Skip This
‘लिभिङ टुगेदर’मा हिंसाको चुनौती
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o७:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
सम्पादकीय प्रिन्ट संस्करण

‘लिभिङ टुगेदर’मा हिंसाको चुनौती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o७:४५:oo

‘लिभिङ टुगेदर’मा पनि महिला हिंसा भएको तथ्यांक सार्वजनिक भएको छ, जुन चिन्ताजनक छ । नेपाल प्रहरीको तथ्यांकले यो वर्ष नेपालभर महिला हिंसाका ११ हजार सात सय ३८ उजुरी दर्ता भएको देखाउँछ । योमध्ये आधाजसो घटना ‘लिभिङ टुगेदर’ र विवाहेतर सम्बन्धसँग जोडिएका छन् । सामाजिक चेतना र आर्थिक स्वतन्त्रतासँगै महिला वा पुरुषले आफ्नो सम्बन्ध आफैँ रोज्न थालेका छन् । यो स्वाभाविक हो ।

विवाह गरेर वा नगरे पनि सँगै बस्न पाउनु महिला वा पुरुषको वैयक्तिक स्वतन्त्रताको विषय हो । तर, यस्तो सम्बन्धमा भएका महिला पनि हिंसाबाट पीडित हुनु अस्वाभाविक हो । काठमाडौं उपत्यकामा मात्र होइन, बाहिरका सहरी क्षेत्रमा पनि ‘लिभिङ टुगेदर’को ट्रेन्ड बढिरहेको वेला यस्ता सम्बन्धमा रहेका महिलाहरू पीडित भएका घटना बढेका छन् । यो पक्कै पनि चिन्ताको विषय हो । 

लिभिङ टुगेदरमा रहेका महिलामाथि हिंसा हुनुको प्रमुख कारण हो– परिवारको असहयोग । लिभिङ टुगेदरमा बसेकी छोरीसँग सम्बन्धविच्छेद गरेर बसेको आफन्तले उनलाई अप्ठ्यारोमा सहयोग गर्दैनन् । जसले महिला थप हिंसा सहन बाध्य भएका हुन्छन् । हिंसा पितृसत्तात्मक समाजको चरित्र नै हो । समाजको यही चरित्रका कारण महिला जुनसुकै सम्बन्धमा पनि हिंसा भोग्न अभिशप्त छन् ।

सम्बन्ध रोजेकै कारण हिंसा सहनुपर्ने अवस्थाको अन्त्यका लागि परिवार, समाज र राज्यले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । जहाँ परिवार पछि पर्छ, त्यहाँ राज्य खरो कानुनका साथ उपस्थित हुनुपर्छ । व्यक्तिगत स्वतन्त्रता र सम्मान सर्वोपरि हो ।

पुरुषले निर्माण गरेका सामाजिक मूल्य, तिनै मूल्यमा खडा भएको विवाह, परिवारजस्ता संस्था पनि पुरुष प्रधान नै छन् । पितृसत्तात्मक नेपाली समाजको संरचनासँग मेल नखाने ‘लिभिङ टुगेदर’मा एउटा पुरुष र एउटी महिला विवाह नगरी श्रीमान्–श्रीमतीको हैसियतमा बस्नु नेपाली समाजका लागि अस्वाभाविक ठानिन्छ । समाज, परिवार र व्यक्तिको यही मनोविज्ञानले असफल लिभिङ टुगेदरका महिलामाथि हिंसाका घटना सतहमा आउन थालेका छन् । 

परम्परागत मागी–विवाहमा छोरीको रक्षा गर्न हरदम तयार रहने माइतीपक्ष लिभिङ टुगेदरमा छोरीलाई सहयोग गर्न अघि सर्दैन, सामान्यतः संवाद गर्नसमेत हिचकिचाउँछ । यसले सम्बन्धमा उतारचढाब आउनेबित्तिकै महिलामाथि हिंसा गर्न पुरुषलाई तत्पर बनाउन भूमिका खेलेको छ । यो भनेको व्यक्ति र परिवारलाई मात्र होइन, राज्यको कानुनलाई पनि चुनौती हो ।

श्रम, सीप, ज्ञान र जिम्मेवारीको बदलिँदो परिवेशसँगै सम्बन्धका पनि आयामहरू परिमार्जित हुँदै जान्छन् । त्यसैले एउटा वयस्क व्यक्तिले आफ्नो व्यक्तिगत जीवन कसरी जिउने भन्ने छनोट उसको व्यक्तिगत अधिकार हो । उमेर पुगेका छोरा वा छोरीको रोजाइलाई परिवारले साथ दिएमा उनीहरूको सम्बन्ध पनि सन्तुलित रूपमा अघि बढ्छ । यस्तोमा कोही कसैलाई अन्याय भएमा प्रतिरोध गर्ने तागत पनि हुन्छ ।

तर, परिवारले नै उचित साथ दिन नसकेमा छोरीहरू थप अन्यायमा पर्ने सम्भावना हुन्छ । त्यसैले सम्बन्ध रोजेकै कारण हिंसा सहनुपर्ने अवस्थाको अन्त्यका लागि परिवार, समाज र राज्यले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । जहाँ परिवार पछि पर्छ, त्यहाँ राज्य खरो कानुनका साथ उपस्थित हुनुपर्छ । व्यक्तिगत स्वतन्त्रता र सम्मान सर्वोपरि हो । 

ad
ad