१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २६ बिहीबार ०७:१७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसले अविश्वास प्रस्ताव नल्याउँदा ओलीलाई सहज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २६ बिहीबार ०७:१७:००

ओली सरकार न पहिलेजस्तो बलियो रह्यो, न विपक्षीहरूले सोचेजस्तो कमजोर भएको छ । कांग्रेस र माओवादी नयाँ सरकार बनाउन तयार छन्, तर बहुमतका लागि अत्यावश्यक जसपाबाट साथ पाउने निश्चित नभएकाले वर्तमान सरकार ढाल्न अघि सरेका छैनन् ।

प्रमुख प्रतिपक्षी कांग्रेसले वर्तमान सरकारको विकल्प खोज्ने र आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय त गरेको छ । तर, अविश्वास प्रस्ताव किन ल्याएको छैन भनेर कांग्रेसमाथि प्रश्न उठेको छ । कांग्रेसले अविश्वास प्रस्ताव ल्याएमा माओवादीले समर्थन गर्ने निश्चित छ । तर, प्रतिनिधिसभामा कांग्रेससँग ६३ र माओवादीसँग (लेखराज भट्टसहित चारजनाबाहेक) ४९ सांसद छन् ।

यसरी यी दुई दल मिलेर संसद्मा एक सय १२ मात्र पुर्‍याउन सक्छन्, जब कि सरकार ढाल्न एक सय ३३ सांसद आवश्यक पर्छन् । ३५ सिट भएको जसपाले समर्थन नगरेमा अविश्वासको प्रस्ताव फेल हुने मात्र होइन, ओली सरकार झन् बलियो हुनेछ । किनकि एकपटक अविश्वास प्रस्ताव असफल भएमा एक वर्षसम्म अर्को प्रस्ताव ल्याउन नपाइने संवैधानिक व्यवस्था छ । त्यसैले जसपाको समर्थन नपाएसम्म अविश्वास प्रस्ताव ल्याउनु आत्मघात हुन्छ भन्ने कांग्रेसको विश्लेषण छ । त्यसैले कांग्रेस पहिले जसपाको समर्थन जुटाउने कोसिसमा छ । तर, जसपाबाट सकारात्मक संकेतसमेत पाएको छैन । 

माओवादीले समर्थन फिर्ता लिएमा केपी ओली नेतृत्वको सरकार तत्कालै अल्पमतमा पर्नेछ । त्यस्तो अवस्थामा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ । यस्तोमा एक सय २० सिट भएका ओलीले ३५ सिट भएको जसपाका पूरै वा आधा मात्रै पनि सांसदको समर्थन जुटाउन सकेमा सरकार सुरक्षित हुनेछ ।

यसरी प्रधानमन्त्रीले आफूमाथि विश्वासको मत छ भनेर संसद्बाट प्रमाणित गराएमा प्रतिपक्षीहरूका सबै सम्भावना समाप्त हुनेछन् । एकपटक विश्वासको मत प्राप्त गरेपछि लगत्तै अविश्वासको प्रस्ताव ल्याउने राजनीतिक तथा नैतिक सम्भावना पनि समाप्त हुनेछ । ओली झन् बलिया हुनेछन् । त्यसैले जसपाले ओलीको विपक्षमा मत हाल्छ भन्ने सन्देशको पर्खाइमा छ माओवादी । तर, जसपाले त्यस्तो सन्देश दिने संकेत पनि देखिएको छैन । 

जसपासँग प्रधानमन्त्री ओलीका तीन अपेक्षा 
कांग्रेसले अविश्वास प्रस्ताव दर्ता गरेमा वा माओवादीले समर्थन फिर्ता लिएमा ओली सरकार बचाउन वा ढाल्न जसपा निर्णायक हुन्छ । त्यसैले ओली प्रत्यक्ष र परोक्ष रूपमा जसपासँग संवादमा छन् । जसपा नेताहरूका अनुसार ओलीले तीन विकल्पमध्ये एक रोज्न आग्रह  गरेका छन् ।

१. सरकारमा सहभागी हुन : ओलीले जसपालाई तत्कालै सरकारमा सहभागी हुन आग्रह गर्दै त्यसका लागि सम्मानजनक स्थान बनाउने वचन दिएका छन् । तर, ओलीका प्रखर विरोधी राजनीति गर्दै आएको जसपाले तत्कालै त्यस्तो निर्णय गर्न सकेको छैन । त्यसमाथि डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले ओलीसँग सहकार्य गर्न नहुने अडान राख्दै आएका छन् । त्यसैले महन्थ ठाकुर र राजेन्द्र महतोले ओली सरकारमा सहभागी हुने निर्णय गर्न सकेका छैनन् । 

२. कांग्रेस/माओवादीसँग सहकार्य नगर्न : कुनै पनि कारणले वर्तमान सरकारमा सहभागी हुन नसकेमा पनि कांग्रेस र माओवादीसँग सहकार्य नगर्न जसपालाई ओलीको आग्रह छ । जसपाको समर्थन नपाएसम्म कांग्रेसले अविश्वास प्रस्ताव दर्ता गर्दैन, माओवादीले समर्थन फिर्ता लिँदैन, वर्तमान सरकार चलिरहन्छ । यसरी जसपाले सरकारलाई ‘समर्थन’ नगरी पनि ‘समर्थन’ गर्न सक्छ । 

३. यो सरकार ढलेमा पनि तटस्थ बस्न : माओवादीले समर्थन फिर्ता लिएपछि ओलीले विश्वासको मत दर्ता गर्नुपर्नेछ । त्यस्तो अवस्थामा जसपाको साथ नपाएमा ओली सरकार ढल्न सक्छ । तर, नयाँ सरकार बनाउन कांग्रेस र माओवादीको संख्या अपूरो हुन्छ । जसपाले हामी कसैलाई पनि समर्थन गर्दनौँ भनेको अवस्थामा वैकल्पिक सरकार नबन्ने अवस्था सिर्जना हुन्छ । नयाँ सरकार बन्न नसकेको अवस्थामा देश चुनावमा जान सक्ने संवैधानिक व्यवस्था छ ।