१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
प्रभात भट्टराई
२०७६ माघ ८ बुधबार ०९:२२:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

अमेरिकी राष्ट्रपतिमा ३७ वर्षे तन्नेरीको बलियो सम्भावना

सम्भावित डेमोक्रेटिक उम्मेदवारको सूची बनाउन थाल्दा अमेरिकी राजनीतिक पण्डितहरू पिट बुट्टिजजको नाम पनि अप्ठ्यारो गरी उच्चारण गर्थे

Read Time : > 5 मिनेट
प्रभात भट्टराई
२०७६ माघ ८ बुधबार ०९:२२:००

सन् २०१६को चुनावमा रसियासँग सम्भावित चुनावी साँठगाँठ, चीनसँग व्यापार युद्ध, उत्तर कोरियाली नेता किम जोङ उनसँग प्रेम, संसद्मा महाभियोग र इरानसँग नोकझोक– अमेरिकी राष्ट्रपति चुनिएपछि ट्रम्पसँग सीधा ठोक्किएर केही न केही खबर विश्वभरका मिडियामा छाए । ट्रम्पप्रति तटस्थ विचार राख्ने व्यक्ति विश्वभर नै कम छन्, कि हत्ते गर्छन् कि घृणा । ट्रम्पसँग अप्रत्यक्ष जोडिने डेमोक्रेटिक पार्टीबाट सन् २०२०को राष्ट्रपतीय उम्मेदवारको आन्तरिक होड पछिल्लो एक वर्षदेखि जोडतोडका साथ चलिरहेको छ ।

पहिलो उम्मेदवारी घोषणा सिनेटर एलिजाबेथ वारेनको रह्यो । मासाचुसेट्सकी सिनेटर वारेनलाई सन् २०१६मै सम्भावित उम्मेदवारका रूपमा आकलन गरिएको थियो । पुँजीवादी विम्ब ‘वाल स्ट्रिट’लाई नियमन गर्नुपर्ने मुद्दाकी हिमायती वारेनको उम्मेदवारीपछि उम्मेदवारीको ताँती नै लाग्यो । बाराक ओबामा सरकारका भवन एवं सहरी विकासमन्त्री हुलियान क्यास्ट्रो, न्युयोर्ककी सिनेटर क्रिस्टिन जिलिब्रान्ड, क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिस, न्युजर्सीका सिनेटर कोरी बुकर, मिनिसोटाकी सिनेटर एमी क्लोबुचार, भर्माउन्टका सिनेटर बर्नी स्यान्डर्स, वासिंग्टनका गभर्नर जे इन्स्ली, कोलोराडोका पूर्वगर्भनर जोन हिकेनलुपर, पूर्वउपराष्ट्रपति जो बाइडेन, कोलोराडोका गभर्नर माइकल बेन्नेत, न्युर्योक सहरका मेयर बिल दे ब्लाजियोले क्रमशः उम्मेदवारी घोषणा गर्दै गए । पछि थप आधा दर्जनजति ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ (तल्लो सदन)का सांसदको उम्मेदवारी घोषणा भयो । व्यवसायीदेखि लेखकसम्मले ट्रम्पलाई हराउने दाबी ठोके । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिमा उम्मेदवारी घोषणा गर्नेको संख्या दुई दर्जनभन्दा माथि थियो । 

सिएनएनले गरेको वरीयता सूचीमा अग्रस्थानमा चाहिँ सिनेटर ह्यारिस थिइन् । श्याम वर्णकी महिला अरूभन्दा युवा भएका कारण ह्यारिस डेमोक्रेटिक मतदाताको पहिलो रोजाइमा पर्ने सिएनएनको आकलन थियो । २०१८मा महिला एवं अश्वेत वर्गमा देखिएको डेमोक्रेटिक लहरबाट संसद्को तल्लो सदनमा डेमोक्रेटले बहुमत ल्याएको हुँदा पहिलो रोजाइ कमला नै हुने सिनएनको प्रक्षेपण थियो । सुरुमा सीएनएनको प्रक्षेपण मिले पनि यथेष्ट चुनावी चन्दा उठाउन नसक्नुका साथै सर्भेक्षणमा अपेक्षित परिणाम नआएपछि ह्यारिस राष्ट्रपतीय होडबाट बाहिरिइन् । ‘हाई प्रोफाइल’ क्यास्ट्रो, जिलिब्रान्ड, इन्स्ली, हिकेनलुपर, ब्लाजियो, बुकर पनि अब दौडमा छैनन् । एक दर्जन उम्मेदवार दौडमा कायम भए पनि बाइडेन, स्यान्डर्स, वारेन र क्लोबुचारबाहेकको उपस्थिति औपचारिकतामा सीमित छ । तर ‘हाई प्रोफाइल’ उम्मेदवारलाई एकजना ‘लो प्रोफाइल’ले भने नमीठो चक्मा दिएका छन् ।

‘लो प्रोफाइल इन्ट्री’
सम्भावित डेमोक्रेटिक उम्मेदवारको सूची बनाउन थाल्दा अमेरिकी राजनीतिक पण्डितहरू पिट बुट्टिजजको नाम पनि अप्ठ्यारो गरी उच्चारण गर्थे । इन्डियानास्थित साउथवेन्ट सिटीका ३७ वर्षे मेयर सन् २०१९को जनवरी २३मा उम्मेदवारी घोषणा गर्दा कमैले मतलव गरेका थिए, जुन स्वाभाविकै थियो । अमेरिकामा सत्तामा नरहेको दलले प्रत्येक राज्यमा हुने प्राइमरी निर्वाचन जित्दै गएपछि पार्टीका तर्फबाट राष्ट्रपतिको टिकट हात लाग्ने हो । बहालवाला राष्ट्रपति पहिलो कार्यकालमा छन् भने सम्बन्धित दलले उनलाई दोस्रो कार्यकालका लागि स्वतः उम्मेदवार तय गर्छ । अरू कसैले उम्मेदवारी दिए पनि त्यसको खासै औचित्य रहँदैन ।

यसरी उम्मेदवार तय गर्न पहिलो चुनाव आइवा राज्यमा हुन्छ– जुन पार्टीका सदस्यले मात्र मतदान गर्न पाउने ककस हो । प्रारम्भिक चुनावको पहिलो चरणमा आइवापछि न्यु ह्यामसर, नेभादा र साउथ क्यारोलिना पर्छन् । आइवा र नेभादा ककस एवं न्यु ह्यामसर र साउथ क्यारोलिनामा प्राइमरी निर्वाचन हुन्छ । प्राइमरी निर्वाचनमा स्वतन्त्र मतदाताले पनि भोट हालेर उम्मेदवार तय गर्न सक्छन् । यसपालि आइवा ककस फेब्रुअरी ३, न्यु ह्यामसर प्राइमरी फेब्रुअरी ११, नेभादा ककस फेब्रुअरी २२ र साउथ क्यारोलिना प्राइमरी निर्वाचन फ्रेब्रुअरी २९मा हुँदै छ । चारमध्ये कुनै न कुनै राज्यमा जित निकाल्न सके उम्मेदवारले बा“की भागमा प्रचारको सामथ्र्यसहित चन्दा जुटाउन सक्छन् । एउटैमा जित्न नसक्दा थप दुःख नगरी बाहिरिएको घोषणा गर्ने गर्छन् । 

पिटजस्तो नौलो उम्मेदवारले त सुरुवाती राज्यमा केही गर्न नसके अगाडि बढ्ने सम्भावना हुन्न । त्यसैले उम्मेदवारी घोषणासँगै पिट आइवामा केन्द्रित भए । सन् २०१९को पहिलो त्रैमासमा पाएको चन्दा घोषणा गर्दा अग्रस्थानमा सिनेटर स्यान्डर्स थिए । उनले एक करोड ८२ लाख डलर चन्दा पाएका थिए । सिनेटर ह्यारिस एक करोड २० लाख डलर उठाएर दोस्रो, ९४ लाख डलर उठाउने बेटो ओ–रर्क तेस्रो स्थानमा थिए ।

पिट ७१ लाख डलर संकलन गरी चौथो स्थानमा रहेपछि धेरैको दिमागको घन्टी बजाइदियो । अमेरिकामा राजनीतिक सफलताको पहिलो खुड्किलो चुनावी चन्दा संकलन हो । एकजनाबाट एउटा त्रैमासमा २८ सय डलरभन्दा धेरै चन्दा लिन पाइँदैन । जतिसक्दो धेरै दातालाई आफ्ना मुद्दामा सहमत नगराई धेरै चन्दा उठ्दैन । दोस्रो त्रैमासमा पिट सबै प्रतिस्पर्धीलाई उछिन्दै पहिलो स्थानमा उक्लिए । उनले दुई लाख ९४ हजार दाताबाट दुई करोड ४८ लाख डलर उठाएका थिए । दोस्रोमा सिनेटर स्यान्डर्सले दुई करोड ४० लाख, तेस्रो स्थानका पूर्वउपराष्ट्रपति बाइडेनले दुई करोड १५ लाख एवं सिनेटर वारेनले एक करोड ९० लाख चन्दा उठाएका थिए । 

तेस्रो त्रैमासमा केही खस्किन पुगेका पिट वर्षको अन्तिम त्रैमासिकमा दोस्रो स्थानमा देखिन्छन् । यो त्रैमासिकमा तीन करोड ४५ लाखसहित स्यान्डर्स नै अग्रस्थानमा रहे भने दोस्रो स्थानका पिटले दुई करोड ४७ लाख डलर संकलन गरे । स्यान्डर्स समाजवादी नेताका रूपमा चिनिन्छन् । पिट आफूलाई मध्यमार्गी पुँजीवादी भन्छन् । धनाढ्यमाथि थप कर लगाएर विपन्नको हितमा राज्यले खर्च गर्नुपर्ने पक्षमा उनी छन् । स्यान्डर्स कलेज पढ्न लिएको ऋण मिनाहा गर्ने पक्षमा छन् ।

पिट ऋण मिनाहा गर्नुको साटो विपन्नलाई राहत दिने योजनामा छन् । स्यान्डर्स सबैलाई निजी स्वास्थ्य बिमाको साटो सरकारी बिमा लागू गर्ने पक्षमा छन् भने पिट इच्छुकले निजी या सरकारी बिमा रोजेर लिन सक्ने पक्षमा । मुद्दाकै कारण भर्खर कलेज जाने उमेरका युवा स्यान्डर्सको पछि छन् भने तुलनात्मक रूपमा परिपक्व हिस्सा पिटसँग । र, यी ‘हजुरबा–नाति’ आइवामा आमनेसामने हुने सम्भावना बढ्दै गएको छ । सर्वेक्षणअनुसार त्यहा“ चारपक्षीय प्रतिस्पर्धा छ । आइवा विश्वविद्यालयको सर्भेअनुसार पिटको समर्थन २४ प्रतिशत छ, दोस्रो स्थानमा २१ प्रतिशत मतसहित स्यान्डर्स छन् । सिएनएनको सर्भेमा भने स्यान्डर्सले २० प्रतिशत समर्थन पाउँदा वारेन, पिट र बाइडेनको समर्थन क्रमशः १७, १६ र १५ प्रतिशत छ । आइवामा यी चारसहित सिनेटर क्लोबुचार र व्यवसायी टोम स्टेयर सहभागी डेमोक्रेटिक पार्टीको आन्तरिक चुनावी बहस भइसकेको छ । 

आइवा ककसको एक सातामै प्राइमरी चुनाव हुने न्यु ह्यामसरमा पनि चारपक्षीय नै प्रतिस्पर्धाको सम्भावना छ । मनमाउथ विश्वविद्यालयको सर्भेअनुसार उक्त राज्यमा २० प्रतिशतसहित पिट पहिलो स्थानमा छन् । एमर्सन सर्भेले २३ प्रतिशत मतसहित स्यान्डर्सलाई पहिलो देखाउ“छ, दोस्रो स्थानका पिटको पक्षमा १८ प्रतिशत । बाइडेन र वारेनले समान १४ प्रतिशत मत पाएका छन् ।

आइवा ककस जित्नेको न्यु ह्यामसरमा पल्लाभारी हुने आकलन गरिएकाले आइवा जित्न स्यान्डर्स, पिट र वारेनले जोड लगाएका छन् । नेभाडा र साउथ क्यारोलिनामा बाइडेन सहज अवस्थामा छन् । पिट, स्यान्डर्स र वारेनमध्ये सुरुका दुई राज्यमा एउटै जित्न नसक्नेको चुनावी अभियान लगभग त्यही सकिनेछ । हावर्ड र अक्सफोर्ड विश्वविद्यालयका ग्र्याजुएट पिटले सन् २००७मा ओबामाको राष्ट्रपतीय क्याम्पेनमा स्वयंसेवा गरेका थिए । सन् २००९मा अमेरिकी सेनाको रिजर्भ अफिसरमा भर्ना भएका उनी सन् २०११मा २९ वर्षको उमेरमा ८० प्रतिशत मतसहित साउथबेन्टको मेयर निर्वाचित भए । मेयरका रूपमा पहिलो कार्यकालमै उनलाई सेनाबाट बोलावट आएपछि सन् २०१४मा अफगानिस्थानको युद्धमैदानमा खटिए । २०१५मा दोस्रो कार्यकालका लागि मेयरको निर्वाचन जिते । यही जनवरीबाट उनको दोस्रो कार्यकाल पूरा भएको छ ।

पिटले आइवा ककस जित्ने सम्भावना प्रबल बताउनेको संख्या बढ्दो छ । मध्यपश्चिम अमेरिकी राज्यको नवयुवा भएका कारण अश्वेत समुदायमाझ उनी पर्याप्त लोकप्रिय बन्न सकेका छैनन् । यसका लागि आइवा या न्यु ह्यामसर जित्नैपर्ने विश्लेषण गरिएको छ । डेमोक्रेटिक पार्टीको मुख्य आधार अश्वेत मतदाताले जित्ने सम्भावितलाई प्राथमिकता दिएको ट्रेन्ड छ । संयोगले सुरुवाती चुनाव हुने दुई राज्यमा ९० प्रतिशत बाहुल्य श्वेत मतदाताको छ । यस्तैमा उनलाई हालै आइवाका तीनमध्ये एक तल्लो सदनमा सात कार्यकालदेखि डेमोक्रेट सांसद लेभ लोयबस्कले समर्थन गरेका छन् । यस्तै, न्यु ह्यामसरकी चार कार्यकालदेखि तल्लो सदन सदस्य एन कस्टरले पिटको पक्षमा उभिएकी छिन् ।

ट्रम्पले ध्रुवीकृत गरेको अमेरिकालाई फेरि एक ढिक्का बनाएर कामकाजी वर्गमा आत्मसम्मान फर्काउने दाबी पिटको छ । ट्रम्पराजमा धनाढ्यलाई दिइएको करछुटका कारण अर्थतन्त्र र सेयर बजार उकालो लागे पनि गरिखाने वर्गको जीवन बदलिन नसकेको भन्दै आप्रवासी र अल्पसंख्यकलाई न्यायको तराजुमा समान बनाउने सपना उनले देखाएका छन् । पिटलाई समलिंगी भएका कारण चुनाव नजित्ने तथा नयाँ एवं विदेशनीतिमा अनुभवहीन रहेको आरोप लगाउने गरिए पनि इन्डियानाजस्तो ‘कन्जरभेटिभ’ राज्यमा समलिंगीको पहिचान खुलाउँदासमेत अत्यधिक भोट पाएर मेयर जिताएको प्रमाण पेस गरिएको छ । वासिंग्टनमा बसेर विदेशनीति सञ्चालन नगरे पनि युद्ध अनुभवका कारण बाह्य मुद्दामा नौलो नरहेको उनको दाबी छ । 

अमेरिकी अर्थतन्त्रका सूचक सबल छन् । तर, राष्ट्रपति ट्रम्पको लोकप्रियता माथि जान सकेको छैन । पहिलो विश्वयुद्धयता दुईपटक मात्र अमेरिकी राष्ट्रपति दोस्रो कार्यकालका लागि चुनाव हारेका छन् । डेमोक्रेट जिम्मी कार्टर रोनाल्ड रेगनसँग र रिपब्लिकन जर्ज एचडब्लु बुस विल क्लिन्टनसँग हारेका थिए । वासिंग्टनमा स्थापितभन्दा नयाँ पृष्ठभूमिबाट आएका डेमोक्रेट उम्मेदवारले नै धेरै इतिहास रचेका छन् ।

२००८मा अश्वेत उम्मेदवार श्वेतबहुल अमेरिकामा राष्ट्रपति हुनेमा धेरैले विश्वास गर्दैनथे, जति अहिले एक समलिंगीले ट्रम्पलाई हराउनेमा अविश्वास छ । पिटले आइवा ककस या न्यु ह्यामसर प्राइमरी जितेमा सन् २०२०को राष्ट्रपतीय चुनावमा उनले बाजी मार्ने सम्भावना ह्वात्तै बढ्नेछ । र, ट्रम्पलाई हराए २०२१को जनवरी १९मा ३९औँ जन्मोत्सव मनाएको भोलिपल्ट उनले राष्ट्रपतिको शपथ खानेछन् । अनि ४३ वर्षको उमेरमा कान्छो राष्ट्रपति भएको जोन एफ केनेडीको रेकर्ड पनि तोडिनेछ ।