१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मञ्जु टेलर काठमाडौं
२०७७ फाल्गुण २१ शुक्रबार ०८:१०:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरकारलाई खोकनावासीको प्रश्न : संस्कृति विनाशको मुआब्जा कसले भरिदिन्छ ?

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७७ फाल्गुण २१ शुक्रबार ०८:१०:००

फास्ट ट्रयाक, बाहिरी चक्रपथ, मातातीर्थ–भक्तपुर १३२ केभिए प्रसारण लाइन, स्मार्ट सिटी, पेट्रोलियम भण्डारण, बागमती शुद्धीकरण प्रोजेक्ट र प्रस्तावित रेलमार्गजस्ता योजनाका कारण १० हजार रोपनी जग्गा अधिग्रहण हुने भएपछि खोकना बचाउ अभियान

ललितपुर खोकनाका ७८ वर्षीय तुयू डंगोलको नाममा ख्वना (खोकना) मा आठ कित्ता जग्गा छ । आफूसँगै रहेको जग्गामा धान र तरकारी रोपेर जीवन बिताएका डंगोल सरकारले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)को ‘जिरो पोइन्ट’ खोकनालाई बनाउने परियोजना ल्याएसँगै चिन्तित छन् । 

खोकनावासीको विरोधपछि हाल स्थगित रहेको द्रुतमार्गको काम खोकनामै सुरु भएमा उनको घरसहित सबै जग्गा परियोजनाले अधिग्रहण गर्नेछ । उनको १६ जनाको परिवारसहित हाल बसिरहेको घर पनि परियोजनाको जिरो पोइन्टमै पर्छ । उनी भन्छन्, ‘आफ्नै जग्गामा धान रोप्न प्रहरीसँग झगडा गर्नुपरेको छ । अहिले तरकारी रोप्ने ठाउँमा माटो राखिदिएको छ, माटो हटाइदिनुपर्‍यो भनेर दिनदिनै जान्छु, सुन्दैनन् ।’

परियोजनाको जिरो पोइन्टमै भएभरको सबै घरजग्गा पर्नेमा नरेश महर्जन पनि पर्छन् । उनको सपरिवार बस्दै आएको घरसहित खोकनामा आठ रोपनी जग्गा छ, द्रुतमार्गको काम सुरु भएमा बस्दै आएको घर भत्काउनुपर्ने हुन्छ । उनको परिवारमा १८ जना छन् । संयुक्त परिवारमा बस्दै आएको उनको परिवारले मुआब्जा लिएर घरजग्गा दिन नसकिने अडान राख्दै आएको छ । ‘सरकारसँगको मुद्दा घरजग्गा र सम्पत्तिसँगको मात्र होइन, हजारौँ वर्ष पुरानो सभ्यता, सम्पदा र नेवाः संस्कृतिको विनाशको तयारी, यसले समुदायमा पर्ने सामाजिक आर्थिक रूपमा पार्ने दीर्घकालीन प्रभावबारे पर्याप्त अध्ययनविनै गरिएको द्रुतमार्गको प्रस्तावित परियोजनाविरुद्ध हो,’ उनी भन्छन्, ‘हालसम्म खोकनाको करिब ७० देखि ८० प्रतिशत आम्दानीको स्रोत खेतीमा निर्भर छ । सँगै यहाँको स्थानीय संस्कृति विनाशको मुआब्जा कसले भरिदिन्छ ? खोकना र बुङमतीसँग जोडिएका संस्कृति मासिनुहुँदैन भन्ने हाम्रो मान्यता हो, जसका लागि खोकनामा द्रुतमार्गको जिरो पोइन्ट बनाइनु हुँदैन ।’ 

सरकारले काठमाडौं–तराई जोड्ने दु्रतमार्गको परियोजनाअन्तर्गत प्रस्तावित गरिएको ‘जिरो पोइन्ट’को काम सुरु भएमा खोकना र बुङमतीमा स्थानीयका सयौँ घरपरिवार प्रभावित हुनेछन् । अधिकांशजसो खेतीपातीमै निर्भर रहने घर संख्या बढी भएकाले सम्पत्तिसँगै रोजगारी, प्राचीन संस्कृति र मूल्यमान्यता पनि गुम्ने स्थानीयको चिन्ता छ ।

आफूखुसी जग्गाको मुआब्जा तोक्ने गरेको भन्दै विरोध
गत असारमा खोकनामा खेत रोप्न जाँदा प्रहरीले स्थानीय बासिन्दालाई अवरोध गरेपछि विरोध सुरु भएको थियो । प्रहरीले आफ्नै स्वामित्वमा रहेको खेत रोप्न जाँदा पनि धम्क्याउने, डर देखाउने गर्न थालेपछि १५ असारमा खोकनावासी समूहमा खेत रोप्न गए । प्रहरीले विरोध गरेपछि झडपसमेत भएको थियो । प्रहरीले अश्रुग्यास र लाठीचार्ज गर्दा १२ जना स्थानीय घाइते भए । त्यसपछि २० असार र ३ साउनमा पुनः स्थानीय र प्रहरीबीच भडप भयो । स्थानीयसँग सम्झौता नै नगरी जग्गा अधिग्रहण गर्न लागिएको भन्दै विरोध हुन थालेपछि द्रुतमार्गले तत्कालका लागि काम रोकेको थियो । पुनः मंसिर महिनामा ‘बेलीब्रिज’को काम सुरु गरेसँगै विरोध भएपछि हाल निर्माणको काम रोकिएको छ । खोकनावासीले ६ वटा सरकारी निकायविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सर्वोच्चले आगामी २ जेठका लागि पेसी तोकेको छ । तर, मुआब्जा नै नलिइएको जग्गामा नेपाली सेनाले क्याम्प बनाएर बस्ने र समय–समयमा विनाजानकारी निर्माण कार्य सुरु गर्ने प्रवृत्तिले आतंकित बनाएको खोकनावासीको गुनासो छ ।

परियोजनाअन्तर्गत जग्गा पर्नेहरूमध्ये करिब ३० प्रतिशतले मुआब्जा लिइसकेका छन् । तर, केहीलाई फकाएर, धम्क्याएर वा गलत लालच देखाएर मुआब्जा लिन लगाइएको स्थानीयको आरोप छ । ‘जग्गाको केही प्रतिशत मात्र पर्ने, भूकम्पले घर भत्किएकालाई द्रुतमार्ग आउँदा फाइदा हुन्छ, जग्गाको भाउ वृद्धि हुन्छ भन्नेजस्ता लालच देखाएर मुआब्जा लिन लगाइएको छ,’ खोकना बचाउ संघर्ष समितिका अभियन्ता नेपाल डंगोल भन्छन्, ‘मुआब्जा निर्धारण गर्ने समितिमा सम्पूर्ण स्थानीयलाई समिटिएको छैन, सिडिओले आफ्नो इच्छाअनुसार मुआब्जा तोकेका छन् ।’ 

आधा दर्जन परियोजनाले खोकनाको ऐतिहासिकता मासिने चिन्ता
काठमाडौं–तराई द्रुतमार्ग योजना कार्यान्वयन भएसँगै बाहिरी चक्रपथ र मातातीर्थ–भक्तपुर १३२ केभिए विद्युत् प्रसारण लाइन पनि खोकना हुँदै जानेछ । प्रस्तावित यी योजनाले मात्रै खोकनाको लगभग १० हजार रोपनी जग्गा सरकारले अधिग्रहण गर्नेछ । साथै, सरकारले स्मार्ट सिटी योजना, पेट्रोलियम भण्डारण, बागमती शुद्धीकरण प्रोजेक्ट र प्रस्तावित रेलमार्ग पनि खोकना हुँदै जाने योजना बनाएको छ । यी सबै परियोजना लागू भएमा खोकनाको ऐतिहासिकता पूर्ण रूपमा मासिने स्थानीयको चिन्ता छ । फास्ट ट्र्याकको ५० मिटरको बाटोमा पर्ने स्थानमा मात्र ६८ वटा पुरातात्विक स्थान (संस्कृतिसँग जोडिएका स्थान) पर्नेछन् । 

सरकारले स्थानीयवासीसँगको पूर्ण सम्झौताविनै जबर्जस्ती बनाउन लागिएको फास्ट ट्र्याकको बिन्दुसँगै जोडिएर आउने अन्य विकास निर्माणका योजना खोकनामै पार्नु, आदिवासी समुदायको जग्गा हडपेर संस्कृति निमिट्यान्न पार्ने सरकारको गुरुयोजना रहेको बताउँछन् स्थानीय दुर्गाराम महर्जन । ‘आधुनिकताले छोइनसकेको खोकनामा मात्रै एकैपटक ६/७ वटा परियोजनाको बिन्दु बनाउनुलाई भूमाफियाको षड्यन्त्रबाहेक हामीले के भनेर सोच्ने ?’ सांस्कृतिक अभियन्ता महर्जन प्रश्न गर्छन् ।

अभियन्ता नेपाल डंगोलका अनुसार, दु्रतमार्गका लागि सरकारले खोकना र बुङमतीमा पाँच सय आठ कित्ता जग्गा लिने योजना बनाएको छ, जसमध्ये १२ सय रोपनी जग्गा मुआब्जा र अधिग्रहण गरेर लिइसकेको छ । योसँगै बाहिरी चक्रपथका लागि मात्रै पाँच हजार रोपनी जग्गा लिइनेछ । विकास परियोजनाका लागि ३५ देखि ५५ प्रतिशत जग्गा अधिग्रहण गर्ने र बाँकी मुआब्जाका रूपमा जग्गा लिँदा लगभग खोकनाको सबै एरिया परियोजनामै सकिनेछ । ‘यी परियोजनाले खोकनाको प्राचीन संस्कृतिसँगै पर्यावरणीय असर गर्ने निश्चित छ । सरकारले एकै समयमा निर्माण सम्भव नै नहुने योजना ल्याएर विनाश मात्रै गर्न खोजिरहेको जस्तो देखिन्छ । यसका लागि फास्ट ट्र्याकको जिरोपोइन्ट पाँच किलोमिटर तल सारेमा मात्र त्यसलाई जोड्न बाहिरी चक्रपथ आवश्यक देखिँदैन,’ डंगोल भन्छन्, ‘जसका लागि राणाकालमै बनाइएको जलविद्युत् आयोजनाको २२ मिटरको बाटो, बल्खुको बाटो, नख्खु करिडोरको बाटोलाई विकल्पका रूपमा प्रयोग गर्न सक्छौँ ।’

आधुनिकताले छोइनसकेको खोकना
पाँच वर्षअघि गएको भूकम्पले खोकनामा भत्काएका घरहरूमध्ये हालसम्म आधा पनि बनेका छैनन् । अधिकांश घरपरिवार खेतीपातीमा निर्भर रहेकाले खेतमै टहरा बनाएर बसेका भेटिन्छन् । स्थानीयका अनुसार नेवाः संस्कृतिको प्राचीन स्थल मानिने ख्वना (खोकना)मा नेवार संस्कृतिअन्तर्गत पर्ने जात्राहरू कुनै दिन पनि खाली हुँदैन । सहरबाट नजिकै रहे पनि प्राचीन सम्पदा, संस्कृति जात्राहरू जोगाउँदै आएको खोकनाले बोकेको ऐतिहासिकता स्मार्ट सिटीको नाममा मास्न नहुने स्थानीयवासीको माग छ । स्थानीय दुर्गाराम महर्जन भन्छन्, ‘खोकनाको धर्म, संस्कृति यहाँको जग्गासँग जोडिएको छ, बागमती र सिकाली जात्रा, रातो मच्छिन्द्रनाथको जात्रा स्थानीय जग्गा र खेतीपातीसँग प्रत्यक्ष जोडिएको छ । हाम्रो मान्यता स्मार्ट सिटी नभई पुरातात्विक मान्यतालाई जोगाउने हो । स्मार्ट सिटीलगायतका परियोजना खोकनाबाहिर पनि बनाउन सकिन्छ ।’ 

सांस्कृतिक सम्पत्ति जोगाउनुपर्छ : सम्पदाविद्
खोकनाको आफ्नै मौलिक पहिचान छ । यहाँको बस्तीलाई काठमाडौं उपत्यकाकै पुरानो बस्ती मानिन्छ । पुरातत्व विभागले अध्ययन गरेर लिखित तथ्यांक नराखे पनि स्थानीयले उत्खनन गरेर भेटिएको प्रमाणका आधारमा पनि प्राचीनता रहेको अनुमान गर्न सकिन्छ । यद्यपि खोकनाले हालसम्म बचाएर राखेकोे संस्कृति प्राचीन हो, खोकनावासी दसैँ मनाउँदैनन् । यहाँको रीतिरिवाज, माटोको उर्वर शक्तिको छुट्टै मान्यता छ । सम्पदाविद् आलोकसिद्धि तुलाधर धर्म, संस्कृति मात्र नभई समुदायको परिवेश, खेतीपाती र खेतीसँग प्रत्यक्ष रूपमा जोडिएको प्राचीन महत्वको विषय खोकनाको पहिचान भएको बताउँछन् । ‘विकास निर्माणका नाममा ल्याइएका विभिन्न परियोजनाले आदिवासी संस्कृति, सम्पदा र पर्यावरणलाई कसरी प्रभाव पारिरहेको छ र पार्छ भन्ने सरकारले बुझ्नुपर्ने देखिन्छ,’ उनले भने ।