मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ असोज २८ बुधबार १९:३२:००
Read Time : > 2 मिनेट
फिचर डिजिटल संस्करण

सर्वसाधारणमाझ विनामास्क देखिइन् न्युजिल्यान्डकी प्रधानमन्त्री

Read Time : > 2 मिनेट
एजेन्सी
२०७७ असोज २८ बुधबार १९:३२:००

न्युजिल्यान्डले कोरोना भाइरसमाथि गरेको नियन्त्रणबारे विश्वका विभिन्न प्लेटफर्ममा प्रशंसा हुँदै आएको छ । यस कार्यमा न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेनको भूमिका महत्वपूर्ण मानिन्छ । यो कार्यले अर्डेनलाई आसन्न संसदीय निर्वाचनमा निकै फाइदा हुने विश्वास पनि गरिएको छ । 

न्युजिल्यान्डमा अहिले ५२औँ संसदीय निर्वाचनका लागि प्रचारप्रसार सुरु भएको छ । अर्डेनले प्रतिनिधित्व गरेको लेबर पार्टीका उम्मेदवार पनि चुनावी मैदानमा सक्रिय रूपमा लागेका छन् । यही क्रममा मंगलबार आयोजित चुनावी ¥याली तथा कार्यक्रममा प्रधानमन्त्री अर्डेन पनि सहभागी भएकी थिइन् । चुनावी अभियानमा सहभागी हुनु सामान्य नै हो । तर, अर्डेनले यो क्रममा सर्वसाधारणसँग गरेको व्यवहार तथा तस्बिर अन्तर्राष्ट्रियस्तरमा भाइरल बनेको छ । कार्यक्रमपछि प्रधानमन्त्री अर्डेनले विनामास्क समर्थकमाझ सेल्फी खिचेकी थिइन् । अर्डेनले घुमारो रूपमा न्युजिल्यान्ड कोरोनामुक्त भएको सन्देश दिन यस्तो कार्य गरेको बताइएको छ । 

विपक्षी भन्छन्– प्रधानमन्त्रीले सर्वसाधारणमा कोरोनाबारे भ्रम फैलाइन्
विपक्षी पार्टीले प्रधानमन्त्रीले यसरी मास्कविनै फोटो खिचेर सर्वसाधारणमा भ्रम सिर्जना गराउने प्रयास गरेको टिप्पणी गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस पूर्ण रूपले विश्वमा नियन्त्रण नहुँदासम्म यसबाट सुरक्षित रहन तय गरेको प्रोटोकल सबैले अपनाउनुपर्ने बताएको छ । तर, प्रधानमन्त्री अर्डेनले विश्वविद्यालयका विद्यार्थीले आयोजना गरेको कार्यक्रम अवधिभर मास्क नै लगाइनन् । कार्यक्रमपछि विद्यार्थीसँग विभिन्न पोजमा सेल्फी लिनुका साथै ख्यालठट्टासमेत गरिन् । अर्डेनले कार्यक्रममा सामाजिक दूरी कायम राख्न पनि सकिनन् । 

कार्यक्रममा एक हजारभन्दा बढी विद्यार्थी सहभागी थिए । कोरोना भाइरस नियन्त्रण गर्न अन्य राष्ट्रले के–के गर्नुपर्ने नियम सिकाएको न्युजिल्यान्डकै प्रधानमन्त्री अर्डेनको यस्तो व्यवहारले विपक्षी पार्टीलाई विरोध गर्ने मौका मिलेको छ । न्युजिल्यान्डमा अहिले सबै किसिमको प्रतिबन्ध फुकुवा भइसकेको छ । सर्वसाधारणले जे गरे पनि छुट दिइएको छ । 

ओपनिङ पोलमा अर्डेन अगाडि
संसदीय निर्वाचनअघि सम्पन्न ओपनिङ पोलको मत सर्वेक्षणमा प्रधानमन्त्री अर्डेनको पार्टी अगाडि छ । अहिले निर्वाचनमा लेबर साथै एन्क्ट, ग्रिन, नेसनल तथा न्युजिल्यान्ड फस्र्ट पार्टीका उम्मेदवारले दाबेदारी प्रस्तुत गरिरहेका छन् । यीमध्ये नेसनलले अर्डेनले प्रतिनिधित्व गरेको लेबर पार्टीलाई चुनौती दिइरहेको अन्तर्राष्ट्रिय एजेन्सीले जनाएको छ । 
नेसनलले अर्डेनको विपक्षीमा कोलिन्सलाई उम्मेदवार बनाएको छ । कोलिन्स चारपटक संसदीय निर्वाचनमा विजयी भइसकेका व्यक्ति हुन् । संसदीय निर्वाचनमा ३० लाख ४० हजार मतदाता सहभागी हुनेछन् । अहिले नै इलेक्ट्रोनिक्स मतदान सुरु भइसकेको छ । अर्ली भोटिङ ३ अक्टोबरमै भएको थियो । इलेक्टोरल कमिस्नरका अनुसार ११ अक्टोबरसम्ममा १० लाखले विद्युतीय माध्यमबाट आफ्नो मत खसालेका छन् । 

डिबेटमा महामारीको मुद्दा
अमेरिकी राष्ट्रपति निर्वाचनमा जस्तै न्युजिल्यान्डको संसदीय निर्वाचनको क्रममा पनि उम्मेदवारबीच डिबेट कार्यक्रम आयोजना भइरहेको छ । अधिकांश डिबेटमा प्रधानमन्त्री अर्डेनले कोरोना भाइरस महामारीकै मुद्दालाई प्राथमिकतामा राखेकी छिन् । अर्डेनले आफ्नो सरकारले न्युजिल्यान्डमा कोरोना भाइरस नियन्त्रण गर्न उत्कृष्ट कार्य गरेको दाबी गर्दै आएकी छिन् । 
अर्डेनका प्रत्याशी कोलिन्सले वर्तमान सरकारले न्युजिल्यान्डमा गरिब जनताका सम्बन्धमा केही पनि हेरविचार नगरेको आरोप लगाएका छन् । सरकारले कोरोनामा मात्र ध्यान दिँदा अन्य क्षेत्र कमजोर बनेको कोलिन्सको भनाइ थियो । सरकारले गर्न नसकेको काम आफूहरूले गरेको कोलिन्सले जनाए । 

‘उत्कृष्ट काम गरेको छु’
प्रधानमन्त्री तथा लेबर पार्टीकी उम्मेदवार अर्डेनले ५० लाख जनसंख्या भएको न्युजिल्यान्डमा सरकारले कोरोना भाइरस रोक्न सबै प्रविधि अपनाएको र उत्कृष्ट काम गरेको ठोकुवा गर्दै आएकी छिन् । सरकारको यसै सूक्ष्म प्रयासका कारण न्युजिल्यान्डमा केवल २५ व्यक्तिले मात्रै कोरोनाबाट ज्यान गुमाएको उनको भनाइ छ । सरकारको उत्कृष्ट कार्यशैलीको तारिफ विश्व स्वास्थ्य संगठनले पनि गर्दै आएको उनको भनाइ छ ।