१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
कैलालीको त्रिनगर नाकामा स्वदेश फर्किनेहरूको लाइन । नाकामा अधिकांशको परीक्षण नै हुँदैन, बुधबार संक्रमण देखिएका पाँचजना भागेका छन् । तस्बिर : तेजराज भट्ट/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २१ शनिबार ०६:३५:००
Read Time : > 8 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भारतमा कोरोना भयावह : नाकामा १०% को मात्रै परीक्षण

Read Time : > 8 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २१ शनिबार ०६:३५:००

छिमेकी भारतमा संक्रमण भयावह बन्न थालेपछि स्वदेश फर्किने नेपालीको नाकामा भिड बढ्दो छ, तर स्वास्थ्य परीक्षण अत्यन्तै न्यून छ । कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बाँकेको जमुनाह र रुपन्देहीको बेलहिया नाकाबाट मात्र १५ दिनयता १७ हजार ४५ नेपाली स्वदेश फर्किएका छन् । उनीहरूमध्ये १६९१ को कोरोना परीक्षण गरिँदा ६८ जनामा संक्रमण देखिएको छ ।  

...      ...       ...

छिमेकी भारतमा दोस्रो लहरको कोरोना संक्रमण भयावह बन्दै गएपछि नाकामा स्वदेश फर्किने नेपालीको भिड बढ्दै छ । तर, उनीहरू सबैको स्वास्थ्य परीक्षण हुन सकेको छैन । स्वदेश फर्किने १० प्रतिशतको मात्रै परीक्षण गरिएको छ । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो दुई सातामा कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बाँकेको जमुनाह र रुपन्देहीको बेलहिया नाकाबाट मात्रै १७ हजार ४५ जना स्वदेश फर्किएका छन् । उनीहरूमध्ये एक हजार ६ सय ९१ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । जसमा ६८ जनामा संक्रमण देखिएको छ । शुक्रबार मात्रै १६ जनामा संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयले गत ६ चैतदेखि तराईका १४ नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट फर्किनेको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको थियो । तर, अहिले पाँच नाकामा मात्रै परीक्षणको काम भइरहेको छ । बाँकी नाकामा एन्टिजेन परीक्षण नै गरिएको छैन । त्यसकारण भारतबाट फर्किएका संक्रमितको संख्या अझ धेरै हुन सक्ने अनुमान मन्त्रालयको छ । कोरोनाको लक्षण देखिएकाको मात्रै एन्टिजेन परीक्षण भइरहेको छ । 

मन्त्रालयका अनुसार सुदूरपश्चिमका नाकाबाट फर्किएकामा सबैभन्दा धेरै संक्रमण देखिएको छ । त्रिनगर नाकाबाट भित्रिएका ५८ जना र गड्डाचौकी नाकाबाट भित्रिएका पाँचजनामा संक्रमण देखिएको छ । त्यस्तै, जमुनाह नाकामा चार र बेलहिया नाकाबाट भित्रिएका एकजनामा संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार भेटिएका १६ जना पनि त्रिनगर नाकाबाट भित्रिएका हुन् । 

चिकित्सकहरूले कोरोना संक्रमणको दोस्रो लहर पनि सुदूरपश्चिमबाटै सुरु हुने संकेत देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । अघिल्लोपटक पनि सुदूरपश्चिममै बढी जोखिम देखिएको थियो । ‘भारतमा अहिले कोरोना संक्रमण भयावह ढंगले बढिरहेकाले नाकाहरू व्यवस्थित गर्न जरुरी छ । भारतबाट आउने सबैको स्वास्थ्य परीक्षण हुनुपर्छ, तर अहिले त्यो गर्न सकिएको छैन,’ सुदूरपश्चिमका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘हामीले सुरुमा नाकामा एन्टिजेन परीक्षण गर्दा पजिटिभ देखिएका पनि सार्वजनिक यातायात चढेर घर गए । यसले स्वाभाविक रूपमा जोखिम बढाएको छ । त्यसैले अहिले पजिटिभ देखिएकालाई धनगढी र महेन्द्रगरका आइसोलेनमा राख्ने गरिएको छ ।’

सुदूरपश्चिमका नाकाबाट फर्किने र संक्रमित हुनेहरू धेरैजसो कैलालीको गोदावरी, लम्कीचुहा र धनगढी, कञ्चनपुरको गुलरिया, पुनर्वास र बेलौरी, अछामको मंगलसेन र साँफेबगर, डडेल्धुराको भागेश्वरी, डोटीको दिपालय, सिलगढी, पञ्चदेवललगायतका छन् । उनीहरू भारतको सुरत, मुम्बई, पन्जाब, पुणे, उत्तरप्रदेश, बाटिकालगायतका ठाउँबाट फर्किएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । 

भारतमा दोस्रो चरणमा नयाँ भेरियन्ट देखिएकाले नेपालमा पनि त्यसको उच्च जोखिम रहेको भन्दै चिकित्सहरूले सचेत हुन आग्रह गरेका छन् । यद्यपि, भारतले युके भेरियन्ट देखिएको विषयमा औपचारिक रूपमा केही बोलेको छैन । भारतबाट स्वदेश फर्किएका संक्रमितमा नयाँ प्रजातिको भाइरस भए–नभएको पत्ता लगाउन एक साताअघि १५ वटा नमुना विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पठाइएको थियो । ‘तर, उनीहरूको रिपोर्ट अझै आइसकेको छैन,’ केन्द्रीय प्रयोगशालाकी निर्देशक डा. रुणा झाले भनिन् । 

‘कोरोना भाइरस देखिएका देशहरूमा पहिलो लहर आएको चारदेखि ६ महिनामा पुनः दोस्रो लहर सुरु भएको छ । भारत, फ्रान्स, ब्राजिलमा दोस्रो लहर सुरु भएको छ । नेपालमा पनि पहिलो लहर आएको ६ महिना पुग्न लागेको छ । यो समयमा पुनः संक्रमण बढ्न थाल्नुले राम्रो संकेत गरेको छैन । हामी विगतको भन्दा ज्यादै खराब अवस्थामा जाँदै छौँ,’ जीवाणुविज्ञ डा. सन्तोष दुलालले भने ।

पछिल्लो १५ दिनमा १४ नाका हुँदै भारतबाट १९ हजार पाँच सय १६ जना भारतबाट नेपाल फर्किएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । तर, यो १० हेल्थ डेस्कमार्फत संकलित तथ्यांक मात्रै हो । प्रहरीले राखेको तथ्यांक भने झण्डै दोब्बर छ । झापाको काँकडभिट्टा, रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी र काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिनेको मन्त्रालयले रेकर्ड नै राखेको छैन । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा बढी गुड्डाचौकी नाकाबाट ६ हजार ३९ जना प्रवेश गरेका छन् । उनीहरूमध्ये तीन सय ९० जनाको मात्रै एन्टिजेन परीक्षण गरिएको छ । त्यस्तै, जमुनाह नाकाबाट पाँच हजार सात सय २९ जना भित्रिएका छन् । उनीहरूमध्ये ६० जनाको परीक्षण गरिएको छ । 

त्रिनगर नाकाबाट दुई हजार पाँच सय सात र बेलहिया नाकाबाट दुई हजार सात सय ७० जना प्रवेश गरेका छन् । त्रिनगरबाट प्रवेश गरेका एक हजार एक सय ८४ जनाको परीक्षण गर्दा ५८ जनामा संक्रमण देखिएको छ । बेलहियामा भने ३७ जनाको एन्टिजेन परीक्षण गरिएको छ । 

त्यस्तै, कपिलवस्तुको कृष्णनगर नाकाबाट नौ सय ६५, सिराहाको मदार नाकाबाट सात सय ५९, इलामको पशुपतिनगरबाट दुई सय ४७, मोरङको रानीबाट एक सय ७५ र रौतहटको गौरीगन्ज नाकाबाट ७६ जना भित्रिएका छन् । त्यस्तै, सुनसरीको इनरुवास्थित हेल्थ डेस्कमा पाँच सय १९ जना भित्रिएको तथ्यांक छ । तर, यी नाकाबाट प्रवेश गर्नेको कोरोना परीक्षण गरिएको छैन । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कोरोना परीक्षण गर्ने जनशक्ति र एन्टिजेन किटको व्यवस्थापन नहुँदा धेरै नाकामा अहिले परीक्षण हुन नसकिएको हो । ‘परीक्षण गर्न सुरक्षाका कवजहरूको प्रयोग गर्नुपर्छ, जुन सबै ठाउँमा अझै उपलब्ध गराउन सकिएको छैन । धेरै गाह्रो गरेर टेन्टमुनि हेल्थ डेस्क सञ्चालन गरिएका छन् । दुःख गरेर भए पनि उनीहरूले काम गरिरहेका छन्,’ महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले भने, ‘अहिले तत्कालको आवश्यकता भनेको सुदूरपश्चिम, नेपालगन्ज र बेलहियामा हो, ती ठाउँमा परीक्षण भइरहेको छ ।’ आवश्यकताअनुसार चाँडै अन्य नाकाका हेल्थ डेस्कमा पनि परीक्षण सुरु गरिने उनले बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले करिब २० हजार एन्टिजेन किट मात्रै मौज्दात छ । किट अभाव हुन नदिन युनिसेफको समन्वयमा खरिद गर्न लागिएको छ । ‘थप किट खरिदका लागि प्रक्रिया लामो हुने भएकाले युनिसेफमार्फत समन्वय गरेर ल्याउन लागेका छौँ, अभाव हुन दिँदैनौँ,’ स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरीले भने । उनका अनुसार युनिसेफमार्फत करिब दुई लाख एन्टिजेन किट आउनेछ । युनिसेफले दुई हप्तामा किट दिने वचन दिएको छ । 

पछिल्लो समय देशभर कोरोना संक्रमण बढिरहेको छ । शुक्रबार मात्रै तीन हजार पाँच सय ६५ नमुना परीक्षण गर्दा एक सय ७९ जनामा संक्रमण देखिएको छ । उनीहरूमध्ये १६ जना भारतबाट फर्किएका रहेको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले बताए । 

देशभर अहिलेसम्म संक्रमितको संख्या दुई लाख ७७ हजार ६ सय ४० जना पुगेको छ । त्यसमध्ये दुई लाख ७२ हजार ९ सय ६२ जना निको भएका छन् । संक्रमणबाट तीन हजार ३१ को मृत्यु भएको भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । अहिले देशभर ६१ जना क्वारेन्टिनमा छन् भने संक्रमण पुष्टि भएका एक हजार ६ सय ४७ जना आइसोलेसनमा छन् । 

राम्रो संकेत देखिएको छैन, अघिल्लो पटकभन्दा  डरलाग्दो अवस्था आउन सक्छ डा. सन्तोष दुलाल अनुसन्धान वैज्ञानिक तथा जीवाणुविज्ञ

कोरोना भाइरस देखिएका देशहरूमा पहिलो लहर आएको चारदेखि ६ महिनामा पुनः दोस्रो लहर सुरु भएको छ । भारत, फ्रान्स, ब्राजिलमा दोस्रो लहर सुरु भएको छ । नेपालमा पनि पहिलो लहर आएको ६ महिना पुग्न लागेको छ । यो समयमा पुनः संक्रमण बढ्न थाल्नुले राम्रो संकेत गरेको छैन । हामी विगतको भन्दा ज्यादै खराब अवस्थामा जाँदै छौँ । 

भारत वा तेस्रो मुलुकबाट एक हप्ताअघि नेपाल आएका मान्छेहरू कहाँ पुगेका छन् भन्ने विषयमा राज्य बेखबर छ । स्वास्थ्य मन्त्रालय आफैँले शैक्षिक संस्था कोरोनाको हट स्पट बनेको बताएको छ । तर, कुन–कुन शैक्षिक संस्था हो पहिचान गरेको छैन । कोरोना न्यूनीकरणमा राज्य जुन भूमिकामा हुनुपर्ने हो, त्यो विगतमा जस्तो पनि देखिएको छैन । 

हिजो दुई प्रतिशतमा संक्रमण दर झरेको थियो, अहिले बढेर पाँच प्रतिशतभन्दा माथि पुगेको छ । यसले बाहिरबाट आउनेले समुदायस्तरसम्म संक्रमण फैलाएको देखिन्छ । यही अवस्थाले अबको दुई हप्तापछि संक्रमण बढेर १० प्रतिशत हाराहारीमा पुग्छ । स्वास्थ्य मापदण्डको पालनासँगै केसको खोजपर्ताललाई तीव्रता दिइएन भने एक महिनामा डिजास्टर हुनेछ । 

पजिटिभ देखिएका पनि सार्वजनिक यातायात चढेर घर गएका छन् : डा. गुणराज अवस्थी प्रदेश स्वास्थ्य निर्देशक, सुदूरपश्चिम 

भारतमा अहिले कोरोना संक्रमण भयावह ढंगले बढिरहेकाले नाकाहरू व्यवस्थित गर्न जरुरी छ । भारतबाट आउने सबैको स्वास्थ्य परीक्षण हुनुपर्छ । तर, अहिले त्यो सकिएको छैन । हामीले सुरुमा नाकामा एन्टिजेन परीक्षण गर्दा पजिटिभ देखिएकाहरू पनि सार्वजनिक यातायात चढेर घर गए ।

यसले स्वाभाविक रूपमा जोखिम बढाएको छ । त्यसैले अहिले पजिटिभ देखिएकालाई धनगढी र महेन्द्रनगरका आइसोलेसनमा राख्ने गरिएको छ । नाकामा सक्दो परीक्षण गरिरहेका छौँ ।

बिहान सीमापारि गएर बेलुकी फर्कनेको भन्दा लामो समय बसेर आएकाको परीक्षण गरिरहेका छौँ । कतिपय छुटेका पनि होलान् । नाकाबाट भित्रिनेले पनि कहाँबाट आएको भनेर सही भनिदिनुपर्छ, सबैले त्यो बताउने गरेका छैनन् । नाकामा सामाजिक दूरी कायम गर्न भने निकै गाह्रो छ । 

त्रिनगरमा अधिकांशको परीक्षण नै हुँदैन, संक्रमण देखिएका पाँचजना भागे
भारतबाट त्रिनगर नाका हुँदै स्वदेश फर्किएका अधिकांशलाई कोरोना परीक्षण नगरीकनै घर पठाउने गरिएको छ । पजिटिभ देखिएका पनि सार्वजनिक यातायात चढेर घर जाने गरेका छन् । 

संक्रमण देखिएकाहरू भागेर पनि जाने गरेका छन् । बिहीबार पजिटिभ देखिएका १६ मध्ये पाँचजना भागेका छन् । ‘एम्बुलेन्समा राखेर आइसोलेसन पठाउने भनी रोकेर राखेका थियौँ । तर, पजिटिभ देखिएकामध्ये पाँचजना भिडभाडमा कतिवेला कहाँ भागे पत्तो नै पाएनौँ,’ सहजकर्ताका रूपमा नाकामा खटिएका रमित विकले भने, ‘अन्य ११ जनालाई भने आइसोलेसनमा पठाएका छौँ ।’ 

प्रहरीको तथ्यांकअनुसार ९ चैतयता मात्रै त्रिनगर नाकाबाट चार हजार पाँच सय ६९ जना भित्रिएका छन् । तीमध्ये एक हजार दुई सय ५० जनाको मात्रै एन्टिजेन परीक्षण गरिएको छ । नाकाको हेल्थ डेस्कमा जनशक्ति अभाव छ । तीन दिनअघिसम्म हेल्थ डेस्कमा चार स्वास्थ्यकर्मी मात्रै थिए, अहिले चारजना थपेर आठजना खटिएका छन् । सुरक्षाकर्मीले नाकामा हुने भिड व्यवस्थापनमा सहयोग नगरेको स्वास्थ्यकर्मीको गुनासो छ ।

काँकडभिट्टाबाट दश दिनमा ५,९६१ भित्रिए, ५० जनाको मात्रै एन्टिजेन परीक्षण
भारतमा संक्रमण बढ्दै गएपछि पूर्वीनाकामा केही सतर्कता अपनाइएको छ, तर पर्याप्त छैन । जिल्ला प्रशासन कार्यालय झापाले नाकामा होल्डिङ सेन्टर बनाएको छ, जहाँ नेपाल भित्रने सबैको अभिलेख राखिन्छ ।

नाकामा मास्क लगाउन अनिवार्य छ, तर नेपाल भित्रिनेको लाइनमा भौतिक दूरी कायम गरिएको छैन । मेचीनगर नगरपालिकाको संयोजनमा नाकामा हेल्थ डेस्क राखेर स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । नेपाल भित्रिने सबैको ज्वरो परीक्षण भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । जसका लागि नाकामा ६ जना स्वास्थ्यकर्मी खटिएका छन् । ‘ज्वरो नाप्दा शंका लागेमा एन्टिजेन परीक्षण गर्छौँ,’ प्रजिअ तिमिल्सिनाले भने, ‘एन्टिजेनमा पजिटिभ आए मेची अस्पतालमा राखेर उपचार गर्छौँ ।’ 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको तथ्यांकअनुसार काँकडभिट्टा नाका भएर पछिल्लो दश दिनमा पाँच हजार नौ सय ६१ जना नेपाल भित्रिएका छन् । उनीहरूमध्ये ५० जनाको मात्र एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य कार्यालय झापाका फोकलपर्सन जीवन चम्लागाईंले बताए । परीक्षण गरिएकामध्ये कसैलाई पनि कोरोना नदेखिएको उनले बताए । नेपाल भित्रने भारतीय नागरिकलाई भने कोरोना परीक्षणको पिसिआर रिपोर्ट अनिवार्य गरिएको प्रजिअ तिमिल्सिनाले बताए ।
जिल्लामा हालसम्म कुनै पनि स्थानीय तहले क्वारेन्टिन बनाएका छैनन् । विगतमा विद्यालयमा क्वारेन्टिन सञ्चालनमा थिए । अहिले विद्यालय सञ्चालनमा आएपछि क्वारेन्टिन बनाउन स्थानीय तहलाई समस्या छ । 

नेपालगन्ज नाकाबाट नौ हजार भित्रिँदा ६४ जनाको स्वाब परीक्षण
भारतमा कोरोना संक्रमण दर अत्यधिक बढेपछि लकडाउन हुने डरले स्वदेश फर्किने नेपालीको संख्या बढेको छ । बाँकेको जमुनाह नाका भएर दैनिक हजारको हाराहारीमा नेपाली फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सइ विष्णु गिरीले बताए । ‘लकडाउन हुने हल्ला चलेपछि घर फर्किने क्रम बढेको छ,’ उनले भने । 

भारतबाट आएका नेपालीको स्वास्थ्य परीक्षणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ११ चैतदेखि नेपालगन्ज नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । जमुनाहस्थित हनुमानगढी मन्दिर परिसरमा त्रिपाल राखेर महाशाखाले हेल्थ डेस्क सञ्चालनमा ल्याएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । 

हेल्थ डेस्कमा महाशाखाले मेकिडल अधिकृतसहित ६ जना कर्मचारीको दरबन्दी कायम गरे पनि एचए, सिएमए, अनमि र ल्याब टेक्निसियन गरी चारजना मात्रै खटिएका छन् । ‘एकजना ल्याब टेक्निसियनले दिनभर स्वाब परीक्षण गर्न सक्ने कुरा हुँदैन,’ चन्दले भने, ‘प्राविधिक नहुँदा दैनिक सात घन्टा मात्र स्वाब परीक्षण गर्न सकिएको छ ।’ 

नाका बिहान ५ बजे खुल्छ । नाका खुल्नुभन्दा पहिले नै दशगजामा सर्वसाधारणको लामो लाइन लाग्छ । भारतबाट फर्किने अधिकांश सर्वसाधारण बिहानै नेपालगन्ज नाकामा पुग्ने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सइ विष्णु गिरीले बताए । उनका अनुसार पछिल्लो दश दिनमा यो नाका भएर करिब नौ हजार नेपाली स्वदेश फर्किएका छन् । तीमध्ये शंकास्पद ६४ जनाको स्वाब परीक्षण गरिएको र चारजनाको एन्टिजेन पजिटिभ देखिएको छ । 

भारतमा बिहीबार ८१,४४१ र शुक्रबार ७४,८५५ जनामा देखियो संक्रमण

भारतमा कोरोना संक्रमणको दोस्रो लहर भयावह रूपमा बढ्दै छ । शुक्रबार मात्रै ७४ हजार आठ सय ५५ संक्रमित देखिएका छन् भने संक्रमणबाट पाँच सय ८१ जनाको मृत्यु भएको छ । बिहीबार ८१ हजार चार सय ४१ जनामा संक्रमण देखिएको थियो । यो संख्या पछिल्लो ६ महिनायताकै बढी भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि गत वर्षको १ अक्टोबरमा ८१ हजार संक्रमित देखिएका थिए । 

संक्रमणबाट बिहीबार चार सय ६८ को मृत्यु भएको थियो । यो संख्या पनि पछिल्लो चार महिनायताकै धेरै हो । भारत दैनिक धेरै संक्रमित थपिने दोस्रो मुलुक बनेको छ । बिहीबार ब्राजिलमा ९१ हजार संक्रमित थपिएका थिए । त्यस्तै, अमेरिकामा दैनिक औसत ६५ हजार संक्रमित फेला परिरहेका छन् । 

शुक्रबारसम्म भारतमा कुल संक्रमितको संख्या एक करोड २३ लाख ७६ हजार नौ सय ६५ पुगेको छ । त्यस्तै, हालसम्म एक लाख ६४ हजार नौ संक्रमितको मृत्यु भएको छ । शुक्रबार रातिसम्मको तथ्यांकअनुसार भारतमा अहिले पनि ६ लाख ५९ हजार ९२८ सक्रिय संक्रमित छन् । पछिल्लो हप्ता मात्र चार लाख ६७ हजार ६ सय ९२ जनामा संक्रमण देखिएको छ । त्यस्तै, एक हप्तामा दुई हजार सात सय ३४ जनाको मृत्यु भएको छ । 

भारतमा कोरोनाको दोस्रो लहर गत वर्षको भन्दा तीव्र रूपमा फैलिँदै छ । गत २२ फेब्रुअरीमा १० हजारलाई कोरोना पुष्टि भएकोमा त्यसको ४० दिनमा त्यो संख्या दैनिक ८० हजारमा पुगेको छ । जब कि गत वर्ष दैनिक १० हजार केसबाट ८० हजार पुग्न ८३ दिन लागेको थियो । गत वर्षको ११ जुनमा १० हजार संक्रमित भेटिएकोमा २ सेप्टेम्बरमा मात्रै त्यो संख्या ८० हजार कटेको थियो । संक्रमणबाट सबैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित बनेको छ । त्यस्तै, छत्तिसगढ, उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल र उत्तराखण्डमा पनि संक्रमण बढ्दै छ । 

धनगढीमा तेजराज भट्ट, नेपालगन्जमा विश्वराज पछल्डङ्ग्या, भैरहवामा दिपेश पछाईं, झापामा चिरञ्जीवी घिमिरे र काठमाडौंमा अर्जुन अधिकारी