१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o६:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

उपनिर्वाचनमा तीनै तहका सुरक्षाकर्मी खटिने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:४६:oo

शनिबार इलाम– २ मा प्रतिनिधिसभा सदस्य र बझाङ ‘१’ मा प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनमा तीनै तहका सुरक्षाकर्मी खटिने भएका छन् । दुवै क्षेत्रमा गरी सात हजारभन्दा बढी सुरक्षाकर्मी खटिने भएका हुन् । पहिलो र दोस्रो घेरामा खटिने नेपाल प्रहरी र सशस्त्रका सुरक्षाकर्मी खटिसकेका छन् । नेपाल प्रहरीबाट इलाममा एक हजार तीन सय ६३ र बझाङमा एक हजार २४ जना खटिएका छन् । त्यस्तै, सशस्त्र प्रहरी बलबाट दुवैतर्फ एक हजार पाँच सयका दरले खटिएका छन् ।

तेस्रो घेरामा रहेर सुरक्षा दिने सेनाको तर्फबाट दुवै क्षेत्रमा एक हजारभन्दा धेरैका दरले खटिनेछन् । निर्वाचन सुरक्षार्थ सेना परिचालनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिइसकेका छन् । शुक्रबार बिहानैदेखि सैनिक सुरक्षाकर्मी निर्वाचन क्षेत्रमा खटिने तयारी छ । 

‘राष्ट्रपतिबाट सेना परिचालनको स्वीकृति भइसकेको छ । दुवै निर्वाचन क्षेत्रमा शुक्रबार बिहानैबाट सैनिक फिल्डमा उत्रनेछन् । सुरक्षाको तेस्रो घेरामा रहेर सेनाले निर्वाचनको सुरक्षा गर्नेछ,’ सैनिक प्रवक्ता सहायक रथी कुमारगौरव केसीले भने ।

निर्वाचन आयोगले सुरक्षाका दृष्टिले इलाममा १९ मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रका रूपमा राखेको छ । २१ मतदानस्थललाई संवेदनशील र ३९ स्थललाई सामान्य मानेको छ । त्यस्तै, बझाङको २३ स्थललाई अतिसंवेदनशील, २४ स्थललाई संवेदनशील र २७ स्थललाई सामान्य मानेको छ । प्रहरीका अनुसार अतिसंवेदनशील स्थलमा १२ देखि १७, संवेदनशील स्थलमा ९ देखि १४ र सामान्य स्थलमा ८ देखि १३ सुरक्षाकर्मी परिचालन हुनेछन् । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीम ढकालले निर्वाचन सुरक्षार्थ सबै तयारी पूरा भएको र सुरक्षाकर्मी परिचालन भइसकेको बताए । ‘उपनिर्वाचनको सुरक्षाका लागि सबै तयारी पूरा भएका छन् । सुरक्षामा नेपाल प्रहरीसहित सेना र सशस्त्र प्रहरीका सुरक्षाकर्मी पनि खटिनेछन्,’ उनले भने, ‘सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाका सुरक्षाकर्मी निर्वाचन सुरक्षार्थ खटिनेछन् ।’  

ad
ad