मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
तेलअभिभ
२o८३ असोज १५ बिहीबार o८:४३:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

इजरायलमा विमान ठोक्काएर आत्मघाती आक्रमण गर्ने प्रयास विफल : नेतन्याहु

Read Time : > 1 मिनेट
तेलअभिभ
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार o८:४३:oo

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त अरब एमिरेट (युएई)बाट इजरायलतर्फ उडिरहेको ‘फ्लाईदुबई’को विमानमा एक पाइलटले इजरायलमा विमान दुर्घटना गराउने प्रयास गरेको बताएका छन् । बुधबार एक भिडियो सन्देश जारी गर्दै नेतन्याहुले केही ‘नायक’ यात्रुहरूले ‘ठुलो विपत्ति विफल पारेको’ बताए ।

‘उडानका क्रममा जब विमान देश (इजरायल) नजिक पुग्यो, तब एकजना पाइलटले अर्का पाइलटलाई छुरा प्रहार गरे र विमानमा सवार सबै मानिससहित विमान दुर्घटना गराउने प्रयास गरे,’ नेतन्याहुले भने । ‘फ्लाईदुबई’ एयरलाइन्सले पनि बुधबार दुबईबाट तेलअभिभ उडेको आफ्नो एक विमानले उडेको केही समयपछि नै आपत्कालीन संकेत पठाएको थियो । त्यही कारण साउदी अरबको ताबुक विमानस्थलमा आपत्कालीन अवतरण गर्नुपरेको बताइएको छ । फ्लाईदुबईको उक्त उडानका सबै यात्रु सुरक्षित रहेको वायुसेवा अधिकारीले जानकारी दिएका छन् । 

ताबुक विमानस्थलले अवतरणपछि उक्त विमानका पाइलट र सहपाइलट घाइते अवस्थामा अस्पताल भर्ना गरिएको जनाएको छ । उडान ट्र्याकिङ गर्ने वेबसाइट ‘फ्लाइटराडार २४’को तथ्यांकले पनि फ्लाईदुबईको ‘बोइङ ७३७ म्याक्स ८’ विमान उडानका क्रममा उल्लेख्य उचाइमा घटेको देखाएको छ । ०५:२१ जिएमटीमा करिब ३४ हजार फिटको उचाइमा रहेको विमान ०५:२२ जिएमटीमा १७ हजार फिटभन्दा कम उचाइमा झरेको तथ्यांकले देखाउँछ । 

फ्लाईदुबईको विमानसम्बन्धी उक्त घटनापछि, इजरायली विपक्षी नेता यायर लापिडले भने सरकारमाथि इजरायलको सुरक्षासँग सम्झौता गर्दै ‘सस्तो राजनीति’ गरेको आरोप लगाए । लापिडले यस घटनापछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबाट उनलाई दिइएको सुरक्षा ब्रिफिङसँग जोड्ने प्रयासलाई अस्वीकार गरे । ‘म यो कुरा स्पष्ट पार्न चाहन्छु । हिजो राति प्रधानमन्त्रीसँग भएको सुरक्षा ब्रिफिङमा आज बिहानको विमान घटनासँग मिल्दोजुल्दो कुनै पनि कुरा भएको थिएन । हो, त्यसको झल्को दिनेसम्म कुनै संकेत थिएन,’ लापिडले ‘एक्स’मा भनेका छन् । 

लापिडले सरकारनिकट पक्षले यस घटनालाई नजिकिँदै गरेको चुनावमा फाइदा हुने गरी राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न खोजेको आरोप लगाए । (इजरायलमा अक्टोबर २७ मा आमनिर्वाचन हुँदै छ ।) ‘अहिले सरकारका पक्षधरले गरिरहेको प्रचारबाजीले हिजो नै स्पष्ट भइसकेको कुरालाई मात्र पुष्टि गर्छ । उनीहरू फेरि एकपटक इजरायलको सुरक्षामा आँच पुर्‍याएर सस्तो राजनीति गर्न खोज्दै छन्,’ उनले भने ।

विमानका यात्रुले इजरायलको ‘च्यानल १२’ नामक टिभीलाई फोनमार्फत बताएअनुसार उनीहरूले विमानको अगाडिको भागबाट चिच्याएको र पाइलटबिच चर्को भनाभन भएको सुनेको बताएका छन् । साथै आपत्कालीन अवतरण हुनुअघि विमान तीव्र गतिमा तल झरेको पनि तिनले पुष्टि गरे । एएफपी समाचार संस्थासँग कुरा गर्ने मिरियम सिरा ओहायोन नामक यात्रुले ‘दुबईबाट तेलअभिभ उडिरहेको विमान जोर्डनमाथि पुगेपछि एक पाइलटले अर्कालाई छुरा प्रहार गर्ने प्रयास गरेको’ बताइन् । ‘को–पाइलटले पाइलटको हत्या गर्ने र विमानमा आत्मघाती हमलामा प्रयोग गर्ने प्रयास गरे,’ मिरियमले पत्रकारहरूलाई स्पिकर–फोनमार्फत बताइन् । 

↑