१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १० शुक्रबार १६:३५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

क्युआर कोडमार्फत देशभरका तरकारी बजारमा तरकारी खरिद गर्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १० शुक्रबार १६:३५:००

नेपाल राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्युआर कोडमार्फत भुक्तानी गर्ने अभियानको सुरुवात गरेको छ । 

डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवर्द्धन गर्न राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्युआर कोडको प्रयोग गर्ने अभियान सुरु गरेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । 

शुक्रबार काठमाडौंको नक्साल तरकारी बजारमा रहेका पसलहरूमा क्युआर कोडबाट भुक्तानीको सुरुवात गर्न आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले देशैभरका तरकारी बजारमा क्युआर कोडको प्रयोगलाई प्रोत्साहन गरिने बताए  । 

नगदको चलनचल्तीबाट कोभिड– १९ संक्रमण जोखिमको डर भएकोले क्युआर कोडबाट भुक्तानी गर्ने अभियान सञ्चालन गरिएको पनि बताए । 

कोभिड– १९ संक्रमणको जोखिम बढेसँगै अहिले क्युआर कोडको प्रयोगकर्ताहरू मासिक रूपमा २० प्रतिशतले बढेको गभर्नर अधिकारीले बताए । 

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले क्युआर कोडबाट भुक्तानी गरी डिजिटल कारोबारलाई प्रोत्साहन गर्दा बैंकहरूको खर्च घट्ने बताए । 

ब्रिक बैंकिङको लागत क्लिक बैंकिङको भन्दा धेरै नै महँगो भएकाले बैंकहरूले क्युआर कोडबाट भुक्तानी बढाउन प्रोत्साहन गर्नुपर्ने दाहालले बताए । 

त्यसका लागि बैंकहरूले डिजिटल पूर्वाधार र सुरक्षामा अझ बढी लगानी बढाउनुपर्ने पनि सिइओ दाहालले बताए । 

नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले फलफूल तथा तरकारी खरिद गर्दा क्युआर कोडबाट बिल भुक्तानी गरी कार्यक्रमको थालनी गरेका हुन् । 

डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका विक्रेताहरूलाई निःशुल्क क्युआर कोड वितरण गरेको थियो ।