१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ २२ बिहीबार
  • Thursday, 03 July, 2025
एजेन्सी
२o७७ माघ २२ बिहीबार २o:o९:oo
Read Time : > 1 मिनेट
फिचर

‘कोरोना भाइरस फैलाउनेमा युवाहरू बढी’

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७७ माघ २२ बिहीबार २o:o९:oo

अमेरिकामा गरिएको एउटा अध्ययनले युवाहरूले कोरोना भाइरस बढी फैलाएको देखाएको छ । लन्डनस्थित इम्पेरियल कलेजले गरेको अध्ययनअनुसार अमेरिकामा २० देखि ४९ वर्षका व्यक्तिले भाइरस धेरै फैलाएको देखाएको हो ।

अमेरिकाको १० लाखभन्दा बढी व्यक्तिमा गरेको यो अनुसन्धानले महत्वपूर्ण तथ्य दिएको हो । अनुसन्धानकर्ताहरूले ती व्यक्तिहरूको मोबाइल लोकेसन डाटा र सार्वजनिक रूपमा उपलब्ध रहेका अरू प्रमाणलाई आधार मानी अनुसन्धान गरेको जनाएका छन् । त्यसमा उनीहरूले उमेर समूह छुट्याएर अनुसन्धान गरेका थिए ।

अध्ययनले बालबालिका र वृद्धवृद्धाहरूले कम भाइरस फैलाएको देखाएको छ । यसैलाई आधार मानेर अनुसन्धानकर्ताहरूले युवा जनसंख्यालाई नियन्त्रण गरी विद्यालय खोल्दा कुनै समस्या नहुने सुझाब पनि दिएका छन् । ‘यो अध्ययनले यस्तो प्रमाण दिएको छ कि सन् २०२० मा अमेरिकामा कोरोना भाइरसको यो रुप सिर्जना हुनुमा २० देखि ४९ वर्षका वयस्क युवा जिम्मेवार देखिएका छन्,’ जर्नल साइन्समा प्रकाशित रिपोर्टमा भनिएको छ, ‘विशेष गरी ३५ देखि ४९ वर्ष उमेर समूहका युवाहरूले बढी फैलाएको देखिएको छ ।’

अध्ययनले अमेरिकामा गत अक्टोबरमा विद्यालय खुलेपछि यो समूहका वयस्क युवाहरूले ७२.२ प्रतिशत सार्स कोभ–२ संक्रमण फैलाएको देखाएको छ । नौ वर्षसम्मका बालबालिकाले पाँच प्रतिशतभन्दा कम संक्रमण फैलाएको देखिएको छ । यस्तै, १० देखि १९ वर्षका टिनएजरहरूले १० प्रतिशतभन्दा कम संक्रमण फैलाएको अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार ३५ देखि ४९ वर्ष उमेर समूहका वयस्क युवा अमेरिकामा संक्रमण यो स्तरमा फैलाउन मुख्य जिम्मेवार देखिएको छ । ‘पछिल्लो समय कन्ट्याक्ट प्याटर्नस परिवर्तित देखिएको छ,’ अध्ययन टोलीमा सहभागी ओलिभर राटमान भन्छन्, ‘संक्रमण रोक्न पनि यो उमेर समूहका व्यक्तिहरूमाथि ध्यान दिन आवश्यक देखिएको छ ।’

अध्ययनको निष्कर्ष छ कि अगस्टको मध्यदेखि यता भएको ४१ प्रतिशत संक्रमण ३५ देखि ४९ वर्ष उमेर समूहका व्यक्तिले फैलाएका छन् । यस्तै, २० देखि ३४ वर्ष उमेर समूहका व्यक्तिहरूले थप ३५ प्रतिशत संक्रमण फैलाएको छ ।

भ्याक्सिनेसनमा युवाहरूलाई प्राथमिकता दिन सुझाब
अनुसन्धानकर्ताहरूले भाइरस संक्रमण फैलनबाट रोक्न २० देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरूमा ध्यान दिनुपर्ने सुझाब दिएका छन् । यसको अर्थ आमभ्याक्सिनेसनमा पनि यो उमेर समूहका व्यक्तिहरूलाई प्राथमित दिनुपर्ने सुझाब उनीहरूको छ ।

यद्यपि, अहिले सबैलाई पुग्ने पर्याप्त भ्याक्सिन नै उपलव्ध छैन । अमेरिकी केन्द्र सरकारले प्रदेश र स्थानीय संयन्त्रसँग मिलेर भ्याक्सिनेसनको कार्यलाई अघि बढाइरहेको छ । त्यसका लागि उनीहरूले यो संकटको समयमा अग्रपङ्ति खटिएकाहरू र वृद्धवृद्धाहरूलाई प्राथमिता दिएका छन् । अघिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्प र हालका राष्ट्रपति जो बाइडेनले पनि भ्याक्सिनेसनका लागि यही प्राथमितालाई निरन्तरता दिएका छन् । उनीहरूले ६५ वर्षभन्दा माथिका वृद्धवृद्धाहरूलाई भ्याक्सिन लगाइरहेका छन् ।

अमेरिकाको एलर्जी र संक्रामक रोग नियन्त्रण केन्द्रका निर्देशक डा. एन्थोनी फउसीले पनि मंगलबार युवाहरूले संक्रमण अझ द्रुत बनाइरहेको जनाएका छन् । यद्यपि, युवाहरूलाई तत्काल भ्याक्सिन लगाउन सुरु गरिने सम्भावना नरहेको उनले बताएका छन् ।