१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
एजेन्सी गाजा सिटी
२o८१ जेठ २ बुधबार o७:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

युद्ध रोक्न इजरायललाई अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

Read Time : < 1 मिनेट
एजेन्सी गाजा सिटी
नयाँ पत्रिका गाजा सिटी
२o८१ जेठ २ बुधबार o७:३२:oo

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्ध रोक्न आग्रह गरेका छन् । सैनिक कारबाहीबाट सयौँ व्यक्तिको ज्यान गइसकेको भन्दै बाइडेनले नेतन्याहुलाई दोस्रोपटक युद्ध रोक्न आग्रह गरेका हुन् । यद्यपि इजरायलका प्रधानमन्त्री नेतन्याहुले अहिलेसम्म सकारात्मक जवाफ दिएका छैनन् ।

नेतन्याहुले आफ्ना नागरिकको सुरक्षाको प्रत्याभूति हुने अवस्था सिर्जना नहुँदासम्म सैनिक कारबाही नरोक्ने बताएका छन् । मानवीय र भौतिक क्षति बढ्दै गएपछि बाइडेन प्रशासनमाथि दबाब बढ्न थालेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । इजिप्टका मध्यस्थकर्ताले पनि युद्ध रोक्नेतर्फ कार्य गरिरहेका छन् । उनीहरूले इजरायलको जवाफको प्रतीक्षा गरिरहेका छन् । हमासका एकजना वरिष्ठ अधिकारी मौसा अबु मार्जोकले युद्धविरामको अपेक्षा रहेको बताएका छन् । 

इजरायल र प्यालेस्टाइनबीचको आन्तरिक द्वन्द्व मिलाउन जर्मनीका विदेशमन्त्री हेको मासले दुई पक्षसँग वार्ता गर्ने भएका छन् । उनले यसका लागि इजरायल र प्यालेस्टाइन भ्रमण गर्ने जनाएका छन् । 

युद्ध रोक्न युनिसेफको अपिल
यसैबीच संयुक्त राष्ट्रसंघीय बालबालिकासम्बन्धी कोष, युनिसेफले मध्यपूर्वमा युद्धविरामको अपिल गरेको छ । युनिसेफले त्यहाँका बालबालिकाको सुरक्षा गर्न आग्रह गरेको छ । मध्यपूर्वमा जारी हिंसाका क्रममा लाखौँ बालबालिका असुरिक्षत र उनीहरूको अवस्था नाजुक बनेको छ । युनिसेफका कार्यकारी निर्देशक हानरिता फोरले इजरायल र प्यालेस्टाइनबीचको हिंसाले कैयौँ बालबालिका र अभिभावक घरबारविहीन भएको बताएका छन् ।

त्यसैले यस क्षेत्रमा युद्धविराम गर्न र शान्तिपूर्ण रूपमा यहाँको समस्याको समाधान खोज्न निर्देशक फोरले अन्तर्राष्ट्रिय जगत्सँग आह्वान गरेका छन् । युद्धग्रस्त क्षेत्र गाजाबाट कम्तीमा पनि ३० हजार बालबालिका विस्थापित भएका छन् ।

गाजा क्षेत्रमा बढ्दो हिंसाका कारण कम्तीमा दश लाख बालबालिकामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा युद्धको असर रहेको फोरले बताए । यता विभिन्न समुदायले युद्धविराम तथा शान्ति वार्ता हुनुपर्ने बताइरहे पनि इजरायलले बिहीबार बिहानैदेखि गाजा क्षेत्रमा भीषण हवाई हमला गरेको छ । 

ad
ad