१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ २६ सोमबार १५:३०:००
Read Time : > 3 मिनेट
फिचर

८१ वर्षीय कार्लोसको योजना– सगरमाथामा दोहोऱ्याएर पाइला टेक्ने 

Read Time : > 3 मिनेट
२०७७ माघ २६ सोमबार १५:३०:००

कार्लोस सोरिया स्पेनिस नागरिक हुन् । कार्लोसको उमेर ठ्याक्कै ८१ वर्ष भएको छ । यो उमेरमा पनि कार्लोससँग युवामा जस्तै जोस छ । कार्लोससँग नपत्याउँदो आत्मविश्वास छ । उनी पुनः एकपटक विश्वकै सर्वोच्च शिखर सगरमाथा (माउन्ट एभरेस्ट) चुचुरोमा पाइला टेक्ने योजनामा छन् । उनी स्पेनको राजधानी म्याड्रिडबाट सगरमाथा चढ्ने दृढ संकल्पका साथ हिँड्ने तयारीमा छन् । 

कार्लोसलाई यो उमेरमा संसारकै अग्लो हिमाल चढ्नु सामान्य हुँदै होइन । सबैभन्दा पहिला त श्वासवप्रश्वासले नै साथ नदिन सक्छ । ज्यानै जान पनि सक्छ । ‘उच्च हिमाली भेगमा श्वास लिन त्यसै पनि अति कठिन हुँदो रहेछ,’ कार्लोसले हाँस्दै भने भने, ‘तर, यो अनुभव मेरो जीवनभर रहनेछ, जब म विश्वकै अग्लो स्थानमा पुग्नेछु, त्यसवेला सबै कठिनाइ बिर्सनेछु ।’ कार्लोसको योजना सगरमाथा आरोहणमा मात्र सीमित छैन । उनले त्यसपछि पनि अन्य हिमाल चढ्ने योजना बुनिसकेका छन् । 
नेपालका सबै सात हजारभन्दा माथिका हिमालमा स्पेनको झन्डा गाड्ने उनको योजना छ । उनी भन्छन्, ‘यो वसन्त ऋतुमा म धौलागिरि हिमाल चढ्छु त्यसपछि तिब्बतमा पर्ने सिसापांगमा जाने योजना बनाएको छु ।’ यदि यी दुवै हिमालमा सफलता पाए ८१ वर्षीय उमेरमा आठ हजारमाथिका १४ हिमाल चढ्ने विश्वकीर्तिमान कार्लोसले बनाउनेछन् । संसारका १४ अग्ला हिमाल औसतमा २६ हजार दुई सय ४७ फिटभन्दा माथिका छन् । म्याड्रिडको उत्तरपश्चिम भेग अभिलामा जन्मिएका कार्लोस सेनाका रिटायर्ड सैनिक हुन् । 

रिटायर्डपछि पलाएको हिमाल आरोहण सौख
उनले हिमाल आरोहणको सौख रिटायर्डपछि पलाएको हो । आफू मात्रै नभएर उनले अरू साथीहरूलाई पनि हिमाल चढ्न उत्प्रेरित गरिरहेका छन् । ती साथीहरूलाई हिमाल चढ्दाको आनन्द पटकपटक बताउने गर्छन् । यसकारण कार्लोस स्पेनमा मात्रै नभएर विश्वकै एक असाधारण व्यक्तिमा पर्छन् । ८० वर्षमाथिका व्यक्ति चिसो लाग्ने स्थानमा जानै नहुने र अझ आठ हजारमाथिका हिमाल चढ्दा ज्यानसमेत जान सक्ने चिकित्कसकहरू बताउँछन् । तर, कार्लोस यस्ता सुझाब मान्ने अवस्थामा छैनन् । 

दुई वर्षअघि सगरमाथाको बेस क्याम्पमा उनी विनाअक्सिजन पुगेका थिए । उनी बेस क्याम्पसम्म सामान्य टिसर्ट र हाफ ज्याकेटमा पुगेका थिए । ‘त्यहाँको चिसो बयान गरिसाध्ये छैन,’ कार्लोस भन्छन्, ‘तर, मलाई चिसोसँग खेल्ने बानी नै परेको छ ।’ विश्वका १४ अग्ला हिमालमध्ये ११ वटा उनले ६० वर्षभित्रै आरोहण गरिसकेका थिए । पर्वतारोहण इतिहासमा कार्लोसले निकै राम्रो छवि बनाएका छन् । उनले ६२ वर्षको उमेरमा पहिलोपटक सगरमाथामा पनि आरोहण गरेका थिए । अहिले पनि सगरमाथा चढेको इतिहास पल्टाउन हो भने पाका उमेरमा सगरमाथा चढ्ने व्यक्तिमा कार्लोस पनि पर्छन् । ७० वर्षको उमेरमा सातवटै महादेशका सर्वोच्च शिखर चढेर उनले अर्को विश्वकीर्तिमान बनाएका थिए । 

सफलतामा गर्व
कार्लोस जीवनमा के पाएँ वा गुमाएँ भन्ने लेखाजोखा कहिले नगरेको बताउँछन् । बरु हिमाल आरोहणको क्रममा राखेको कीर्तिमानमाथि भने उनी गर्व गर्छन् । जीवनको अनुपम क्षण तथा हिमाल आरोहणको क्रममा भोगेका समस्या नै स्मरणीय भएको उनी बताउँछन् । सोहीकारण आज पनि उनीसँग अन्तर्वार्ता लिन विश्वभरका सञ्चारकर्मी पुग्छन् । उनी भन्छन्, ‘जुन रेकर्ड मेरो नाममा स्थापित छ, त्यसमा म सधैँ गर्व गर्छु ।’ 

हिमाल आरोहणका क्रममा भएका धेरै रमाइला स्मरण उनीसँग छन् । रेकर्ड राख्नुभन्दा पनि आफूलाई कहिले पनि कसैले ‘रेक्यु’ गर्नु नपरेकोमा कार्लोस थप उत्साहित र रोमाञ्चित हुन्छन् । उनी भन्छन्, ‘म कहिले पनि डरलाग्दो समस्याबाट हिँडिनँ, अझ विनारेक्यु नै सबै हिमाल आरोहण गरेँ ।’ दुई खुट्टाको बलमा हिमाल चढेको र ओर्लेको उनी पटकपटक सुनाउँछन् । यही आत्मविश्वासका साथ गत वर्ष संसारका १४ अग्ला सर्वोच्च शिखर चुम्ने योजना बनाए पनि कोरोना भाइरस महामारीले पूरा हुन नसकेको उनको भनाइ छ । त्यही योजना यस वर्ष पूरा गर्ने उनको लक्ष्य हो । 

सगरमाथा वा धौलागिरिमा सफलता चुमेको दिन कोरोनाले प्राण गुमाएका व्यक्तिप्रति फूलको गुच्छा अर्पण गर्ने उनले बताए । ‘मसँग एउटा फूलको गुच्छा छ, त्यो समिट भएको दिन नै मृतकप्रति चढाउनेछु,’ उनले भने, ‘संसारको अग्लो स्थानबाट म उनीहरूको आत्माको चिरशान्तिको कामना गर्छु ।’

म्याड्रिडमा आरोहण अभ्यास गर्दै 
कार्लोस अहिले म्याड्रिडस्थित सिएरा डे गुडारामा माउन्टेन ट्रेनिङ सेन्टरमा अभ्यास गरिरहेका छन् । जिमखानामा तौल घटाउनेदेखि कठिन शारीरिक अभ्यास गरिरहेको बिबिसीले जनाएको छ । सानोदेखि ठूला हिमालसम्म चढ्ने वेला अपनाउनुपर्ने सबै विधि उनले शून्य स्तरबाटै गरिरहेका छन् । कोभिड– १९ ले हिमाल चढ्न नपाउँदा लगभग सबैजसो कला बिर्सेको उनी बताउँछन् । यसकारण पूर्ववत् अवस्थामा आउन सुरुदेखि नै अभ्यास थालनी गरेको कार्लोसको भनाइ छ । 
‘हाम्रो नजरमा ८१ वर्षको उमेर यस किसिमको अभ्यास कसैले नै गरेका छैनन्,’ कार्लोससँगै सगरमाथा चढेका जियोलोजिस्ट सिटो कार्काभिलाले भने, ‘कार्लोसको उमेर सुन्दा वृद्ध नै हुन्, तर हिमाल आरोहणमा सधैँ युवा देखिन्छन् ।’ विश्वका भेट्रान हिमाल आरोहीमध्ये कार्लोस सबैभन्दा अनुभवी भएको कार्काभिलाले बताए । 

दुई वर्षअघि शल्यक्रिया
कार्लोसले दुई वर्षअघि घुँडाको शल्यक्रिया गराएका थिए । शल्यक्रियापछि केही समस्या आउने उनको अनुमान थियो । तर, हिमाल आरोहण गर्दासमेत केही समस्या नआएको कार्लोस बताउँछन् । ‘केही समयका लागि मेरो खुट्टा कामेको जस्तो भयो, सम्भवतः मानसिक रूपमा म डराएको थिएँ,’ उनले भने, ‘जब हिमाल चढ्ने योजना बन्यो त्यसवेला केही देखिनँ, मानसिक रूपमा म बलियो भएँ ।’ कार्लोसले इच्छाशक्तिको अघि उमेरको केही अर्थ नरहेको बताउँछन् । भन्छन्, ‘यहाँ मान्छेहरू उमेर ढल्केपछि केही गर्न सकिँदैन भन्छन्, तर मेरो अनुभवमा इच्छा नै शक्ति हो, ७० वर्षको उमेरमा पनि हिमाल चढेँ, अहिले ८१ वर्षमा पनि विश्वको सर्वोच्च हिमाल चढ्ने योनजा बनाएको छु, यसलाई कसैले पनि अचम्म मान्नुपर्दैन ।’

–एजेन्सीको सहयोगमा