उपचार खर्च तिर्न नसक्दा चितवन मेडिकल कलेजकाे आइसियूमै बिरामी बन्धक

बिहिबार, २२ असोज, २०७७
डिजिटल संस्करण

बिरामी सामान्य अवस्थामा फर्किँदासमेत पैसा नतिरेको भन्दै चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)ले मेडिकल आइसियूबाट बिरामीलाई साधारण बेडमा पनि सारेको छैन । मकवानपुर भीमफेदी गाउँपालिका–९ का राजु थिङ (३४ वर्ष)लाई उपचार खर्च तिर्न नसक्दा आइसियूमै राखिएको हो । राजुकी श्रीमती संगीता थिङका अनुसार औषधि र उपचार खर्च गरी तीन लाख रुपैयाँभन्दा बढी अस्पताल र फार्मेसीलाई तिर्न बाँकी छ । अढाई लाख रुपैयाँ उनीहरूले खर्च गरिसकेका छन् ।

राजु हेटौँडास्थित लोकप्रिय होटेलमा कुक थिए । उनकी श्रीमती सोही होटेलमा भाँडा माझ्थिन् । कोभिड–१९ का कारण बजारसँगै होटेल बन्द भए । दोस्रोपटक लकडाउनको म्याद थपिएपछि उनीहरू १२ वर्षकी छोरीसहित घर फर्किए । कमाइ नभएपछि उनीहरूले कोठा भाडा पनि तिर्न सक्ने अवस्था रहेन ।

घर पुगेपछि खोलामा माछा मार्न जाँदा राजु लडे । त्यतिवेला सामान्य औषधि उपचारपछि ठीकै देखिएका राजु भदौ अन्तिममा अचानक बेहोस भए । त्यसपछि परिवारले उनलाई हेटौँडाकै विभिन्न अस्पताल पुर्यायो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चितवन मेडिकल कलेज ल्याइयो । सिएमसीमा उपचार सुरु भएको १० दिनपछि उनको होस खुल्यो । संगीताका अनुसार उनलाई निमोनिया भएको रहेछ ।

सुरुको केही दिन परिवारबाट सापटी मागेर उपचार खर्च जुट्यो । तर, सापटी पनि नपाउने अवस्था भएपछि उनीहरू बेखर्ची बने । राजुकी श्रीमती संगीता लेखपढ गर्न जान्दिनन् । सोहीकारण आइसियूमा राख्दा दैनिक सात हजार रुपैयाँ खर्च हुने गरेको उनले पछि मात्र थाहा पाइन् ।

श्रीमान्को अवस्था सामान्य भएपछि उनले साधारण बेडमा सारिदिन अस्पताललाई अनुरोध गरिन् । तर, अस्पताल प्रशासनले पैसा तिरेपछि मात्र साधारण बेडमा सारिदिने बतायो । राजुको परिवारले अस्पतालबाट छुट पाउने आसमा स्थानीय तहको सिफारिस पनि ल्यायो । तर, क्षयरोग, क्यान्सर र कोभिड–१९ को उपचारका लागि मात्र स्थानीय तहको सिफारिसबाट छुट पाइने अस्पतालले बतायो । अहिले संगीतासँग साँझबिहान खाना खाने पैसा पनि छैन । भोकभोकै श्रीमान्लाई कुरेर बसेकी छिन् ।

सुझावित समाचार