मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ माघ २ शुक्रबार ०९:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णालीवासीले यसरी मनाए ‘छोरा’ तिहार

Read Time : < 1 मिनेट
२०७७ माघ २ शुक्रबार ०९:२८:००

भाइतिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले छोरातिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरातिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशका जुम्ला, डोल्पालगायतका जिल्लाका सर्वसाधारणहरूले धुमधामका साथ मनाएका हुन् ।

शुक्रबार बिहानै नुवाइधुवाई गरेर छोराहरूले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ । भाइटीकाजस्तै छोरातिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनको रूपमा घरमै बनाइएको सेलरोटी, फिनिरोटी, चिनीरोटीजस्ता परिकारहरूसहित छोरालाई टीका लगाउने प्रचलन छ ।

टीकासँगै छोरालाई दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिने गरिन्छ ।छोराले पनि आमालाई दक्षिणाको रूपमा आफूसक्दो पैसा, कपडालगायतका खानेकुरा दिएर टीका थाप्ने गरिन्छ । आमाको हातबाट टीका थाप्नका लागि जिल्लाबाहिर पुगेका छोराहरू पनि सोहि दिन घर पुग्ने गर्दछन् ।

कुनै काम विशेषले घर पुग्न नसक्ने छोराहरूले टेलिफोनबाटै भए पनि आशीर्वाद लिने र आमाले पनि छोराका लागि बनाएको कोसेली राखिदिने गरिन्छ । छोरातिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुष जम्मा भई प्रत्येक घर–घर तथा गाउँ बस्तीहरूमा पुगेर भाइटीकामा देउसी भनेजस्तै भैलो खेल्ने प्रचलन छ ।

यसरी भैलो खेलेर उठेको रकमबाट धारा, पँधेरा, बाटोलगायतका सार्वजनिक सम्पदा मर्मत सम्भार गरिन्छ भने बचेको रकमबाट वनभोज जाने कार्यक्रम छ ।आजको दिनमा महिला पनि सार्वजनिक स्थलहरूमा भेला भएर चुट्किला र देउडा खेलेर रमाइलो गर्ने र एक–अर्काको पिर–व्यथा साटासाट गर्छन् । 

छोरातिहार कर्णालीमा बाहेक अन्त मनाउने प्रचलन नरहेको त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीय रमानन्द उपाध्यायले बताए । भाइतिहारमा खेलिनेलाई देउसी र छोरातिहारमा खेलिनेलाई भैलो भनिने गरेको उनले उल्लेख गरे ।