पदकको आशा गरिएकी नेपाली जुडो खेलाडी पुनम श्रेष्ठको पनि २०औं एसियाली खेलकुदमा पदक जित्ने सम्भावना सकिएको छ।बिहीबार आइची अन्तर्राष्ट्रिय एरिनामा भएको खेलमा पुनम महिला ७० केजीमूनी भारतीय प्रतिद्वन्दी ताखेलाम्बाम इनुन्गान्वीसँग इप्पोनको आधारमा पराजित भइन् ।
लामो समय चोटपछि रिकवरी भएकी पुनमले भारतीय खेलाडीविरुद्ध भने स्वभाविक प्रदर्शन गर्न सकिनन्। यद्यपि उनको सुरुवात भने उत्कृष्ट थियो। सुरुमा भारतीय खेलाडी दबाबमा परे पनि कमब्याक गर्न सफल भएकी हुन्। ३० सेकेन्डमै घाइते भएपछि उनी एरिनाबाट बाहिरिएकी थिइन्। तर शानदार कमब्याक गर्न सफल भइन।
दुई वर्ष मैदान बाहिर रहेकी पुनम कमब्याक पछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलेकी हुन्। ‘दुई वर्षपछि कमब्याक गर्दा सहज महसुस भयो। खेल जित्छु भन्ने थियो । तर मेरो लक रहेनछ । मेरो प्रयास असफल भयो भारतीय खेलाडी सफल भएन’ पुनमले भनिन्।
योसँगै नेपालले सहभागी भएको ७ मध्ये ५ विधामा पराजित भएको छ। नेपाल सरकारले जुडोबाट पनि पदकको आशा गरेको थियो । बुधबार महिला ४८ केजीमूनीको प्रतिस्पर्धामा निशा श्रेष्ठ, ५२ केजीतर्फको महिला प्रतिस्पर्धामा देवकी माया श्रेष्ठ, पुरुषतर्फको ६६ केजीमूनी विशेष विक र ६६ केजीमूनी विकास विक पराजित भएका भएका थिए।
अब, शुक्रबार नेपालका सुजन गुरुङले ९० केजीमूनी प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै, मिक्स टिमतर्फ पनि नेपालले आफ्नो चुनौती प्रस्तुत गर्नेछ।