मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ ४ आइतबार २०:३४:००
Read Time : > 2 मिनेट
फिचर

बाइडेनको शपथग्रहण : अधिकांश कार्यक्रम भर्चुअल, १२ सयजना मात्रै उपस्थित हुने

Read Time : > 2 मिनेट
२०७७ माघ ४ आइतबार २०:३४:००

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले २० जनवरीमा ४६औँ राष्ट्रपतिका रूपमा शपथग्रहण गर्दै छन् । ह्वाइटहाउसले हालै मात्र उनको शपथग्रहण कार्यक्रम कस्तो हुने भन्नेबारे सूचना सार्वजनिक गरेको छ । सूचनाअनुसार यसअघिका राष्ट्रपतिहरूको जस्तो यसपटक शपथग्रहण भड्किलो तथा भव्य हुने छैन । कार्यक्रममा बढीमा १२ सयजना मात्रै उपस्थित रहने डेमोक्रेटिक पार्टीले जनाएको छ । 

७०–८० प्रतिशत कार्यक्रम भर्चुअलमा
ह्वाइटहाउस र डेमोक्रेटिक पार्टीको भनाइअनुसार बाइडेनको शपथग्रहण कार्यक्रम ७०–८० प्रतिशत भर्चुअल नै हुनेछ । यसको तयारी सुरु भइसकेको डेमोक्रेटिक पार्टीका सांसद जेम्स क्लिबर्गले बताएका छन् । ‘हामी यसपटक लगभग ८० प्रतिशत शपथग्रहणका कार्यक्रम भर्चुअल माध्यमबाटै गर्छौँ,’ जेम्सले भने । यसअघि बाइडेनले पनि शपथ कार्यक्रम भिन्न हुने बताएका थिए । प्रत्येक राज्यको राजधानीमा फरक–फरक सांस्कृतिक कार्यक्रम हुनेछन् । कार्यक्रममा कोरोना भाइरस महामारीका वेला फ्रन्टलाइनमा रहेर काम गरेका र निधन भएका व्यक्तिहरूको स्मरण गरिनेछ । 

वासिङ्टन पोस्टमा अघिल्लोपटकको शपथग्रहण कार्यक्रममा दुवै सदनका सांसदलाई दुई लाख टिकट वा पास दिएको उल्लेख गरेको छ । जोसँग टिकट वा पास हुन्थ्यो, ती व्यक्ति सहजै शपथग्रहण कार्यक्रममा सहभागी हुन पाउँथे । कोभिड– १९ का कारण यसपटक हरेक सांसदले केवल दुईवटा मात्रै टिकट पाएका छन् । अब शपथका दिन प्रत्येक सांसदले आफूसँगै एक व्यक्ति मात्र पाहुनाका रूपमा ल्याउन सक्छन् । 

स्वास्थ्य प्रोटोकलमा विशेष ध्यान
वालस्ट्रिट जर्नलले शपथग्रहण कार्यक्रममा मुख्य गरी कोभिड– १९ बाट सुरक्षित रहन स्वास्थ्य प्रोटोकललाई विशेष ध्यान दिइएको जनाएको छ । कार्यक्रममा सहभागी पाहुना, पदाधिकारी तथा सांसदहरूले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने हुन्छ । यसको सबै जिम्मेवारी मेडिकल प्रमुख डाक्टर डेभिड केसलले लिएका छन् । प्र्रत्येक पाहुना स्यानिटाइज हुनुपर्ने, पन्जा लगाउनुपर्ने तथा ज्वारो नाप्नुपर्ने प्रावधान छ । कोभिडबाट सुरक्षित रहन सबै किसिमको प्रोटोकल अपनाइने डा. डेभिडले बताएका छन् । 

औपचारिक परेड भाषण
शपथग्रहण कार्यक्रमपछि राष्ट्रपति तथा उपराष्ट्रपति ‘पास इन रिभ्यु’मा सहभागी हुनेछन् । यो भनेको निकै सानो सैनिक परेडमा राष्ट्रपति तथा उपराष्ट्रपतिले भाग लिनु हो । यसअघिका राष्ट्रपतिको शपथग्रहण कार्यक्रममा सैनिक परेड हुँदा निर्वाचित राष्ट्रपतिले सत्ता हत्तान्तरण शान्तिपूर्ण रूपमा भएको सन्देश दिने प्रचलन थियो । यसपटक बाइडेनले यस्तो कुनै पनि कार्यक्रम सैनिक परेडमा नराखेको न्युयोर्क टाइम्सले जनाएको छ । 

सैनिक परेडपछि राष्ट्रपति बाइडेनले उद्घाटन समारोहमा भाषण गर्नेछन् । भाषणको क्रममा उनले आफूलाई जिताउने सबै समर्थक तथा मतदातालाई धन्यवाद दिनेछन् । साथै उनले आफ्नो कार्यकालमा अमेरिकी जनतासमक्ष सहयोगको अपिल गर्नेछन् । यसपछि बाइडेन क्यापिटल हिलबाट राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा जानेछन् । 

क्यापिटल हिल र ह्वाइटहाउसबीचको दूरी दुई किलोमिटरको छ । यदि कोरोना भाइरस महामारी नभएको भए यो दुई किलोमिटरभित्र पर्ने सबै सडकका दायाँबायाँ कम्तीमा तीन लाख अमेरिकनले बाइडेन ह्वाइटहाउस जाँदै गरेको दृश्य हेर्न सक्थे । सन् २००९ मा पहिलोपटक राष्ट्रपति हुँदा बाराक ओबामाको शपथग्रहण कार्यक्रम कीर्तिमानले भरिएका थिए । शपथग्रहण कार्यक्रममा २० लाख सर्वसाधारण सहभागी भएका थिए । सन् २०१७ मा डोनाल्ड ट्रम्पले शपथग्रहण गर्दा पनि ६ लाख सहभागी थिए । यसअघि शपथग्रहणकै दिन निवर्तमान राष्ट्रपति तथा फस्र्ट लेडीको सम्मान कार्यक्रम समावेश गरिन्थ्यो । तर, यसपटक राष्ट्रपति ट्रम्प नआउने भएपछि यो कार्यक्रम नहुने भएको छ । 

सुरक्षा व्यवस्था कडा
६ जनवरीमा क्यापिटल हिलमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गरेको हिंसात्मक गतिविधिपछि क्यापिटल हिलदेखि ह्वाइटहाउससम्म सुरक्षा व्यवस्था कडा पारेको वासिङ्टन पोस्टले उल्लेख गरेको छ । साथै त्यस दिन राजधानी वासिङ्टनमा थप विशेष सुरक्षा व्यवस्था हुनेछ । ६ हजार राष्ट्रिय सुरक्षाकर्मीसँग कुल १५ हजार सुरक्षा अधिकारी राजधानी वासिङ्टनको सुरक्षा गस्तीमा खटिनेछन् । 

के गर्न सक्छन् ट्रम्पले शपथग्रहणको दिन
ट्रम्पले निर्वाचनमा पराजित भएलगत्तै आफू शपथग्रहण कार्यक्रम (२० जनवरी) मा उपस्थित नहुने जनाएका थिए । अमेरिकी तथा विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूले ट्रम्पले २० जनवरीका दिन सम्भवतः फ्लोरिडामा एक ¥यालीको आयोजना गर्न सक्ने अनुमान गरेका छन् । यदि उनले ¥याली आयोजना गरेनन् भने उनी स्कटल्यान्डमा रहेको निजी गल्फ कोर्समा जान सक्छन् । यो दुईवटै नभए ट्रम्प निजी ७५७ बोइङ विमान लिएर फ्लोरिडास्थित मारएलेगो रिसोर्टमा जाने सम्भावना छ । 
–एजेन्सीहरूको सहयोगमा