१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १० शुक्रबार १९:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राज्यमन्त्री रामवीर मानन्धरले लामो समय गीत गाएर रेकर्ड राखे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १० शुक्रबार १९:०४:००

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्वरेकर्ड कायम गरेका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन सुरु गरेका राज्यमन्त्री मानन्धरले लगातार चार घन्टा पाँच मिनेट २० सेकेन्ड समय गीत गाएर  विश्वरेकर्ड कायम गरेका हुन् । 

उनले ५९ वटा गीत गाएका थिए । बालाजुस्थित अष्टनारायण चलचित्र हलमा विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्वरेकर्ड कायम गरेका हुन् । मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्वरेकर्ड कायम गरेका छन् । 

राज्यमन्त्री मानन्धरले सबै गीतहरूको रोयल्टीसमेत तिरेर आफूले गीत गाएको बताए । कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरू गाएका थिए । 

नारायणगोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामालगायतले गाएको गीतको ट्रयाकमा मन्त्री मानन्धरले गाएका थिए । 

कार्यक्रममा मन्त्री मानन्धरले नेपालको कला र संगीत विश्वलाई चिनाउने प्रयास गरिएको बताए । कार्यक्रममा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले राजनीति र गायन सँगसँगै अगाडि बढाउन सफल भएकोमा मन्त्री मानन्धरलाई बधाई दिएकी थिइन् । 

शाक्यले देशको राजनीतिक अवस्थामा  केही बदलाव आए पनि जिम्मेवार रूपमा मन्त्रीहरूले जनताको विकासको चाहना पूरा गर्न लागेको बताए । 

सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्री मानन्धरको प्रयासले नेपाललाई विश्वमा थप पहिचान दिने विश्वास व्यक्त गरे । 

आयोजक संस्थाका नेपाल अध्यक्ष सागर कटुवालले मन्त्री मानन्धर यो विधामा गीत गाउने विश्वकै पहिलो मन्त्री भएको बताए ।