१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o९:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्रीका तीन सल्लाहकार र बालुवाटारका ६३ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:o६:oo

प्रधानमन्त्री ओली र पत्नी राधिका शाक्यको रिपोर्ट नेगेटिभ, प्रधानमन्त्री बालुवाटारमै ‘आइसोलेसन’मा

प्रधानमन्त्री केपी ओलीका तीन सल्लाहकारसहित प्रधानमन्त्रीनिवास बालुवाटारमा खटिएका ६३ सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ । मुख्य सल्लाहकार विष्णु रिमाल, वैदेशिक मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण देखिएको छ । त्यस्तै, सचिवालयका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र फोटोग्राफर राजन काफ्ले पनि संक्रमित भएका छन् । शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका उनीहरूको रिपोर्ट पोजिटिभ आएको हो । 

स्वाब परीक्षणका क्रममा प्रधानमन्त्रीको सुरक्षार्थ खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीसहितसमेतको स्वास्थ्य परीक्षण रिपोर्ट शनिबार पोजिटिभ आएको छ । उनीहरू सबैको शुक्रबार स्वाब परीक्षण लिइएको थियो । राससका अनुसार बालुवाटारमा सुरक्षामा खटिएका नेपाली सेनाका २८ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका १६ र सशस्त्र प्रहरीका १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय अनुसन्धान विभागका तीन कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । 

कोरोना संक्रमणको पुष्टि भए पनि प्रधानमन्त्रीका सल्लाहकारहरू रिमाल, थापा, भट्टराईसहित सचिवालयका कसैमा लक्षण देखिएको छैन । शुक्रबारसम्म प्रधानमन्त्रीनिवास बालुवाटार र सिंहदरबारमा नियमित काममा रहेका उनीहरू पोजिटिभ रिपोर्टलगत्तै शनिबारबाट निजी निवासमै प्रोटोकलको पालना गर्दै ‘आइसोलेसन’मा बसेका छन् । प्रेस सल्लाहकार थापाले अहिलेसम्म सल्लाहकार र सचिवालयका सबै सदस्यको स्वास्थ्यमा कुनै समस्या नरहेको जानकारी दिँदै सबैजना निजी निवासमा ‘आइसोलेसन’मा बसेको जानकारी दिए । 

‘शुक्रबारसम्म नियमित काममा थियौँ, स्वाब दिएका कारण शनिबार बालुवाटार गएनौँ,’ थापाले भने, ‘पोजिटिभ रिपोर्ट आएपछि सल्लाहकार समूह र सचिवालयका हामी सबै प्रोटोकलको पालना गर्दै होम आइसोलेसनमा बसेका छौँ ।’ थापासहित सल्लाहकारले आफूनिकट सम्पर्कमा आएका सबैलाई सजग रहन आग्रह गरेका छन् ।

प्रधानमन्त्री सजगतासहित बालुवाटारमा आइसोलेसनमा 

तीन सल्लाहकारसहित बालुवाटारमा पाँच दर्जन सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि थप सजगता अपनाउँदै प्रधानमन्त्री ओली निवासमै आइसोलेसनमा बसेका छन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार पुनः स्वाब दिएर प्रधानमन्त्री ओली केही दिन भेटघाट बन्द गर्ने मनस्थितिमा छन् । यसबीचमा मुख्यसचिव शंकरदास बैरागीले भेटघाट गरेको र उनलाई सल्लाहकारहरूले पनि बधाई दिएकाले पनि प्रधानमन्त्री पुनः स्वाब परीक्षण गराएर आइसोलेसनमा बस्ने निष्कर्षमा पुगेका हुन् । 

प्रधानमन्त्री ओलीसहित श्रीमती राधिका शाक्यको गत बिहीबार स्वाब परीक्षण रिपोर्ट नेगेटिभ देखिएको थियो । पुनः परीक्षणसहित थप सजगता अपनाउने प्रधानमन्त्री ओलीको तयारी छ । ‘उहाँ सजगताका साथ सधैँ आइसोलेसनमै हुनुहुन्छ । संक्रमणको खतराका कारण मिर्गौला ट्रान्सप्लान्टदेखि नै आइसोलेसनको अभ्यास गर्दै आउनुभएकाले पर्याप्त सजगता अपनाइरहनुभएको छ,’ सल्लाहकार थापाले भने, ‘सावधानीका साथ नै भेटघाट गर्दै आउनुभएकाले उहाँमा जोखिम छैन ।’ 

प्रधानमन्त्रीको नियमितजस्तै साथमा रहने स्वकीय सचिव राजेश बज्राचार्य, निजी सुरक्षा अधिकारीमा संक्रमण देखिएको छैन । उनीहरूको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

२४ घन्टामा थपिए दुई हजार एक सय २० संक्रमित

पछिल्लो २४ घन्टामा देशभर दुई हजार एक सय २० संक्रमित थपिएका छन् । उक्त अवधिमा आठजनाको मृत्यु भएर मृतक संख्या पाँच सय २८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सक्रिय कोरोना संक्रमित २५ हजार पुगेमा अस्पतालहरूको क्षमताले धान्न नसक्ने भएकाले लकडाउनमा जानुको विकल्प नहुने स्वास्थ्य मन्त्रालयले यसअघि नै बताएको छ । हाल मुलुकभर २१ हजार तीन सय दुईजनामा सक्रिय संक्रमण छ ।

पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा देखिएको छ । १७ असोजमा थपिएकामध्ये एक हजार एक सय ८७ जना संक्रमित उपत्यकाका तीन जिल्लाका हुन् । तीमध्ये काठमाडौंमा एक हजार ११, ललितपुरमा एक सय नौ र भक्तपुरमा ६७ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार नौ सय ७८ वटा नमुना पिसिआर परीक्षण भएको छ । हालसम्म देशभर ६२ हजार सात सय ४० जना निको भएर घर फिरेका छन् ।

गगन थापासहित कांग्रेसका चार केन्द्रीय सदस्यलाई कोरोना

पूर्वस्वास्थ्यमन्त्री गगन थापासहित कांग्रेसका चारजना केन्द्रीय सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरूसँगै कर्मचारी र सुरक्षाकर्मीलगायतमा कोरोना संक्रमण पुष्टि भएको हो ।

१९ असोजमा बस्ने कांग्रेस केन्द्रीय समिति बैठकका १५ असोजमा पदाधिकारी, केन्द्रीय सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी दुई सय ७० जनाको कोरोना परीक्षण गरिएको थियो । शनिबार आएको रिपोर्टमा केन्द्रीय सदस्य थापा, पूर्वमन्त्री एवं केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई कोरोना देखिएको हो । १५ जना केन्द्रीय सदस्यको पुनः परीक्षण गरिने भएको छ भने केहीको रिपोर्ट आउन बाँकी छ ।

कोरोना संक्रमण पुष्टि भएपछि थापा र केसीले होम आइसोलेसनमा बसिरहेको जनाएका छन् । उनीहरू सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन आग्रह गरेका छन् । 

ad
ad