१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर २९ सोमबार ११:३३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तामझामसहित सिराहा अस्पतालमा पिसिआर प्रयोगशालाकाे उद्घाटन 

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर २९ सोमबार ११:३३:००

तामझामसहित जिल्ला अस्पताल सिराहामा पिसिआर प्रयोगशालाको उद्घाटन गरिएको छ । पिसिआर मेसिनको जडान गरिएको प्रयोगशालाको उद्घाटन प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले गरेका छन् ।

कोरोना भाइरसको परीक्षण गर्न उद्देश्यले सिराहा अस्पतालमा सामाजिक विकास मन्त्रालयले एक सेट पिसिआर मेसिन पठाएपछि प्रयोगशाला स्थापना गरिएको छ । 

एक लटमा ९० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्न सकिने क्षमताको अमेरिकन बायोयार्ड कम्पनीको अत्याधुनिक मेसिन भएको पिसिआर प्रयोगशाला सिराहाका इन्चार्ज (ल्याब टेक्नोलोजिस्ट) सञ्जय साहले बताए । 

उक्त मेसिन जडान गरी प्रयोगशालाको उद्घाटन गरिए पनि जनशक्ति आपूर्ति हुन केही समय लाग्ने अस्पतालले जनाएकाे छ ।  

पिसिआर प्रयोगशाला सञ्चालन गर्न विभिन्न तहका १३ जना जनशक्ति आवश्यक भएकोले अहिले उद्घाटन मात्र गरिएको सामाजिक विकासमन्त्री नवलकिशोर साहले बताए ।

पिसिआर प्रयोगशालाका लागि आवश्यक जनशक्तिको व्यवस्थापनमा प्रदेश सरकार जुटेकोले केही दिनभित्रै दक्ष जनशक्ति परिचालन गरी प्रयोगशालाबाट परीक्षण कार्य सुरु हुने मन्त्री साहले बताए ।

पिसिआर मेसिन जडान गरिएको प्रयोगशाला उद्घाटन गर्न सामाजिक विकास मन्त्री साह, सामाजिक विकास मन्त्रालयका सचिव, प्रदेश २ का स्वास्थ्य निर्देशकलगायतका टोली सहभागी थिए ।

पिसिआर प्रयोगशाला उद्घाटन गर्न सहभागी मन्त्री साहसहितका टोलीलाई सिराहा नगरपालिकाका मेयर अशेश्वरप्रसाद यादवले दोसल्ला र गम्छा ओढाएर सम्मान गरेका थिए। 

१३ जनाको जनशक्ति आवश्यक

पिसिआर प्रयोगशालामा स्वाब संकलन, जाँच्ने र रिपोर्ट तयार गर्ने गरी १३ जना जनशक्तिकाे आवश्यकता छ ।

ल्याब टेक्नोलोजिस्ट ६ जना, ल्याब टेक्निसियन दुईजना, ल्याब असिस्टेन्ट दुईजना, एक–एकजना कम्पुटर अपरेटर, कार्यालय सहयोगी र स्विपरको आवश्यकता रहेको ल्याब टेक्नोलोजिस्ट साहले बताए ।

जिल्ला अस्पताल सिराहा प्रदेश सरकारको मातहतमा भएकोले प्रयोगशालाको सञ्चालन र व्यवस्थापनको जिम्मा सामाजिक विकास मन्त्रालय गरिने भएको छ ।