पटक–पटक घन्टी बजेपछि कोटेश्वरका ५२ वर्षीय सबिर शर्मा (परिवर्तित नाम)ले मोबाइल फोनको स्क्रिन हेरे । स्क्रिनमा ललिताको नाम फ्लिक भइरहेको थियो । फोन उठाए । उताबाट सहयोगको याचना आयो । सबिर अलमलमा परे । प्रश्नमार्फत खबर बुझ्ने प्रयत्न गरे ।
ललिताले ‘पर्सको रकम हराएको र अलपत्रमा परेको’ भन्दै सबिरसँग उद्धारको याचना मात्रै गरिनन्, उनलाई सुन्धारास्थित गेस्ट हाउसमै बोलाइन् । सबिरको मन पग्लियो । उनी हुर्रिएर गेस्ट हाउस पुगे । सोधखोज गर्दा ललिता गेस्ट हाउसको कोठामै रहेको थाहा पाए । ललिताले उनलाई रुममै बोलाइन् । सबिरले गेस्ट हाउसको रुम पत्ता लगाए । भित्र छिरेका उनलाई ललिताले बेडमै बस्न भनिन् । सबिर पुग्दा ललिता अर्धनग्न अवस्थामा थिइन् । उनी सबिरको नजिकै गएर बसिन् । टाँसिँदै उनले सबिरको हात समातिन् र अँगालो हालिन् ।
अलमलमा परेका सबिर उठ्न खोज्दै थिए, त्यहीवेला दुईबीचको अन्तरंग सबै दृश्य कैद भएको भन्दै कोठाको कुनामा अर्की युवती देखापरिन् । उनको हातमा रहेको मोबाइलमा दुईबीचको दृश्य कैद गरिएको थियो । सोही दृश्यलाई लिएर अब ललिताले सबिरसँग बार्गेनिङ गर्न थालिन् ।
तनावमा देखिए सबिर हत्तपत्त गेस्टहाउसबाट बाहिरिए । तर, मोबाइलमा फोन र म्यासेजको घन्टी बजी नै रह्यो । जसमा रकम माग गरिएको थियो । नदिए तस्बिर परिवारका सदस्यसम्म पुर्याइदिने धम्की थियो । फोन र म्यासेजबाट आजित बनेका सबिरले पटकपटक गरी ललितालाई तीन लाख दुई हजार पाँच सय रुपैयाँ बुझाए । तर, ललिताले न ती दृश्य मोबाइलबाट हटाइन्, न बार्गेनिङ नै गर्न छाडिन् ।
उनले सबिरसँग एकैपटक आठ लाख रुपैयाँ मागिन् । बिलखबन्दमा परेका सबिरसामु अब प्रहरी कार्यालय जानुको विकल्प थिएन । उनी उपत्यका अपराध अनुसन्धान महाशाखा पुगे । घटनाको वृत्तान्त बताउँदै जाहेरी लेखे । प्रहरीले तत्काल अनुसन्धान सुरु ग¥यो । अन्ततः घटनाका मुख्य योजनाकार सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० की ललिता उर्फ ३७ वर्षीया लालसरी शाही र ३७ वर्षीया कल्पना हमाल पक्राउ परिन् ।
पैसा नदिएपछि बलात्कार आरोप
ललिता र कल्पनाले यसअघि पनि सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका एक लेखापाललाई यसैगरी फसाएका रहेछन् । पैसा दिन इन्कार गरेपछि लेखापाललाई उनीहरूले बलात्कारको आरोप लगाए । प्रहरीले लेखापाललाई गत ६ असोजमा पक्राउ गर्यो । सो मुद्दा अदालतसम्म पुग्यो । तर, कसुर प्रमाणित भएन । जिल्ला अदालत सुर्खेतले जाहेरीवाला ललितालाई झुटो आरोप लगाएको ठहर गर्दै तीन वर्ष ६ महिना जेल सजाय फैसला गर्यो ।
त्यसयता फरार ललिताले सबिरलाई आफ्नो पासोमा पारेकी रहिछन् । अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले यस्ता घटनामा ललितालाई कल्पनाले सघाउँदै आएको बताए । ‘हनी ट्र्यापिङको यो अनौठो नमुना हो । ललिता घटनाको मुख्य योजनाकार हुन् । सघाउने काम भने कल्पनाले गर्दै आएको देखिन्छ । यिनीहरूले अन्यलाई पनि यसैगरी फसाएको हुन सक्ने अनुमान छ,’ उनले भने ।
‘हनी ट्रयापिङ’अघि बालक अपहरण
प्रहरीका अनुसार ‘हनी ट्रयापिङ’की मुख्य योजनाकार ललिता यसअघि ०६६ मा बाँकेमा भएको १४ वर्षीय बालक अपहरणमा संलग्न थिइन् । उनलाई त्यसवेला जिल्ला अदालत बाँकेले १४ वर्ष जेल सजाय सुनाएको थियो । सात वर्ष जेल बसेपछि उच्च अदालत बाँकेले उनलाई २२ मंसिर ०७४ मा एक लाख रुपैयाँ धरौटीमा जेलमुक्त गरेको थियो ।
‘पक्राउलगत्तै हामीले अनुसन्धान गर्यौँ । खोज्दै जाँदा यी महिला बालक अपहरणमा पनि पक्राउ परेको देखियो । त्यसवेला यिनलाई १४ वर्ष जेल सजाय भएको रहेछ । पछि उच्च अदालतले एक लाख रुपैयाँ धरौटीमा छाडेको रहेछ । त्यसपछि ‘हनी ट्र्यापिङ’को धन्दा चलाउँदै आएको देखिन्छ,’ महाशाखाका एसपी कोइरालाले भने ।