१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
राष्ट्रपतिमा विजयी मुसेभेनी र प्रतिद्धन्द्धी बोबी वाइन ।
एजेन्सी युगान्डा
२०७७ माघ ४ आइतबार १४:५६:००
Read Time : > 1 मिनेट
फिचर

युगान्डामा मुसेभेनी छैटौँपटक राष्ट्रपति निर्वाचित

Read Time : > 1 मिनेट
एजेन्सी युगान्डा
२०७७ माघ ४ आइतबार १४:५६:००

युगान्डामा योवेरी मुसेभेनी छैटौँपटक राष्ट्रपति निर्वाचित भएका छन् । उनलाई आइतबार त्यहाँको निर्वाचन आयोगले राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको हो ।

मुसेभेनीले ५९ प्रतिशत मत प्राप्त गरेको जनाइएको छ । प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरूमध्ये ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेकाले उनलाई विजयी घोषणा गरिएको निर्वाचन आयोगले जनाएको छ । उनीसँगै युगान्डाको राष्ट्रपतिका लागि ११ जनाले प्रतिस्पर्धा गरेका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी बोबी वाइनले ३५ प्रतिशत मात्रै मत प्राप्त गरेका छन् ।

निर्वाचित भएपछि मुसेभेनीले निर्वाचन धाँधलीरहित सम्पन्न भएको जनाएका छन् । उनका प्रतिद्वन्द्वी बोबी वाइनले भने निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै धाँधली भएको प्रमाण चाँडै नै सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

मतदान सुरु हुनुअघि इन्टरनेट सेवा बन्द भएको थियो । यस विषयमा निर्वाचन पर्यवेक्षकहरूले पनि विरोध जनाइरहेका छन् । धेरै दिन निरन्तर इन्टरनेट सेवा बन्द गरिँदा मतदान र मतगणना निष्पक्ष भयो भन्ने कुरामा विश्वास गर्न नसकिएको पर्यवेक्षकहरूको भनाइ छ ।

विपक्षी उम्मेदवारहरूले भने आफूविरुद्ध राष्ट्रपति मुसेभेनीले सरकारी संयन्त्र प्रयोग गरेको आरोप लगाएका छन् । बोबी वाइनले आफू र श्रीमतीलाई सेनाले घरमै नजरबन्द गरेको जनाएका छन् । ‘मेरो घरमा भएका कसैलाई पनि बाहिर जान वा बाहिरबाट कसैलाई पनि भित्र आउन अनुमति दिइएको छैन,’ बोबी वाइनले भनेका छन्, ‘स्वदेशी वा विदेशी कुनै पनि पत्रकारलाई मसँग भेट्न दिएको छैन ।’ निर्वाचनको क्रममा एक दर्जन मानिसको मृत्यु भएको छ । 

मुसेभेनी अझै पाँच वर्ष सत्तामा रहने
विरोधबीच मुसेभेनीले फेरि युगान्डामा शासन गर्ने भएका छन् । उनी कम्तीमा ४० वर्षसम्म लगातार युगाण्डाको राष्ट्रपति बन्ने निश्चित भएको छ । ७६ वर्षीय मुसेभेनी सन् १९८६ देखि शक्तिमा छन् । उनले आफूले देशमा स्थायित्व कायम गरेको दाबी गर्दै आइरहेका छन् ।

निर्वाचनको सबै मतपरिणाम आएपछि निर्वाचन आयोगका अध्यक्ष सिमोन मुगेनी व्याबाकामाले उनी विजयी भएको घोषणा गरेका थिए । उनका अनुसार एक करोड ८० लाख मतदातामध्ये निर्वाचनमा ५७ प्रतिशतले मतदान गरेका थिए । 

उनले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको पनि दाबी गरे । धाँधली भएको दाबी गर्ने उम्मेदवार बोबी वाइनलाई प्रमाण पेस गर्न पनि उनले आग्रह गरेका छन् । बोबी वाइनले इन्टरनेट सेवा पुनः सुरु भएपछि आफूले निर्वाचनमा धाँधली भएको प्रमाण प्रस्तुत गर्ने जनाएका छन् । राष्ट्रपति मुसेभेनीले पनि निर्वाचनमा कुनै धाँधली नभएको जनाए । उनले भनेका छन्, ‘मेसिनबाट मतदात गर्ने व्यवस्था गरिएकाले छलकपट गर्ने कुनै सम्भावना नै रहेन ।’ 

इन्टरनेट सेवा बन्द गरिएपछि निर्वाचनको पर्यवेक्षण गरेको युरोपियन युनियन, संयुक्त राष्ट्रसंघ र धेरै मानव अधिकारसम्बन्धी समूहले चासो व्यक्त गरेका छन् । निर्वाचनको समयमा भने अफ्रिकी युनियन मिसनबाहेक अरू कुनै पनि ठूला पर्यवेक्षक नपुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।