१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o६:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बोक्सी आरोपमा  महिलामाथि निर्घात कुटपिट, २५ हजारमा गाउँमै मिलापत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:o१:oo

बोक्सी आरोपमा सिराहाकी एक महिलामाथि निर्घात कुटपिट गरिएको छ । उनले प्रहरीमा उजुरी दिएपछि स्थानीय बासिन्दाले दबाब दिएर २५ हजारमा गाउँमै मिलापत्र गराएका छन् । 

सिराहाको मिर्चैया नगरपालिका– ११ गदहवाकी ४० वर्षीया प्रमिलादेवी यादवलाई छिमेकीले निर्घात कुटपिट गरेका हुन् । गदहवाकै दुखी यादवलाई बोक्सी लगाएर बिरामी पारेको भन्दै उनका तीनजना छोराले कुटपिट गरेको प्रमिलादेवीले बताइन् । ‘बोक्सी लगाएको भन्दै तीनै दाजुभाइले कुटे,’ उनले भनिन् । 

बोक्सीको आरोपमा दुखी यादवका तीनजना छोरा लक्ष्मण, श्याम र अरुणकुमारले कुटपिट गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तुलालप्रसाद जैसवालले बताए । उनलाई ३ मंसिरमा घरमै रहेको वेला कुटपिट गरिएको थियो । मिर्चैया स्वास्थ्य चौकीमा उपचारपछि उनी घरमै आराम गरिरहेकी छिन् । 

घटनालगत्तै प्रहरी टोली गाउँमा पुगेको थियो । उनले दिएको जाहेरीका आधारमा प्रहरीले घाउ जाँच गराएको डिएसपी जैसवालले बताए । प्रहरीले कारबाही प्रक्रिया अघि बढाएपछि स्थानीयले मिलापत्र गराउन दबाब दिएका हुन् । पञ्चायत बसेर आइतबार मिलापत्र गराएको पाइएको डिएसपी जैसवालले बताए । ‘स्थानीय बासिन्दाले महिलामाथि दबाब दिएर पञ्चायत गरी २५ हजार रुपैयाँमा मिलापत्र गराएका रहेछन्,’ उनले भने । 

गाउँमा मिलापत्र गराएपछि कुटपिट गर्ने तीनै दाजुभाइ मुद्दा फिर्ता गराउन सोमबार इलाका प्रहरी कार्यालय मिर्चैया पुगेका थिए । उनीहरू तीनैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको डिएसपी जैसवालले बताए । ‘यस्तो अमानवीय घटनामा मिलापत्र गराउन मिल्दैन, आरोपित तीनैजनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएका छौँ,’ डिएसपी जैसवालले भने । 

गत महिना सिराहाको नवराजपुर गाउँपालिका–४ कुसन्डीकी मूर्तिदेवी यादवलाई बोक्सीको आरोपमा मलमूत्र खुवाएर मरणासन्न हुने गरी कुटपिट गरिएको थियो । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरिएको थियो भने कुटपिट गर्ने सन्तोष यादवमाथि मुद्दा चलाइएको थियो । तर, जिल्ला अदालत सिराहाले दुई लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । मूर्तिदेवी भने अझै निको भएकी छैनन् । 

ad
ad