नबिल बैंकले ललितपुर महानगरपालिका वडा नं. २१ को खोकनामा डिजिटल बैकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम गरेको छ । बैंकले स्थानीय क्षेत्रको कृषि प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता प्रवर्द्धनमा केन्द्रित रहेर कार्यक्रम गरेको हो ।
बैंकले नबिल दिगो बैंकिङका विभिन्न आयामहरू, डिजिटल बैंकिङ, क्युआर कोड र अन्य सेवा–सुविधाका बारेमा विशेष प्रस्तुति दिएको जनाएको छ । कार्यक्रममा खोकनाका वडा सदस्यहरू, स्थानीय गुठी, आमा समूह र सहकारीका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी, किसान तथा उद्यमीहरूको सहभागिता रहेको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले विशेष वक्ताका रूपमा युवा र महिलाहरूको उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधैँ तत्पर रहेको बताए । वडाध्यक्ष रवीन्द्र महर्जनले खोकनावरपर उद्यमशीलता विकास गर्न नबिल बैंकसँग हातेमालो गर्ने बताए । बैंकका प्रादेशिक प्रमुख रोशन कोइरालाले उद्यमशीलता विकास र वित्तीय पहुँच प्रवर्द्धनमा नबिल बैंक स्थानीय निकायसँग सहकार्य गर्न सधैँ तत्पर रहेको बताए ।
बैंकले ०७८ असार १५ गते सुरु गरेको दिगो बैंकिङ सुरुमा १७ वटा शाखाबाट सुरु गरेकोमा हाल एक सय शाखामा विस्तार गरेको जनाएको छ । दिगो बैंकिङअन्तर्गत किसान कर्जा र उद्यमशील कर्जामार्फत पाँच सयभन्दा बढी उद्यमीलाई ५५ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको जनाइएको छ ।