कर्मचारीबाटै सहकारीको १८ लाख हिनामिना

सेफको नक्कली चाबी बनाएर रकम चोरी, श्रीमान्–श्रीमती पक्राउ

सोमबार, १७ फागुन, २०७७
डिजिटल संस्करण

चोरीको नाटक गरी सहकारीको रकम हिनामिना गरेको अभियोगमा प्रहरीले सहकारीकै कर्मचारी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा सिंहदेवी–७ की ३१ वर्षीया सावित्री सुवेदी छिन् । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई गत २८ माघमा पक्राउ गरेको हो । अदालतबाट म्याद थप गरी उनीविरुद्ध थप अनुसन्धान भइरहेको छ । 

प्रहरीका अनुसार सुवेदीले नयाँबानेश्वरको सुविधानगरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्थाको १७ लाख ८५ हजार ५६५ रुपैयाँ हिनामिना गरेको खुलेको छ । घटनामा संलग्न रहेको आशंकापछि प्रहरीले उनका श्रीमान् कपिल खड्कालाई पनि पक्राउ गरेको छ । रकम हिनामिना गर्ने सुवेदी सात वर्षदेखि सहकारीमा कार्यरत रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताए ।

 ‘सहकारीको रकम हिनामिना गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्ने दम्पती हुन् । अनुसन्धानका क्रममा सावित्रीले रकम हिनामिना गरेको देखिन्छ । यसका लागि उनले सहकारीको सेफको नक्कली चाबी बनाएको देखिन्छ । दुवैविरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको छ,’ बस्नेतले भने ।

प्रहरीका अनुसार सात वर्षदेखि अधिकृतका रूपमा कार्यरत सुवेदीले ग्राहकको रकम बुझ्थिन् । रकम लगेर सेफमा राख्थिन् । सेफको चाबी सुरक्षित तवरले राखिएको हुन्थ्यो । सुवेदीले सोही साँचोको नाप लिएर अर्को नक्कली साँचो बनाइन् । सेफ अब सावित्री आफैँले खोल्न र बन्द गर्न सक्ने भइन् ।

सहकारीमा कोही नभएको मौका छोपी उनले सेफ खोल्थिन् र आवश्यक रकम लिएर हिँड्थिन् । केही अवधि यो क्रम निरन्तर चल्यो । रकम गणना गर्दा नपुगेको देखिएपछि सहकारी सञ्चालकबाट खोजी हुन थाल्यो । यसको सुइँको पाएकी सवित्रीले २५ माघ साँझ सहकारी चोरी भएको खबर प्रहरीलाई गरिन् । 

प्रहरी घटनास्थल पुग्यो । अनुसन्धान गर्दा सेफको साँचो खोलिएको भेटियो । फुटाएर सेफ खोलिने ठाउँमा साँचो प्रयोग भएको पाइएपछि प्रहरीको शंका कर्मचारीतर्फ मोडियो । प्रहरीले सहकारीको सिसीक्यामेरा फुटेज अनुसन्धान गर्यो । फुटेजमा साँचो लिएर सेफ पुगेको र उनैले सेफ खोली रकम लगेको देखिएपछि प्रहरीले सावित्रीलाई पक्राउ गर्यो । 

‘सहकारी चोरी भएको खबर आएपछि प्रहरी तुरुन्तै घटनास्थल पुग्यो । सेफको चाबी फुटेको थिएन । चोरले त चाबी फुटाउनुपर्नेमा त्यो नभएको देखिएपछि कर्मचारीमाथि शंका भयो । सिसीक्यामेरा फुटेज अनुसन्धान गरियो,’ परिसरका प्रवक्ता एसपी बस्नेतले भने, ‘फुटेजमा सावित्री देखिइन् । उनैले चाबी प्रयोग गरी सेफ खोलेको र रकम झिकेको देखियो । उनलाई तुरुन्तै पक्राउ गर्यौँ ।’ 

प्रहरीका अनुसार सावित्रीले सेफ खोल्न भक्तपुरको चाबी पसलबाट नक्कली साँचो बनाएकी थिइन् । चाबी पसलेले पनि सावित्रीले नक्कली चाबी बनाएको बयान दिएको एसपी बस्नेतले बताए । ‘हामीले साँचो बनाउने ठाउँ पनि पत्ता लगायौँ । पसलेलाई सोधपुछ गर्यौँ । उनले पनि सावित्रीले नै साँचो बनाएको बयान दिएका छन्,’ उनले भने ।

सुझावित समाचार