पछिल्ला दुई बाढी–पहिरोका कारण प्रभावित ६२० मेगावाटको १९ परियोजना तत्काल सञ्चालनमा नआउने भएका छन् । १० भदौको भोटेकोशी बाढी र र ८–११ असोजको भारी वर्षात्का कारण आएको बाढीबाट १२ सय ९२ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको थियो । त्यसमा ६२० मेगावाटका १९ परियोजना तत्काल सञ्चालनमा आउन नसकिने देखिएको विद्युत् प्राधिकरणले जनाएको छ ।
१० भदौमा भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका ४३०.८ मेगावाटको १२ परियोजना पनि तत्काल सञ्चालनमा आउनेछैनन् । त्यसमा १११ मेगावाटका रसुवागढी, ७८ मेगावाटको सान्जेन, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए, ४२.५ मेगावाटको तल्लो सान्जेन, २४ मेगावाटको त्रिशूली र २५ मेगावाटको एनइए सोलार परियोजना छन् ।
यसैगरी, २२.१ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ, १४.८ मेगावाटको माथिल्लो सान्जेन, १४.३ मेगावाटको माथिल्लो मैलुङ, १४.१ मेगावाटको देवीघाट र पाँच मेगावाटको मैलुङ खोला जलविद्युत् रहेको छ ।
यसमा अधिकांश परियोजना बाढीले प्रभावित भएका छन् । उनीहरूको विद्युत्गृह, बाँधलगायतका क्षेत्र बाढीले क्षतिग्रस्त गराएको छ । यी सबै परियोजनाको पुनर्निर्माण नै गर्नुपर्ने अवस्था रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, ८–११ असोजको बाढीपछिको पहिरोले २२० केभी कालीगण्डकी करिडोरको कुश्मा दाना खण्ड क्षतिग्रस्त गराएपछि १९० मेगावाटको सात परियोजनाको उत्पादन रोकिएको छ । बाढीले उक्त प्रसारणलाइनको तीनवटा टावर क्षतिग्रस्त गराएको छ । त्यसले गर्दा कुश्माभन्दा माथिल्लो क्षेत्रमा भएका विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछैनन् ।
यसबाट प्रभावित आयोजनामा नीलगिरि–१ (३८ मेगावाट), नीलगिरि–२ (७१ मेगावाट), मिस्त्री (४२ मेगावाट), थापाखोला (१३.६ मेगावाट), घारखोला (१४.८ मेगावाट), रेलेखोला (६ मेगावाट) र घलेम्दी (५ मेगावाट) रहेका छन् । प्रसारण संरचनाको क्षति मर्मत गरी यी आयोजनाको विद्युत् पुनः प्रवाह गर्न केही समय लाग्ने अनुमान गरिएको छ ।
अन्य परियोजनामा भने सम्भावित क्षति रोक्न उत्पादन बन्द गरिएको थियो । बाढीको वेला बन्द गरिएको १४४ मेगावाटको कालीगण्डकी, मर्स्याङ्दी करिडोरका परियोजनालगायतका आयोजनाको उत्पादन पुनः सुरु भइसकेको छ ।
४० मेगावाटको राहुघाट परियोजना भने सञ्चालनमा आउन अझै केही दिन लाग्ने अनुमान गरिएको छ । एक साताअघि मात्रै परीक्षण उत्पादन सुरु गरेको राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ भने टर्बाइन फ्लोरमा पानी पसेको छ । पानी सफा गरी आयोजना पुनः सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान छ । आयोजनाको स्विचयार्ड भने सामान्य अवस्थामा रहेकाले चार्ज गरिसकिएको छ ।
विद्युत् प्राधिकरणका भारप्रेषण केन्द्र प्रमुख अच्युत घिमिरे भन्छन्–भारतबाट आयात गरेर भए पनि हिउँदमा लोडसेडिङ हुन दिँदैनौँ
त्रिशूली करिडोरका लागि अस्थायी रूपमा १३२ केभी तथा २२० केभीमार्फत विद्युत्प्रवाह गर्न सकिन्छ कि भन्ने छ । त्यसो गर्न सकियो भने सान्जेनलगायतका परियोजना सञ्चालनमा ल्याउन सकिन्छ । तर, यतिका परियोजना बन्द हुँदा हिउँदमा चुनौती भने हुन्छ । तर, लोडसेडिङकै अवस्था आउँदैन । हरेक वर्ष औसतमा पाँच सय मेगावाट विद्युत् थपिन्छ । अहिले ६ सय मेगावाटका परियोजना बन्द भएको हो । त्यसो हुँदा धेरै समस्या हुँदैन । नपुग्ने बिजुली भारतबाट आयात गर्छौँ । त्यति गर्दागर्दै पनि पुगेन भने पिकआवरमा औद्योगिक क्षेत्रमा कटौती गर्नुपर्ने अवस्था आउन सक्छ । गार्हस्थ्य वर्गमा समस्या हुँदैन ।
हिउँदमा बिजुली आपूर्ति प्रमुख चुनौती
६२० मेगावाटको १९ परियोजना बन्द भएपछि मुख्यतः हिउँदको विद्युत् माग व्यवस्थापनमा चुनौती देखिएको छ । यद्यपि, लोडसेडिङकै अवस्था नआउने प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख अच्युत घिमिरेले बताए । ‘कुश्मा दाना प्रसारणलाइनमा क्षतिग्रस्त तीन टावरलाई सकेसम्म छिटो पुनर्निर्माण गर्ने प्रयास गरेका छौँ । छिट्टै भयो भने त्यस खण्डका परियोजना सञ्चालनमा आइहाल्छन्,’ उनले भने, ‘त्रिशूली करिडोरका लागि पनि अस्थायी रूपमा १३२ केभी तथा २२० केभीमार्फत विद्युत्प्रवाह गर्न सकिन्छ कि भन्ने छ ।’