अवैध रूपमा पौने पाँच करोड रुपैयाँ सम्पत्ति आर्जन गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्भेक्षक सुविन्द्र श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पदीय मर्यादाविपरीतका कार्य गरी गैरकानुनी रूपमा चार करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँबराबरको सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले सर्भेक्षक श्रेष्ठविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
अख्तियारले श्रेष्ठको ०५३ साउन २७ देखि ०८१ चैत २९ गतेसम्मको सेवा अवधिलाई आधार मानेर उनको एकाघर परिवार/सगोलमा रहेका व्यक्तिहरूको आम्दानी तथा खर्चको गणना गरी उक्त निष्कर्ष निकालेको हो। सो अवधिमा सात करोड ७५ लाख ७८ हजार ८४० रुपैयाँ (करकट्टीपश्चात प्राप्त ब्याज आयसहित) वैधानिक रूपमा कमाएको श्रेष्ठको परिवारको खर्च १२ करोड ५० लाख २५ हजार ६५४ रुपैयाँ (लगानीसहित) देखिएको आरोपपत्रमा उल्लेख छ।
श्रेष्ठले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती कमला श्रेष्ठको नाममा समेत राखेकाले अख्तियारले दुवैलाई प्रतिवादी कायम गरेको छ। कमलालाई अवैध सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको आरोपपत्रमा उल्लेख छ।