मनाङको मनाङ ङिस्याङ गाउँपालिका– ८ टंकी मनाङकी माया गुरुङ यस वर्ष जाडो छल्न सहर झरिनन् ।
गत वर्ष यही समयमा मनाङमा जाडो बढेपछि घर कुरुवालाई घर कुर्न राखेर जाडो छल्न तीन महिनाको लागि सहर झरेकी मायालाई यस वर्ष भने कोरोनाले रोकिदिएको छ ।
उनी भन्छिन्, ‘गत वर्ष यही समयमा चिसो बढेपछि जाडो छल्न काठमाडाैं पुगेँ, यसपालि कोरोनाको जोखिम बढेकाले गाउँमै बसेकी छु ।’
विगतका वर्षहरूमा मंसिरको सुरुवातसँगै जाडो छल्न न्यानो क्षेत्रतर्फ लाग्ने मनाङीहरू यस वर्ष भने मंसिर अन्तिम सातासम्म पनि तल झरेका छैनन् ।
मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले यस वर्ष कोरोना जोखिमलाई ध्यानमा राखेर धेरै स्थानीयले जिल्ला नछाड्ने सोच बनाएकाे बताए ।
उनका अनुसार विगतका वर्षमा यो समयसम्म माथिल्लो मनाङका अधिकांश मानिस बेँसी झरे पनि अहिले भने दुई–चार घर मात्र जाडो छल्न बेँसी झरेका छन् ।
विगतका वर्ष जाडो बढेपछि उनीहरू मात्रै होइन, चारवटा गाउँपालिका रहेको मनाङका अधिकांश स्थानीय तीन महिनाका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा र अन्य खर्च लिएर बेँसी झर्ने गर्थे ।
‘माथिल्लो मनाङमा धेरै जाडो हुन थालेपछि पुसदेखि फागुनसम्मका लागि सहर झर्ने मनाङीहरू यस वर्ष भने कोरोनाको जोखिमले मंसिर अन्तिममा पनि जाडो छल्न सहर झरेका छैनन्,’ चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले भने ।
मनाङका स्थानीयको लमजुङको बेसीसहर, चितवन, पोखरा, काठमाडाैंलगायतका स्थानमा अर्को घर छ, उनी मनाङमा भएको घरलाई घर कुरुवाको जिम्मा लगाएर तल झर्ने गर्थे ।
घरमालिकहरू तल झरेपछि घर कुरुवाहरू घरको सुरक्षा गरेर बस्ने मनाङको पहिल्यैदेखिको चलन पनि हो ।
जाडो समयमा हिमपात पर्दा घरमा आएको हिउँ काटेर फाल्न र पन्छाउनका लागि घर कुरुवा राख्ने चलन छ ।
विगतका वर्षहरूमा मनाङका चारवटा गाउँपालिकाका स्थानीयमध्ये ५० प्रतिशत जनसंख्या जाडो छल्न काठमाडौं, पोखरा, चितवन, लमजुङ झर्ने गर्थे, यस वर्ष कोरोनाका कारण गाउँमै सुरक्षित ठान्दै मनाङका अधिकांश स्थानीय मनाङमै बस्ने सोचमा छन् ।
सशस्त्र प्रहरीका डिएसपी होमनाथ पन्थीका अनुसार मनाङमा चिसो बढेसँगै रातको समय तापक्रम माइनस ७ देखि ९ डिग्री सेल्सियससम्म झरेको छ ।