मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण १७ सोमबार ०६:१६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कर्मचारीबाटै सहकारीको १८ लाख हिनामिना

सेफको नक्कली चाबी बनाएर रकम चोरी, श्रीमान्–श्रीमती पक्राउ

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण १७ सोमबार ०६:१६:००

चोरीको नाटक गरी सहकारीको रकम हिनामिना गरेको अभियोगमा प्रहरीले सहकारीकै कर्मचारी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा सिंहदेवी–७ की ३१ वर्षीया सावित्री सुवेदी छिन् । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई गत २८ माघमा पक्राउ गरेको हो । अदालतबाट म्याद थप गरी उनीविरुद्ध थप अनुसन्धान भइरहेको छ । 

प्रहरीका अनुसार सुवेदीले नयाँबानेश्वरको सुविधानगरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्थाको १७ लाख ८५ हजार ५६५ रुपैयाँ हिनामिना गरेको खुलेको छ । घटनामा संलग्न रहेको आशंकापछि प्रहरीले उनका श्रीमान् कपिल खड्कालाई पनि पक्राउ गरेको छ । रकम हिनामिना गर्ने सुवेदी सात वर्षदेखि सहकारीमा कार्यरत रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताए ।

 ‘सहकारीको रकम हिनामिना गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्ने दम्पती हुन् । अनुसन्धानका क्रममा सावित्रीले रकम हिनामिना गरेको देखिन्छ । यसका लागि उनले सहकारीको सेफको नक्कली चाबी बनाएको देखिन्छ । दुवैविरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको छ,’ बस्नेतले भने ।

प्रहरीका अनुसार सात वर्षदेखि अधिकृतका रूपमा कार्यरत सुवेदीले ग्राहकको रकम बुझ्थिन् । रकम लगेर सेफमा राख्थिन् । सेफको चाबी सुरक्षित तवरले राखिएको हुन्थ्यो । सुवेदीले सोही साँचोको नाप लिएर अर्को नक्कली साँचो बनाइन् । सेफ अब सावित्री आफैँले खोल्न र बन्द गर्न सक्ने भइन् ।

सहकारीमा कोही नभएको मौका छोपी उनले सेफ खोल्थिन् र आवश्यक रकम लिएर हिँड्थिन् । केही अवधि यो क्रम निरन्तर चल्यो । रकम गणना गर्दा नपुगेको देखिएपछि सहकारी सञ्चालकबाट खोजी हुन थाल्यो । यसको सुइँको पाएकी सवित्रीले २५ माघ साँझ सहकारी चोरी भएको खबर प्रहरीलाई गरिन् । 

प्रहरी घटनास्थल पुग्यो । अनुसन्धान गर्दा सेफको साँचो खोलिएको भेटियो । फुटाएर सेफ खोलिने ठाउँमा साँचो प्रयोग भएको पाइएपछि प्रहरीको शंका कर्मचारीतर्फ मोडियो । प्रहरीले सहकारीको सिसीक्यामेरा फुटेज अनुसन्धान गर्‍यो । फुटेजमा साँचो लिएर सेफ पुगेको र उनैले सेफ खोली रकम लगेको देखिएपछि प्रहरीले सावित्रीलाई पक्राउ गर्‍यो । 

‘सहकारी चोरी भएको खबर आएपछि प्रहरी तुरुन्तै घटनास्थल पुग्यो । सेफको चाबी फुटेको थिएन । चोरले त चाबी फुटाउनुपर्नेमा त्यो नभएको देखिएपछि कर्मचारीमाथि शंका भयो । सिसीक्यामेरा फुटेज अनुसन्धान गरियो,’ परिसरका प्रवक्ता एसपी बस्नेतले भने, ‘फुटेजमा सावित्री देखिइन् । उनैले चाबी प्रयोग गरी सेफ खोलेको र रकम झिकेको देखियो । उनलाई तुरुन्तै पक्राउ गर्‍यौँ ।’ 

प्रहरीका अनुसार सावित्रीले सेफ खोल्न भक्तपुरको चाबी पसलबाट नक्कली साँचो बनाएकी थिइन् । चाबी पसलेले पनि सावित्रीले नक्कली चाबी बनाएको बयान दिएको एसपी बस्नेतले बताए । ‘हामीले साँचो बनाउने ठाउँ पनि पत्ता लगायौँ । पसलेलाई सोधपुछ गर्‍यौँ । उनले पनि सावित्रीले नै साँचो बनाएको बयान दिएका छन्,’ उनले भने ।