राजनीतिक शक्तिबीच उच्च समझदारी र पर्याप्त आन्तरिक गृहकार्य गर्ने हो भने नेपालले भारतसँग वार्तालाप गरेर समस्या समाधान गर्ने कूटनीतिक र राजनीतिक सामथ्र्य विकास गर्न नसक्ने कुरै छैन । यसका लागि राजनीतिक नेतृत्वमा उच्चतम् इच्छाशक्ति र प्रतिबद्धता आवश्यक छ । त्यसो त, छिमेकी मुलुक भारतको उदार दृष्टिकोण र विशाल हृदय पनि उत्तिकै अपेक्षित छ ।  क्षणिक आवेग र चर्का नाराले मात्र काम बन्ने देखिन्न । नेपाल र भारतको धरातलीय यथार्थ र भूराजनीतिक वास्तविकता धेरै संवेदनशील छ । नेपाल जिम्मेवार, संयम र संवेदनशील भएर अघि बढ्न आवश्यक छ । 

ad
ad