मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ १५ बिहीबार १७:०५:००
Read Time : > 2 मिनेट
फिचर

अस्ट्रेलियामा लकडाउन खोल्ने तयारी

Read Time : > 2 मिनेट
२०७७ माघ १५ बिहीबार १७:०५:००

अस्ट्रेलियन सरकारले डिसेम्बरदेखि लगाएको लकडाउन खुलाउने तयारी गरेको छ । क्रिसमस मनाएपछि एकै दिन एक सय ८० व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सरकारले विभिन्न राज्यमा लकडाउन जारी गरेको थियो ।

न्यु साउथ वेल्स राज्यले विभिन्न मापदण्ड बनाएर सोहीअनुसार लकडाउन खुला गर्न लागेको बिबिसीले जनाएको छ । एक महिनाभित्र संक्रमित तथा कोभिड– १९ नियन्त्रणमा आएपछि लकडाउन खुलाउन लागेको स्थानीय प्रशासनले जनाएको छ । पछिल्लो ११ दिनयता न्यु साउथ वेल्स राज्यमा एकजनामा पनि संक्रमण देखिएको छैन । ‘न्यु साउथ वेल्सले कोरोनाविरुद्ध उत्कृष्ट काम ग¥यो, क्रिसमसपछि भयावह रूप लिने आकलन गर्दै लकडाउन जारी गरिएको थियो । अब सबै प्रतिबन्ध हटाउने तयारी भइरहेको छ,’ क्विन्सल्यान्डका अनास्टासिया पालाज्कुकले भने । कोरोना भाइरसले महामारीको रूपमा लिएपछि अस्ट्रेलियामा अहिलेसम्म २२ हजार व्यक्ति संक्रमित भएका छन् । जसमध्ये नौ सय नौजनाले ज्यान गुमाएका छन् । अस्ट्रेलियन सरकारका अनुसार अन्य राष्ट्रका तुलनामा अस्ट्रेलियामा कोभिड– १९ निकै कम मात्रामा फैलिएको छ । 

सरकारले संक्रमित संख्या एकैपटक बढेपछि नागरिकलाई सुसूचित गराउने तथा लकडाउन घोषणासम्मको नीति लिएको थियो । सोही कारण अस्ट्रेलियामा तुलनात्मक रूपमा संक्रमित कम भएका हुन् । यसै महिनाको पहिलो साताको तीन दिनभित्र क्विन्सल्यान्डको राजधानी ब्रिस्वनमा एक व्यक्ति मात्र संक्रमित भएका थिए । अस्ट्रेलियाले यसै साता छिमेकी राष्ट्र न्युजिल्यान्डमा यात्रा गर्नसमेत अनुमति दिएको छ । 

लकडाउन खुला हुनेबित्तिकै अस्ट्रेलियनमा बिदा मनाउन न्युजिल्यान्ड जानेको भिड लाग्छ । यहीकारण यसअघि पनि संक्रमित बढेका थिए । यता न्यु साउथ वेल्सका ग्लाड्स बेरेजिक्लिनले लकडाउन खुला हुने समाचारसँगै सर्वसाधारणमा खुसी छाएको बताएकी छिन् । ‘मलाई लाग्छ, यो निर्णयसँगै धेरै सर्वसाधारणमा खुसी छाउनेछ, घरमै बसिरहँदाको पीडा उनीहरूले खुला वातावरणमा मेटाउनेछन्,’ बेरेजिक्लिनले भनिन् । 

यद्यपि केही राज्यका बोर्डरमा त्यति धेरै नियम पालना नगरेका कारण उनी अलि चिन्तित छिन् । ‘न्यु साउथ वेल्ससँग जोडिएका केही राज्यमा त्यति नियम पालना भएकोजस्तो लाग्दैन, यसले पछि समस्या ल्याउन सक्छ,’ उनले भनिन्, ‘अस्ट्रेलियामा कोरोना भाइरसको हट स्पटका रूपमा सिड्नीलाई चिनिन्छ, हामीहरूको राज्य त्योभन्दा धेरै टाढा छ, सिड्नीबाट केही डर मान्नुपर्ने अवस्था छैन ।’ 

गत डिसेम्बरमा तीव्र रूपमा संक्रमित बढेपछि तत्कालै लकडाउन घोषणा गरेको उनले बताइन् । अहिले अस्ट्रेलियाभित्रै कतिपय राज्यका नागरिक अर्को राज्यमा भ्रमण गर्दा कम्तीमा १४ दिनको क्वारेन्टिन बस्नुपर्छ । क्वारेन्टिनको नियम पूरा गरेपछि मात्र उनीहरूले यात्रा अनुमति पाउँछन् । 

सिड्नीमा शुक्रबारदेखि खुकुलो
यसैबीच सिड्नीमा शुक्रबारदेखि लकडाउन केही खुकुलो हुने भएको छ । यहाँका पसल वा डिपार्टमेन्ट स्टोरमा मास्क अनिवार्य हुने छैन । तर, सर्वसाधारणले यात्रा गर्ने यातायातका साधनमा भने मास्क अनिवार्य लगाउनुपर्नेछ । 

अस्ट्रेलियाका स्वास्थ्यमन्त्री जर्ज हन्टले १७ जनवरीदेखि एकजना पनि संक्रमित नभएको जानकारी दिएका छन् । विदेशबाट आएका एकजनामा मात्रै संक्रमण देखिएको उनले बताएका छन् । अहिले ती विदेशी नागरिक होटेलमा रहेको क्वारेन्टिनमा बसेका छन् । ‘यही समयमा विश्वमा कोरोना संक्रमित १० करोड नाघेका छन्, पछिल्लो २४ घन्टामा कोभिड– १९ बाट १७ हजारले ज्यान गुमाएका छन्,’ स्वास्थ्यमन्त्री हन्टले भने, ‘हामी त्यही डाटाअनुसार नयाँ नीति अपनाउने तयारीमा छौँ ।’

नयाँ भाइरसविरुद्ध सतर्क रहन सुझाब
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले बेलायतमा देखिएको नयाँ भाइरसविरुद्ध सबैै नागरिक सचेत रहन सूचित गरेको छ । गत महिना बेलायतमा नयाँ भाइरस देखिएको थियो । अहिलेसम्म यो भाइरस ७० राष्ट्रमा फैलिएको डब्ल्युएसओले जनाएको छ । डब्ल्युएचओले यो भाइरस कोभिड– १९ को तुलनामा डरलाग्दो रहेको पनि प्रस्ट्याएको छ । तीव्रगतिमा फैलिने भएकाले नयाँ भाइरसविरुद्ध सतर्क रहनुपर्ने डब्ल्युएचओले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । डब्ल्युएचओले नयाँ भाइरसलाई बी १.१.७ वा भ्याक ०१ नाम दिइएको छ । आश्चर्यजनक रूपमा बेलायत, डेनमार्क, आयरल्यान्ड र नेदरयान्डमा भने यो नयाँ भाइरस तीव्रतामा कमी आएको डब्ल्युएचओले जनाएको छ । दक्षिण अफ्रिकाको ३१ देशमा यो भाइरसका संक्रमित भेटिएका छन् । 

नयाँ वर्षमा १५ प्रतिशतले घटे कोरोना संक्रमित
नयाँ वर्ष सन् २०२१ सँगै कोरोना भाइरस संक्रमित संख्यामा १५ प्रतिशतले कमी आएको डब्ल्युएचओको जनाएको छ । 
‘कोभिड– १९ देखिएको वेलादेखि सन् २०२१ को जनवरी महिनामा संक्रमित संख्यामा १५ प्रतिशतले कमी आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो अहिलेसम्मकै राम्रो अवस्था हो ।’ 
अमरिकाको केन्द्रीय रोकथाम विभागका निर्देशक रोसेल वेलेस्कीले भ्याक्सिनपछिको सय दिनमा अमेरिकामा कोरोना संक्रमितमा नियन्त्रण आउने विश्वास व्यक्त गरेका छन् । 

इजरायलका ८२ प्रतिशत नागरिकले लगाए भ्याक्सिन
सिएनएनलाई दिएको एक अन्तर्वार्तामा उनले अमेरिकामा तत्कालै कोभिड– १९ नियन्त्रण हुन समय लाग्ने बताए । अमेरिकामा अहिलेसम्म एक करोड नागरिकले भ्याक्सिन लगाइसकेका छन् । यसैबीच इजरायलमा ८२ प्रतिशत नागरिकले भ्याक्सिन लगाएको जानकारी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दिएका छन् । इजरायलमा कम्तीमा पनि ९५ प्रतिशत नागरिकलाई भ्याक्सिन लगाउनुपर्ने उनले बताए । 
–एजेन्सीहरूको सहयोगमा