१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
सुदर्शन पौडेल
२o८१ बैशाख १८ मंगलबार o८:४१:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

प्राथमिक उपचार : जीवनदानको कला

Read Time : > 5 मिनेट
सुदर्शन पौडेल
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:४१:oo

प्राथमिक उपचारको सहयोगमा तीनचौथाइ आकस्मिक दुर्घटना वा बिरामीको अवस्थामा उल्लेख्य योगदान गर्न सकिन्छ

तपाईं घुम्न निस्कनुभएको छ, बाटोमा मानिस बेहोस भएर लडेको देख्नुभयो, तपाईं के गर्नुहुन्छ ? बाटोमा मोटरबाइक दुर्घटनामा परी गम्भीर चोटपटक लागेको युवालाई देख्नुभयो, तपाईं के गर्नुहुन्छ ? परिवारको वृद्ध सदस्य घाँटीमा खाना अड्किएर बेहोस हुनुभयो वा आगो वा तातो पानीले पोलेर बच्चा छटपटाइरहँदा तपाईं के गर्नुहुन्छ ? घटनाको मूकदर्शक हुने कि केही मद्दत गर्ने ? अझ तपाईंको आँखाअगाडि नै त्यस्ता व्यक्तिको मृत्यु भयो भने कस्तो लाग्छ ? कतै यस्तो अवस्थामा केही गर्न नसक्दा तपाईंलाई पश्चाताप र ग्लानि भएको पो छ कि ? त्यसैले आकस्मिक रूपमा पर्न सक्ने यस्ता जीवनरक्षाका कैयौँ आधारभूत ज्ञान र सीप हरेक नागरिकले जान्नुपर्दछ । यस तथ्यलाई विश्वव्यापी बनाउने अभिप्रायले हरेक वर्ष सेप्टेम्बरको दोस्रो शनिबारलाई प्राथमिक उपचार दिवसको रूपमा मनाइन्छ । 

प्राथमिक उपचारको सहयोगमा तीनचौथाइ आकस्मिक दुर्घटना वा बिरामीको अवस्थामा जीवनरक्षामा उल्लेख्य योगदान गर्न सकिन्छ भन्ने तथ्य अध्ययनहरूले देखाएका छन् । प्राथमिक उपचारको तालिमलाई जनस्वास्थ्यको कार्यक्रमको रूपमा सञ्चालन गरेका एसियाका देशहरूको अध्ययनअनुसार सडक दुर्घटनामा परेका गम्भीर घाइतेमध्ये करिब चालीस प्रतिशतलाई घटनास्थलमा उपस्थित व्यक्तिहरूले नै प्राथमिक उपचार उपलब्ध गराएका थिए । यो नतिजा आफैँमा उत्साहजनक हो । यसबाट नेपाललगायत अन्य देशहरूले पनि पाठ सिक्न सक्छन् । नेपाल रेडक्रस सोसाइटीले विभिन्न उमेरसमूह र पेसा व्यवसायका मानिसलाई लक्षित गरी तालिम सञ्चालन गर्दछ । त्यस्तो तालिम पाउनेले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेका पनि केही राम्रा उदाहरण छन् । यस्तो अवस्थामा हरेक सेकेन्ड वा मिनेटको महत्व हुने भएको हुँदा अस्पताल पुर्‍याउनु वा स्वास्थ्यकर्मीको प्रतीक्षा गर्नु जीवनरक्षाका लागि निकै ढिला हुन सक्छ । प्राथमिक उपचारले जीवनरक्षामा मद्दत मिल्नुका अलावा निको हुने क्रमलाई छिटोछरितो, आर्थिक रूपमा समेत निकै मितव्ययी हुन्छ । धेरैभन्दा धेरै व्यक्ति यस्तो सीपको बारेमा जानकार भए भने देशको जनस्वास्थ्यलाई कम खर्चमा बलियो बनाउन योगदान मिल्दछ ।

नेपालमा प्राथमिक उपचार : प्राथमिक उपचार नेपाल रेडक्रस सोसाइटीको मुख्य काम हो । यसका लागि ०६० सालदेखि निरन्तर नीति तथा सञ्चालन निर्देशिका बनाएर काम हुँदै आएको छ । हालसम्म करिब ३० हजार व्यक्तिले प्राथमिक उपचार तालिम लिएका छन् । दशक लामो जनयुद्ध र दोस्रो जनआन्दोलनमा करिब एक लाखले यस्तो सेवा पाएका छन् । यस्तो तालिमको अवधि साधारणतया दुई दिनको हुने गरेको छ । त्यसका अलावा सोसाइटीले प्राथमिक उपचारका सामग्रीहरू जस्तै आवश्यक (सन्दर्भ) सामग्रीसहितको ब्याग, मेनिक्विन आदिको बजारीकरण पनि गर्दै आएको छ । यस्तो तालिम विभिन्न समूहलाई लक्षित गरी तयार गरिएको छ, जस्तो– आधारभूत तालिम, स्कुललक्षित, विशिष्ट तालिम, आपत्कालीन तथा सडक सुरक्षा (दुर्घटनाको क्षति न्यूनीकरण)मा लक्षित भएको पाइन्छ । 

नेपालका अधिकांश खेतीकिसान, निर्माण व्यवसायमा संलग्न मजदुर, यातायातसँग सम्बद्ध मानिस, पैदलयात्री, उद्योग कलकारखानामा कार्यरत व्यक्तिहरू दुर्घटनामा परेका समाचार हरेक दिन आइरहन्छन् । यस्तो अवस्थामा घाउचोट वा बिरामीको अवस्थाको राम्रो मूल्यांकन गरी घाउचोटको सफाइ गर्ने, मलमपट्टी गर्ने, मर्केको वा भाँचिएको भएमा सावधानीपूर्वक काम्रो बाँधिदिन सक्दा निकै राम्रो हुन्छ । रगत निकै बगेको अवस्थामा चोट लागेको अंगलाई शरीरभन्दा माथि पारेर राख्ने, आगो वा तातो पदार्थले पोलेको घाउमा धाराको पानी (वा भाँडोमा संकलन गरेको पानीलाई) धारो पारेर १५–२० मिनेट (वा दुखाइ कम नभइन्जेल) निरन्तर राखिदिन सक्दा ठूलो क्षति हुनबाट जोगाउँछ । 

हाम्रा घर समाजमा वृद्धहरू गल लागेर (श्वासनली बन्द हुने) निकै गम्भीर अवस्था भएमा तुरुन्त उहाँहरूको शरीरको पछाडि टाँसिएर सकभर सोझो पारी राख्नुपर्दछ । क्रमशः चिउँडोमा हल्का बल दिई घाँटीलाई ठाडो पारिदिनु पर्दछ । यो अवस्था साधारणतया घाँटीका मांसपेशीमा कडापन आएको कारण हुने भएको हुँदा कुमदेखि हल्लाउने वा सानो बलले थमथमाउने गर्दा पनि जाती हुन सक्दछ । 

देशभर करिब ५२ हजारको हाराहारीमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्राथमिक उपचार तालिम तथा सन्दर्भ सामग्रीहरूसमेत उपलब्ध गराउन सक्दा कैयौँ गम्भीर दुर्घटना वा भवितव्यबाट भएका बिरामीले सहज प्राथमिक उपचार पाउन सक्छन् 

प्राथमिक उपचार के हो ? : दुर्घटना जहाँ र जहिले पनि हुन सक्दछ । प्राथमिक उपचार भनेको (गम्भीर) दुर्घटनामा परेका व्यक्तिलाई उसको समस्याको सही आकलन गरी त्यसको निदानका लागि तुरुन्तै प्रदान गरिने सेवा हो । यसअन्तर्गत घटनास्थलको आकलन, प्रभावित व्यक्तिको आकलन, श्वासनली वा खानानलीमा अवरुद्ध भएको व्यवस्थापन, अवरुद्ध वा अनियन्त्रित भएको मुटुको क्रियाकलाप पुनः नियमित गर्ने, गम्भीर रक्तपात नियन्त्रण, मानसिक आघात (सक) व्यवस्थापन, मेरुदण्डको चोट व्यवस्थापनदेखि (अर्ध)मूच्र्छित अवस्थाका व्यक्तिलाई होसमा ल्याउने कामहरू पर्दछन् । यसका अलावा दुर्घटना वा चोटपटकका कारण आकस्मिक सेवाको आवश्यकता पर्ने घाउको आकलन, बिरामीको अवस्था, घाउमा मलमपट्टी गर्नेदेखि चोट लागेको वा टुक्रेको हड्डीलाई जोडेर काम्रो बाँध्ने आदि सीप प्रदान गरिन्छ । यस्तो प्रकृतिको सेवाका लागि उच्च दक्ष जनशक्तिको आवश्यकता पर्दैन । यस सम्बन्धमा तालिमप्राप्त वा अनुभवी व्यक्तिले सेवा प्रदान गर्न सक्दछन् । यस्तो सेवाको उद्देश्य तीनवटा हुन्छन् ः जीवनरक्षा, थप जोखिम बढ्न नदिनु र निको पार्नु । यस्ता जीवनोपयोगी कलाका बारेमा राम्रो ज्ञान हुँदा दुर्घटनाको अवस्थामा आफू स्वयं, परिवार, छिमेकीदेखि अपरिचित व्यक्तिको स्वास्थ्य रक्षा गर्न वा ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ । 

प्राथमिक उपचार कला : प्राथमिक उपचार मानवीय संवेदनासँग सरोकारको विषय भएको हुँदा यस्तो कला सिक्न दक्ष प्रशिक्षकको आवश्यकता अपेक्षित हुन्छ । कतिपय सीप स्वअध्ययन वा भिडियो हेरेर पनि सिक्न सकिन्छ । यसका लागि पहिलो महत्वपूर्ण सीप घटनास्थल र बिरामीको अवस्थाको सूक्ष्म अध्ययन गर्नु हो । बिरामीको अवस्था गम्भीर भएमा नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीलाई खबर गर्ने, एम्बुलेन्सको बन्दोबस्त मिलाउनुका साथसाथै साधारण प्राथमिक उपचार थालनी गर्नुपर्दछ । बिरामीलाई राख्ने तरिका, प्राथमिक उपचारकर्ता, तुरुन्तै स्थानीयस्तरमा उपलब्ध हुन सक्ने स्रोत सामग्रीको पहिचान (अधिकतम उपयोग), वातावरणीय तयारी आदिबारेमा जति सक्दो राम्रो ध्यान दिनुपर्दछ । 

प्राथमिक उपचार कलाका विविध पाटाहरू हुन्छन् । आधारभूत रूपमा स्वास्थ्य प्रवद्र्धन र संरक्षण गर्ने सरल ज्ञान सीप विकास गर्नेदेखि कतिपय अवस्थामा गम्भीर दुर्घटनामा परी मुटुले काम नगरेको अवस्थाका व्यक्तिलाई कार्डियोपल्मनरी रिसक्टेसन (सिपिआर)को माध्यमबाट पुनर्जीवन दिन सकिन्छ । यो विधिले मुटुलाई पुनः सञ्चालन गर्न मद्दत मिल्दछ । साधारण चोटपटक लाग्दा घाउको सफाइ गर्ने, मलमपट्टी गर्ने, श्वासनलीमा केही चिज अड्किएर अचेत वा असहज भएको अवस्थामा सुरक्षित तरिकाबाट त्यस्तो अवरोध हटाउने, हड्डीहरू टुटफुट अंगभंग भएका, जलेका, विषाक्त पदार्थको गम्भीर असर देखिएका आदि व्यक्तिलाई (चिकित्सकीय सेवा आवश्यक पर्ने अवस्थामा) पर्याप्त सुरक्षाका सावधानी अपनाउँदै सुरक्षित रूपमा उपचारका लागि अस्पतालसम्म पु¥याउन मद्दत गर्न सकिन्छ । 

मलाई डेढ दशकअघि रेडक्रश सोसाइटीबाट यस्तै तालिम लिने मौका मिलेको थियो । यो ज्ञान विभिन्न समयमा उपयोगी पनि भयो । पछिल्लोपटक गत पुसमा विदेशबाट काठमाडौं फर्किंदै गर्दा प्लेनमा असावधानीका कारण आमाको हातबाट तातो कफी काखमा रहेको शिशुको शरीरमा पोखियो । यस्तो अवस्थामा उक्त प्लेनको क्रु–टिमबाट कोही स्वास्थ्यकर्मी भए सहयोग गरिदिन आग्रह भयो । कोही व्यक्ति पनि उपलब्ध नभएका कारण मैले विमान परिचारिका र शिशुको आमालाई पोलेको अंगमा करिब १५ मिनेट निरन्तर पानीधारा राखिदिन आग्रह गरेँ । उक्त प्रक्रियाबाट शिशुलाई तुरुन्त आराम मिल्यो । विमान काठमाडौंमा उत्रेपछि प्लेनमा बोलाइएका चिकित्साकर्मीले यस प्राथमिक उपचारको सराहना गरे । यस्तै उदाहरण घरपरिवार वा अन्यत्र पनि भएका छन् ।

विश्वव्यापी रूपमा रेडक्रसले प्राथमिक उपचारका तालिमहरू सत्तचालन गर्दछ । यस्तो तालिममा उमेरसमूह, पेसा व्यवसाय वा क्षेत्रविशेषका मानिसलाई फरक–फरक सीप आवश्यक पर्ने भएको हुँदा सोहीअनुसार तालिमका निर्देशिकाहरू तयार पारिएको हुन्छ । विश्वका धेरै देशको अनुभवमा स्कुल उमेरका बच्चा र युवाहरूमा लक्षित प्राथमिक उपचार तालिमले घर र समाजका धेरै स्वास्थ्य समस्याको निराकरणमा ठूलो योगदान मिलेको पाइएको छ । त्यसका अलावा वृद्धहरू लक्षित कार्यक्रम पनि प्रभावकारी हुन्छ । यस्तो सीपलाई स्थानीय सरकार वा संघसंस्थाहरूले सम्भव भएसम्म धेरैभन्दा धेरै मानिसलाई उपलब्ध गराउनुपर्दछ । यो निकै कम खर्चमा जनस्वास्थ्यलाई सबलीकरण गर्ने सशक्त माध्यम पनि हो । 

अब के गर्नुपर्ला ? : प्राकृतिक विपत्तिदेखि दुर्घटनाको अवस्थामा मानिसहरू निकै आत्तिने, र जसोतसो अस्पताल पु¥याउन हतारो गर्दछन् । यस्तो प्रवृत्तिले कतिपय अवस्थामा बिरामीको ज्यानै जानेदेखि उपचार प्रक्रिया निकै जटिल पनि हुन सक्दछ । त्यसको बदलामा घटनास्थलमा उपलब्ध मानिसले घटनास्थल र बिरामीको राम्रो मूल्यांककन गरी जति सक्दो छिटो प्राथमिक उपचार दिनुपर्दछ । यसलाई नेपालले जनस्वास्थ्यको राष्ट्रिय कार्यक्रमको रूपमा कार्यान्वयनमा लैजानुपर्दछ । त्यसका लागि स्कुल, कलेजमा स्वास्थ्य शिक्षाअन्तर्गत प्राथमिक उपचारलाई पाठ्यक्रममा समेटेर पढाउनुपर्ने हुन्छ । प्रशिक्षार्थीको उमेर र जोखिम समूहको आधारमा यस्तो तालिममा सिकाइने विषयवस्तु समाविष्ट गरिनुपर्दछ ।

त्यसका अलावा देशभर करिब ५२ हजारको हाराहारीमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्राथमिक तालिम तथा सन्दर्भ सामग्रीहरूसमेत उपलब्ध गराउन सक्दा कैयौँ गम्भीर दुर्घटना वा भवितव्यबाट भएका बिरामीले सहज प्राथमिक उपचार पाउन सक्दछन् । उनीहरूले स्थानीय समुदायका अन्य व्यक्तिहरूलाई तालिम सञ्चालन गर्न र त्यसको अभ्यासका लागि प्रोत्साहन गर्न प्रेरित गर्न सक्छन् । अर्को पक्ष संगठित क्षेत्रमा कार्यरत मजदुर वा कर्मचारीहरू हुन् । यस्तो तालिमका लागि रेडक्रस सोसाइटीलाई मुख्य जिम्मेवार बनाउन सकिन्छ भने उपलब्धताको आधारमा स्थानीयस्तरका स्वास्थ्य विज्ञान शिक्षालयहरूलाई परिचालन गर्न सकिन्छ । प्रशिक्षकको संलग्नतामा तालिम सञ्चालन गर्न असमर्थ भएको अवस्थामा पाठ्यसामाग्रीहरू उपलब्ध गराएर वा श्रव्यदृश्य सामग्रीको प्रयोग गरेर पनि धेरै ज्ञान लिन–दिन सकिन्छ । 

प्राथमिक उपचारमा सिपिआरको निकै ठूलो महत्व छ, तर यो विधि निकै संवेदनशील पनि हुन्छ । यस सम्बन्धमा राम्रो ज्ञान र अनुभव नभएका व्यक्तिहरूले यस्तो विधि अपनाउनु हुँदैन । स्वास्थ्य, विज्ञान, सामाजिक क्षेत्रमा पेसा बनाउन तत्पर युवाहरूलाई प्राथमिक उपचारका लागि सिपिआर विधिको तालिम दिन सकिन्छ । यस्तो ज्ञान र सीपलाई युवाको रोजगारीमा केही ग्राह्यता दिने परिपाटीको विकास गर्न सकियो भने यसबाट स्वास्थ्य (अस्पताल)को बढ्दो भारलाई (नगन्य खर्चमा) कम गर्न मद्दत मिल्ने छ । अतः प्राथमिक उपचारको सीप विकासलाई राष्ट्रिय महत्वको कार्यक्रमको रूपमा सञ्चालन गर्नु अपरिहार्य भएको छ ।

ad
ad