२०औँ एसियाडमा बुधबार जुडोको खेल सुरु भएको छ । तर, नेपालका खेलाडीले जुडोमा पहिलो दिनै निराशाजनक प्रदर्शन गरेका छन् । नेपालका ६ जनामध्ये चार खेलाडीले कमजोर प्रदर्शनसहित पहिलो चरणबाटै बाहिरिए । महिला ४८ केजीमुनिको प्रतिस्पर्धामा निशा श्रेष्ठ, ५२ केजीतर्फको महिलामा देवकी माया श्रेष्ठ, पुरुष ६६ केजीमुनि विशेष विक र ६६ केजीमुनि विकास विक पराजित भए । अब, नेपालकी पुनम श्रेष्ठले ५२ केजीमुनि र सुजन गुरुङले ९० केजीमुनि बिहीबार प्रतिस्पर्धा गर्नेछन् ।
मिसन २६ मा जुडोसहित कराँते, तेक्वान्दो, बक्सिङ, कबड्डीलगायत खेलबाट पदकको आशा गरेको थियो । एसियाडको ७५ वर्षको इतिहासमा अहिलेसम्म जुडो पदकविहीन भएको छ । आशाअनुसारको तयारी नभएको प्रशिक्षक सुनिता मगर ताम्राकार बताउँछिन् । खेलाडीले वरीयताप्राप्त विपक्षीविरुद्ध धेरै मिहिनेत गरेको उनको भनाइ छ । ‘हाम्रा प्रतिद्वन्द्वी सबै वरीयता प्राप्त छन् । हामीले भने अझै वरीयता प्राप्त गरेको छैन,’ ताम्राकारले भनिन्, ‘पहिलो दिन चारैजना खेलाडीले शतप्रतिशत दिएर खेले । चारैजनाले कमजोर प्रदर्शन गरेका होइनन् ।’
महिला ४८ केजीमुनि निशा श्रेष्ठ हङकङकी बोङ कालीसँग इप्पोनका आधारमा पराजित भइन् । ५२ केजी महिलामा देवकीले भियतनामकी लाम थिलाई नतिजा सुम्पिइन् । देवकी युकोका आधारमा पराजित भइन् । पुरुष ६६ केजीमुनि विशेष विक हङकङकै बोङ काकीसँग बाजारियोका आधारमा पराजित भए । ६६ केजीमुनि इप्पोनकै आधारमा विकास विक उज्वेकिस्तानका खुचकरोभ समारिदिनसँग पराजित भए । प्रशिक्षक ताम्राकारले दुईजना खेलाडीबाट पदक आशा भएको बताइन् । ‘सुजन पहिलोपटक एसियाली प्रतियोगिता खेल्दै छन् । तर, उसमा गर्न सक्छु भन्ने छ । त्यस्तै, पुनम पनि सानदार प्रदर्शन गरिरहेकी छिन् । भारतकै खेलाडी हुँदा हामी पुनमबाट पनि आशा गर्छ सक्छौँ,’ ताम्राकारको विश्वास छ ।
फाइनलमा चुक्यो नेपाल
नेपालका विजय माझी एसियाडको कनोई स्लालमअन्तर्गत पुरुष कायाक एकलको फाइनल चरणमा पराजित भएका छन् । कनोई स्लालम कोर्समा विजयले १० जना खेलाडीमा दशौँ स्थान पाए । फाइनलमा उनले सबैभन्दा खराब प्रदर्शन गर्दै ३११.१४ स्कोर जोडेका थिए । यो विधामा चीनका हु जाओसानले स्वर्ण पदक प्राप्त गरे । २२ वर्षीय खेलाडीले ९१.४१ स्कोर प्राप्त गरे । जापानका तानाका युकीले रजत तथा काजाकस्तानका कोरोभोभ एलेक्जेन्डरले कांस्य पदक जितेका थिए । विजय सेमिफाइनलमा २७५.७३ स्कोर जोड्दै १६औँ स्थानमा रहेर फाइनल चरण प्रवेश गरेका हुन् ।
सेमिफाइनलमा सहभागिता जनाएका अर्का नेपाली खेलाडी आशिष रानामगर भने फाइनल प्रवेशमा सफल भएनन् । विजय १६औँ स्थानका साथ फाइनल चरण पुग्दा आयोजक जापानका युकी तानाका ९१.७१ स्कोरका साथ शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेका छन् ।