१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
अली साद
२०७७ कार्तिक १३ बिहीबार ०७:२०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

फ्रेन्च राज्य यथार्थप्रति आँखा चिम्लेर बसेको छ

Read Time : > 2 मिनेट
अली साद
२०७७ कार्तिक १३ बिहीबार ०७:२०:००

फ्रेन्च मुसलमान समुदायविरुद्ध घृणा फैलाएर देशको अतिवाद समाधान हुँदैन 

एक चेचेन शरणार्थीले फ्रेन्च शिक्षक साम्युयल प्याटीको हत्या गरेपछि समग्र फ्रान्समा अविश्वास, घृणा र दुःख छाएको छ । प्याटीले चार्ली हेब्डोमा छापिएको मोहम्मदको विवादित फोटो आफ्नो कक्षाकोठामा देखाएपछि उनीमाथि आतंकवादी आक्रमण भएको थियो । घटनापछि फ्रान्सका मुसलमान नागरिक पुनः एकपटक विवादमा तानिएका छन् । तिनलाई आफ्नो धर्म र संकेतकै कारण घृणा गर्न थालिएको छ । घृणा राजनीतिक वृत्त, मूलधारको मिडिया र सामाजिक सञ्जालमा देखिन्छ । तर, अहिलेको बहसमा सत्तारुढ एलिट र फ्रान्सको ठूलो हिस्साले उग्रवादको वास्तविक यथार्थ अस्वीकार गरिरहेको छ । 

यसपटक फ्रान्सका राज्य प्रमुख आफैँ नै मुसलमान धर्मविरुद्धको भावना फैलाउन उद्यत् देखिएका छन् । राष्ट्रपति इम्यानुयल म्याक्रोँले आफ्नो खस्कँदो जनमतमाथिको पकड बलियो बनाउन दक्षिणपन्थीहरूको नक्कल गर्न थालेका छन् । उल्लेखनीय पक्ष पछिल्लो आक्रमण त्यो समयमा भएको छ, जब फ्रान्स दीर्घकालीन सामाजिक संकट सामना गरिरहेको छ । यो संकटलाई म्याक्रोँ सरकारको एकपछि अर्को असफल नीतिले झन् गहिरो बनाएको छ । यी नीतिका कारण असन्तोष चुलिँदै गएर सडकमा छताछुल्ल भएको थियो । सन् २०१८ मा ‘एल्लो भेस्ट’ आन्दोलन सेलाउन नपाउँदै सार्वजनिक क्षेत्रमा ठूलो हडताल भएको थियो । त्यसपछि पेन्सन सुधार, इन्धनको मूल्यवृद्धि, प्रहरी हिंसा तथा बेरोजगारीजस्ता विषयमा सन् २०१९ को पूरा वर्ष ठुल्ठूला प्रदर्शन भए । वर्षको अन्त्यमा फ्रान्सको इतिहासकै सबैभन्दा लामो सार्वजनिक यातायात हडतालले देशलाई ठप्प बनायो ।

फ्रान्समा मुसलमान समुदायलक्षित प्रहरीहिंसाको अवस्था विकराल छ, तिनले दैनिक रूपमा भोग्नुपर्ने नश्लीय विभेदको अवस्था पनि त्यस्तै छ, तर यी पक्षलाई बेवास्ता गर्दै मुसलमान समुदाय फ्रान्सेली समुदायमा ‘भिज्न’ नसकेको र ‘पृथक्तावादी’ रहेको आरोप लगाइँदै छ ।

यी उथलपुथलको कारण सन् २०१७ मेमा निर्वाचित हुँदा झन्डै ६० प्रतिशत रहेको म्याक्रोँको जनसमर्थन सन् २०१८ डिसेम्बरमा २३ प्रतिशतमा झरेको थियो । यसै कारणले यही वर्ष जुनमा भएको नगर निर्वाचनमा म्याक्रोँको पार्टीलाई ग्रिन मुभमेन्टले कैयौँ महत्वपूर्ण सहरमा हरायो । आगामी राष्ट्रपतीय निर्वाचन सन् २०२२ मा हुनेछ र फ्रेन्च राष्ट्रपति त्यसका लागि कमजोर देखिँदै गएका छन् । यही परिप्रेक्षमा राजनीतिक पकड वृद्धि गर्ने प्रयासमा म्याक्राेँ मुसलमान समुदायलाई खराब देखाउने खेलमा जोडिएका छन् । मुलसमानमाथिको आक्रमणले उग्र दक्षिणपन्थी, नश्लवादी तथा मुसलमानविरोधी एजेन्डाधारी आकर्षित हुन्छन् भन्ने म्याक्रोँलाई थाहा छ । 

त्यसैले अक्टोबरको प्रारम्भमा म्याक्रोँले देशको नाममा विशेष सम्बोधन गर्दै ‘इस्लाम संकटमा’ रहेको घोषणा गरे । सम्बोधनमा उनले इस्लामलाई बाह्य प्रभावबाट ‘मुक्त’ गराउने घोषणा गरे । आक्रमणपछि म्याक्रोँ र उनको सरकारले मुसलमान समुदायको नागरिक समाजमाथि आक्रमण सुरु गरिसक्यो । पचासभन्दा बढी स्वयंसेवी संगठनलाई ‘देशको शत्रु घोषणा’ गरिएको छ । ती संस्था विघटन हुन सक्छन् । फ्रान्सका मिडिया पण्डित तथा राजनीतिज्ञहरूले फ्रान्सेली मूल्य निसानामा रहेको डर देखाउन थालेका छन् । एउटा म्यागजिनको कभर पेजले घोषणा गरेको छ, ‘अहिलेको अवस्था युद्धको अवस्था हो ।’ यस ‘युद्ध’मा प्रयोग गर्नुपर्ने ‘हतियार’बारे पनि चर्चा हुन थालेको छ– नागरिकताको खारेजी, फ्रेन्च नाम राख्नुपर्ने र मृत्युदण्ड पुनः सुचारु गर्नुपर्ने । इस्लाम समुदायको प्रतिरक्षा गर्ने व्यक्तित्वले पनि आलोचनाको सामना गर्नुपरेको छ । 

फ्रान्समा विगत दुई दशकमा मुसलमान नागरिक र राज्यबीचको असन्तुष्टि बढेको देखिन्छ । राज्यले इस्लामलाई अझै पनि फ्रान्सभित्रको एउटा धर्म मानेको छैन । फ्रान्सको गलत नीतिका कारण एउटा सम्पूर्ण धार्मिक सम्प्रदाय सीमान्तकृत हुँदै गएको छ । राज्यले मुसलमान समुदायले भोग्दै आएको घरबार तथा रोजगारीको समस्या, गरिबीजस्ता विषय सम्बोधन गर्न एकदमै कम ध्यान दिएको छ । मुसलमान समुदाय लक्षित प्रहरी हिंसाको अवस्था विकराल छ भने तिनले दैनिक रूपमा नश्लीय विभेदको सामना गर्नुपर्छ । तर, यी पक्षलाई बेवास्ता गर्दै मुसलमान समुदाय फ्रान्सेली समुदायमा ‘भिज्न’ नसकेको र ‘पृथकतावादी’ रहेको आरोप लाग्ने गरेको छ । राज्य मुलसमान समुदायविरुद्धको संरचनागत विभेदलाई बेवास्ता गर्दै मुसलमानहरूलाई खराब देखाउन लागेको देखिन्छ । बहुसांस्कृतिकवादलाई फ्रेन्च समाजको अभिन्न चरित्रको रूपमा स्विकार्न फ्रेन्च राज्यले नचाहेकोजस्तो देखिन्छ । यसैले ऊ मुसलमानहरूलाई बाहिरिया देखाउन उद्यत् देखिन्छ । जब राज्य नै एउटा समुदायलाई शत्रु देखाउन खोज्छ, राजनीतिक दल चुनावी फाइदाका लागि समुदायविरुद्ध घृणा फैलाउन लाग्छ भने फ्रेन्च गणतन्त्रको मूल सिद्धान्त सामाजिक मिलन, नागरिक शान्ति र संवादको लक्ष्यबाट हामी झनै टाढा हुनेछौँ । 

(अली साद फ्रेन्च समाजशास्त्री तथा मिडिया समालोचक हुन् ।)
अल जजिराबाट