Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १ सोमबार १२:२८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच वर्षपछि भाइटीकाका लागि खुल्यो रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १ सोमबार १२:२८:००

हरेक वर्ष भाइटीकाका दिन खुल्ने बालगोपालेश्वर मन्दिर भूकम्पले क्षतिग्रस्त भएपछि पहिलोपटक खुला गरिएको छ । 

०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पाँच वर्षपछि आज खुला गरिएको हो । 

यस मन्दिर वर्ष दिनमा भाइटीकाका दिन मात्र सर्वसाधारणका लागि खुला रहने गर्छ । तर, भूकम्पपछि भने पाँच वर्षसम्म यस मन्दिर बन्द रह्यो । भूकम्पले मन्दिरलगायत रानीपोखरीमा क्षति पुऱ्याएकाले पुनर्निर्माणका लागि बन्द रहेको थियो । 
दिदीबहिनी नहुनेहरूले बालगोपालेश्वर मन्दिरमा टीका लगाउने चलन रहेको छ । ०७२ को भूकम्पका कारण क्षति पुगेपछि बालगोपालेश्वरको मन्दिर बन्द थियो । 

मन्दिरभित्रको मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो । अघिल्ला वर्षहरूमा भाइटीकाको दिन रानीपोखरीको बाहिर मूर्ति राखेर पूजा गरिन्थ्यो । 

लामो समयपछि यो वर्ष भाइटीकाका दिन बालगोपालेश्वरको दर्शन गर्न पुगेका सर्वसाधारणहरू खुसी देखिन्छन् । पुनर्निर्माण अघिको भन्दा अहिलेको रानीपोखरी सफा रहेको उनीहरूको भनाइ छ । 

पाँच वर्षपछि पुनः बालगोपालेश्वरको दर्शन गरी भाइटीका लगाउन पाउँदा खुसी लागेको सर्वसाधारणले बताए । 

कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाएर दर्शनको व्यवस्था गरिएको  छ । 

भिड व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले स्वयंसेवकसमेत परिचालन गरेको छ । 

फरक समुदायअनुसार मंसिर १ र २ गते दुई दिन भाइटीका लगाउने भएकाले भोलि २ गते पनि मन्दिर खुला हुनेछ । 

महानगरपालिकाले भिडभाड कम गर्न टीका नलगाउनेहरूलाई अहिले नआउन पनि आग्रह गरेको छ । अवलोकनका लागि छिट्टै खुला गरिने महानगरपालिकाको भनाइ छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २७ करोड रुपैयाँ खर्चेर कात्तिक महिनामा रानीपोखरी पुनर्निर्माण सम्पन्न गरेको थियो । 
राष्ट्रपति विद्यादेवी भण्डारीले गएको कात्तिक ५ गते रानीपोखरी उद्घाटन गर्नुका साथै बालगोपालेश्वरको प्राणप्रतिष्ठा पूजा गरेकी थिइन्। 

विक्रम संवत् ०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन खुल्दै आएको छ ।