ट्याक्टर परेड : माग पूरा गराउने विश्वभरका किसानको साझा विरोध शैली

बुधबार, १४ माघ, २०७७
डिजिटल संस्करण

भारत सरकारले लागू गरेको किसानसम्बन्धी तीनवटा कानुन खारेजको माग राख्दै किसानहरूले दुई महिनादेखि लगातार विरोधका विभिन्न कार्यक्रम गर्दै आएका छन् । यही क्रममा गणतन्त्र दिवसको अवसरमा मंगलबार उनीहरूले विरोधस्वरूप नयाँदिल्लीमा ट्याक्टर परेड निकालेका थिए । उनीहरूले प्रतीकात्मक स्वरूपमा ट्याक्टर ऱ्याली निकालेको जनाएका हुन् । ऱ्यालीका क्रममा सुरक्षाकर्मी र आन्दोलनरत किसानबीच झडप हुँदा एकजनाको ज्यानसमेत गएको छ । 

सरकार र किसानबीच पटक–पटक वार्ता भए पनि त्यसको निष्कर्ष निस्केको छैन । पछिल्लो समय किसानहरूले राजधानी नयाँदिल्लीकेन्द्रित आन्दोलन गरिरहेका छन् ।
नयाँदिल्लीमा किसानरूले मंगलबार निकालेको ट्याक्टर परेड (ऱ्याली) विश्वकै पहिलो भने होइन । विकसित राष्ट्रका किसानहरूले समेत सरकारको विरोध जनाउन ट्याक्टर ऱ्याली निकाल्ने गरेका छन् । 

ट्याक्टर ऱ्यालीले ट्राफिक व्यवस्था अस्तव्यस्त हुने त भइहाल्यो सयौँ किलोमिटरसम्म जाम हुँदा सर्वसाधारणले सास्ती झेल्नुपरेका उदाहरण धेरै छन् । अघिल्लो वर्ष मात्रै पनि जर्मनीको राजधानी बर्लिनमा ४० हजार किसानले ट्याक्टर परेड निकालका थिए । यो अहिलेसम्मकै बृहत् ट्याक्टर परेड मानिँदै आएको छ । नेदरल्यान्ड्समा किसानहरूले ट्याक्टरको परेड निकालेका थिए । हेरौँ विश्वका केही विकसित राष्ट्रमा भएका ट्याक्टर ऱ्याली :–

नेदरल्यान्ड्समा दुई हजार किसानले हाइवे घेराउ
अक्टोबर २०१९ मा नेदरल्यान्ड्सका किसानले सरकारको नीतिको विरोध गर्दै ट्याक्टर परेड निकालेका थिए । सरकारले जारी गरेको केही नियम चित्त नबुझेको र तत्काल सच्याउन माग राख्दै किसानहरूले विरोधका विभिन्न कार्यक्रम आयोजना गरे । तर, सरकारले उनीहरूको माग सुनुवाइ गरेन । फलस्वरूप दुई हजार किसानले राजधानी जोड्ने मुख्य हाइवे (राजमार्ग)मै ट्याक्टरको लाइन लगाए । हाइवेमा ट्याक्टर रोकिँदा एक हजार किलोमिटरसम्म जाम भएको थियो । आन्दोलनकारी किसान र सुरक्षाकर्मीबीच झडप पनि भयो । 

पेरिसको मुख्य सडकमै ट्याक्टर

सन् २०१९ मै फ्रान्सका राष्ट्रपति इमान्युअलसमक्ष किसानहरूले विभिन्न माग राखेका थिए । उनीहरूको मागको सुनुवाइ भएन । किसानले सुरुमा सामान्य विरोध जनाएका थिए । यस्ता विरोध कार्यक्रमलाई राष्ट्रपतिले सुनुवाइ नगरेपछि किसानले पेरिसको अति नै व्यस्त सडकमा ट्याक्टर ऱ्याली निकालेका थिए । पेरिसको पूरै चक्रपथ ट्याक्टरले भरिएको थियो । घन्टौँसम्म ट्राफिक जाम भएको थियो । किसानहरू सडककिनारमै टेन्ट लगाएर बसेका थिए । साथै चिसोबाट बच्च उनीहरूले आगोसमेत बालेका थिए । यद्यपि, यस्तो विरोध कार्यक्रम भए पनि सरकार र किसानबीच खासै वार्ता हुन सकेन । 

बर्लिनमा ४० हजार किसानद्वारा ट्याक्टर प्रदर्शन

सन् २०१९ मा युरोपियन राष्ट्रका सरकार र किसानबीच असमझदारी बढेको थियो । सरकारले आम्दानी बढाउनका लागि किसानमाथि व्यापक कर लगाएको थियो । जर्मन सरकारले पनि यस्तै नीति अपनाएको थियो । सरकारले कृषिमाथि नयाँ नीति लागू गरेको विरोधमा किसानहरूले बर्लिन सहरमै ट्याक्टर ऱ्याली निकालेका थिए । नोभेम्बर २०१९ मा करिब ४० हजार किसानले बर्लिनको सडकमा आठ हजार ६ सय ट्याक्टर सडकमा निकालेका थिए । कार्यक्रम चलिरहँदा बर्लिनको दश किलोमिटर सडक पूरै अस्तव्यस्त भएको थियो । एक किसिमले पूरै बर्लिन सहर ठप्प भएको थियो । यहाँसम्म कि सडकमा हिँडने व्यक्ति पनि मुस्किलले गन्तव्यमा पुगेका थिए ।

बेल्जियमस्थित इयूको कार्यालय नै घेराउ

किसानले खेती गर्न आवश्यक मल तथा सामग्रीको मात्रा बढाउनुपर्ने मागसहित सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । सरकारले वार्षिक रूपमा प्रदान हुने ती सामग्री मात्र उपलब्ध गराउन सक्ने र किसानको मागबमोजिम कृषि सामग्री दिन नसक्ने सरकारले जवाफ दिएको थियो । तर, किसानले सरकारद्वारा दिइने रासायनिक मल पर्याप्त नभएको त्यसमा थप हुनुपर्ने अडान राखेका थिए । माग पूरा नभएमा सशक्त आन्दोलन हुने पनि किसानले चेतावनी दिएका थिए । फलस्वरूप फेब्रुअरी २०२० मा बेल्जियमको राजधानी ब्रसेल्समा किसानले सयभन्दा बढी ठुल्ठूला ट्याक्टर सडकमै प्रदर्शन गरे । उनीहरूले युरोपियन युनियनको मुख्य कार्यालय रहेको भवनसमेत घेरेका थिए । यस आन्दोलनमा साथ दिन आयरल्यान्ड, स्पेन तथा इटालीका किसानसमेत उपस्थिति भएका थिए । 

गाईको मासुको मूल्य बढाउन माग 
आयरल्यान्डमा सरकार र किसानबीचको आन्दोलनको मुद्दा अलि फरक थियो । किसानले सरकारद्वारा लागू गरेको नीति वा करसम्बन्धी विरोध जनाएनन् । उनीहरूले सरकारलाई गाईको मासु (बिफ)को मूल्य बढाउन दबाब दिन ट्याक्टर ऱ्याली निकालेका थिए । सरकारी मूल्यअनुसार ३.६० युरो प्रतिकिलोमा बिफ बेचबिखन हुने गर्थ्याे । तर, किसानले नयाँ मूल्यदर राख्दै प्रतिकेजी चार युरो हुनुपर्ने माग राखेका थिए । आयरल्यान्डको डब्लिनमा किसानले आफ्नो माग पूरा गराउन २४ घन्टा ट्याक्टर ऱ्याली निकालेको थियो । 
–एजेन्सीहरूको सहयोगमा 

सुझावित समाचार