मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ मङ्सिर १८ बिहीबार १५:३६:००
Read Time : > 1 मिनेट
फिचर

नेब्रास्काकी ६१ वर्षीया महिलाले जन्माइन् नातिनी 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर १८ बिहीबार १५:३६:००

अमेरिकाको नेब्रास्कामा ६१ वर्षीया महिलाले आफ्नै नातिनीलाई जन्म दिएकी छिन् । यो कुनै अवधै सम्बन्धबाट भएको जन्म होइन, बरु मानवले विज्ञानमा गरेको विकासको महत्वपूर्ण नमुनाको उदाहरण हो ।

६१ वर्षीया सिसिल इलेजले आफ्ना समलिंगी छोरा म्याथ्यु इलेजको परिवार बसाउने इच्छा पूरा गर्ने क्रममा नयाँ इतिहास रचेकी हुन् । उनी आफ्नो नातिनीलाई जन्म दिने पहिलो महिला बनेकी छिन् । 

सिसिलका छोरा म्याथ्युले एलिएट डोहोर्टीसँग समलिंगी विवाह गरेका छन् । समलिंगी भएका कारण उनीहरूले आफैँ सन्तान जन्माउन सम्भव थिएन । आफ्नो छोरा र उनको श्रीमानको नानीलाई आफ्नो गर्भमा हुर्काएर सिसिलले नातिनीलाई जन्म दिएकी हुन् । सिसिलले गत साता मात्रै नातिनी उमा लुइसलाई जन्म दिएकी हुन् । 

सिसिलले यसका लागि आफैँले प्रस्ताव गरेको जनाएकी छिन् । छोरा म्याथ्यु र उनका श्रीमान् डोहोर्टीले परिवार बसाउने इच्छा व्यक्त गरेका थिए । त्यसका लागि उनीहरूले धेरै सम्भावनाको खोजी गरेका थिए । 

त्यसमध्ये सेरोगेसी (अर्काको कोख प्रयोग गरेर जन्माउने विधि)बारे उनीहरू सहमत भएका थिए । सेरोगेसी खोज्ने क्रममा पहिले सिसिल आफैँले इच्छा व्यक्त गरेकी थिइन् । ‘सुरुवातमा मेरो कुरा सुनेर सबै हाँसेका थिए,’ पहिलो संवाद सम्झँदै सिसिल भन्छिन् ।

त्यसवेला सिसिल ५९ वर्षकी थिइन् । उनको प्रस्तावलाई सुरुवातमा सबैले उडाए । उनीहरूले त्यसमा सम्भावना पनि देखेका थिएनन् । ‘यो उनको तर्फबाट देखाइएको गहिरो मायाजस्तो मात्रै लागेको थियो,’ डोहोर्टी भन्छन्, ‘उनी साँच्चै कुनै स्वार्थ नभएकी आमा हुन् ।’

उनीहरू सिसिलको प्रस्तावमा सहमत भए । त्यसपछि धेरै परीक्षण भयो । तीन सन्तानकी आमा र बढ्दो उमेरका कारण सिसिल फेरि गर्भवती बन्न सक्दिनन् कि भन्ने शंका थियो । परीक्षणको क्रममा उनी सबै दृष्टिकोणबाट सक्षम देखिइन् । 

‘म स्वास्थ्यप्रति निकै नै ख्याल राख्ने मान्छे हुँ,’ सिसिल भन्छिन्, ‘गर्भवती हुन सक्दिनँ भन्ने विषयमा कुनै द्विविधा थिएन । यद्यपि, परीक्षण त गर्नुपर्ने नै थियो । परीक्षणले गर्भमा नानी हुर्काउन सक्षम रहेको देखायो ।’ त्यसपछि डोहोर्टीकी दिदी लियाले ‘अण्डा’ दान गरिन् । वीर्य सिसिलका छोरा म्याथ्युकै प्रयोग भयो । त्यसलाई सिसिलले आफ्नो गर्भमा राखेर नातिनीलाई जन्म दिएकी हुन् । 

‘हामीलाई लागेको थियो कि हामी फरक छौँ । हामीले फरक तरिकाले नै सोच्नुपर्छ,’ शिक्षण पेसामा संलग्न म्याथ्यु भन्छन्, ‘हाम्रा लागि त्यस्तै सम्भव भयो । आफ्नै सन्तान प्राप्त गर्ने हाम्रा लागि यो अन्तिम उपाय थियो । त्यसमा सफलता मिल्दा धेरै खुसी छौँ ।’ 

सिसिलले गर्भावस्था सहज भएको बताएकी छिन् । कुनै पनि समय कुनै समस्याको संकेत नदेखिएको पनि उनले सुनाइन् । उनले त्यसवेलाका केही रामाइला घटना पनि सुनाइन् । ‘डक्टरले त्यति चाँडै गर्भ बसे÷नबसेको परीक्षण नगर्न भनेको थियो । तर, केटाहरू मानेनन्,’ उनले भनिन्, ‘पहिलो परीक्षणमा गर्भ बसेको देखिएन । सबै निराश भयौँ । त्यही बेलुका फेरि परीक्षण गर्दा गर्भ बसेको देखाएको थियो । त्यो साँच्चै हामी सबैका लागि एउटा खुसीको क्षण थियो ।’

यो प्रयोग र सफलताले नेब्रास्का र अन्य क्षेत्रमा पनि तेस्रोलिंगी समुदायलाई उत्साहित बनाएको छ । नेब्रास्कामा सन् २०१५ देखि समलिंगी विवाहलाई मान्यता दिन थालिएको हो । यसरी उनीहरूले आफ्नै सन्तान पनि प्राप्त गर्न सक्ने भएका छन् ।