मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
२o८३ असोज १५ बिहीबार o७:३o:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फर्किए एसियाडका कांस्य पदक विजेता 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार o७:३o:oo

जापानको आइची र नागोयामा चलिरहेको २०औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा नेपाललाई कांस्यपदक दिलाएको कराँतेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली बुधबार स्वदेश फर्किएका छन् । कराँतेमा एक मात्र कांस्य दिलाएका तेन्जिङसहित नेपाली कराँते बिहान र कबड्डी टोली साँझ फर्किएका हुन् । कराँते र कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । 

एसियाडमा तेन्जिङले पुरुष ८४ केजी टोली समूहमा नेपाललाई कांस्य दिलाएका थिए । महिला कबड्डी टोलीले एसियाडमा लगातार दोस्रोपटक पदक दिलाएको हो । कबड्डीमा सेमिफाइनल पुगेपछि कांस्य पक्का हुन्छ । 

गत संस्करणमा पनि महिला कबड्डी टोलीले ऐतिहासिक रूपमा पहिलोपटक कांस्य जितेको थियो । एसियाडमा नेपालबाट सहभागी टिम इभेन्टमा लगातार दोस्रोपटक कांस्य जित्ने पहिलो खेल महिला कबड्डी बनेको छ । नेपाली तेन्जिङले भने कांस्य पदक भिडन्तमा सेमिफाइनलमा लाओसविरुद्ध उत्कृष्ट नतिजा निकालेका थिए । 

(एसियाड)मा कांस्य जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको कराँतेका तेन्जिङ शेर्पाले बुधबार आफ्नो ऐतिहासिक सफलता आमा निरकुमारी श्रेष्ठ शेर्पालाई समर्पित गरेका छन् । डेढ साताअघि तेन्जिङले नेपाललाई अन्तिम समयमा कांस्य दिलाउँदै कराँतेबाट पदक दिलाएका थिए । कराँतेमा स्वर्ण र रजत आशा गरेका खेलाडीहरू बाहिरिँदा पुरुष ८४ केजीमाथिको तौलसमूहमा प्रतिस्पर्धा गरेका तेन्जिङले कांस्य पदक दिलाए । उनले कांस्य पदक भिडन्तमा लाओसका खेलाडीलाई ९–१ अंकले पराजित गरेका थिए । 

यसपटक कराँतेबाट स्वर्णसहित थप पदक भिœयाउने लक्ष्यका साथ टोली जापानको नागोया र आइची पुगेको थियो । गत संस्करण नेपाललाई रजत दिलाएकी एरिका गुरुङ, राकेश मानन्धर तथा सानुमाया थिङ सेमिफाइनलसम्म पुग्न सकेनन् । सबैभन्दा एरिकाबाट नेपालले आशा गरेको थियो । उनलाई स्वर्ण पदक जित्ने खेलाडीका रूपमा हेरिएको थियो । तर, सबै आशा गरेका खेलाडी एरियाडमा फ्लप भए । कराँते विधाको अन्तिम दिन तेन्जिङले उत्कृष्ट प्रदर्शन गरी नेपाललाई एरियाडबाट रित्तो हात फर्कन दिएनन् । 

उनीपछि महिला कबड्डी टोलीले पनि लगातार दोस्रोपटक कांस्य जित्न सफल भयो । कांस्य पदक विजेता तेन्जिङ बुधबार बिहान स्वदेश फर्किदा आमा निरकुमारीले छोरालाई भावुक हुँदै स्वागत गरिन् । त्यसपछि तेन्जिङले पनि आमालाई कांस्य पदक लगाइदिए । कांस्य जितेको समयमा पनि उनले आमालाई खुबै मिस गरेका थिए । ‘आज म जहाँ छु आमाको कारणले हो । मेरो जीवनमा उहाँ सबै हुनुहुन्छ । एसियाडको पदक आमालाई समर्पण गरेको हुँ,’ तेन्जिङले भने । नेपाली कराँते टोली एसियाडपछि योकोहामामा सितेरियो कराँते च्याम्पियनसिपमा प्रतिस्धर्पा गरेको थियो । जहाँ दुई स्वर्णसहित नेपालले ६ पदक हात पारेको थियो । 

भाडामा बस्छन् तेन्जिङ परिवार
तेन्जिङको कराँते यात्रामा आमा निरकुमारीको ठुलो योगदान रहेको छ । बौद्ध डोजोबाट कराँते करिअर सुरु गरेका तेन्जिङको परिवार काठमाडौंको बौद्धमा भाडाको कोठामा बस्दै आएको छ । एपिएफ क्लबमा आबद्ध तेन्जिङको एसियाड यात्रामा आमाले सक्दो सहयोग गरेकी थिइन् । ‘छोराले पदक ल्याउने विश्वास थियो । मैले जुन सपना देखेकी थिएँ । 

त्यो पूरा भएको छ,’ आमा निरकुमारीले भनेकी छिन् । यसैगरी, तेन्जिङले एसियाडको पदकले आफूलाई निकै खुसी दिलाएको बताए । ‘यो ऐतिहासिक पदकसँगै ममाथि थप जिम्मेवारी पनि थपिएको महसुस भएको छ,’ उनले भने । आफनो कराँते यात्रा सुरु गरेको बौद्ध डोजोलगायत सहयोगी सम्पूर्णलाई धन्यवाद उनले दिए ।

कराँतेका प्रशिक्षक कुशल श्रेष्ठलाई यसपटक आफ्नो टोलीले जापानमा अघिल्लोपटकको तुलनामा भन्दा थप उत्कृष्ट नतिजा आउने विश्वास थियो । तीन वर्षदेखिको लगातार तयारीका कारण पनि उनी एसियाडमा हौसिएका थिए । एसियाडको उद्घाटनको भोलिपल्ट नै कराँतेको खेल रह्यो । 

कराँतेको पहिलो दिन पदक सम्भावित खेलाडी रिङमा उत्रिए । एकपछि अर्को गर्दै पदक दाबेदार बाहिरिँदै गए । जसका कारण प्रशिक्षक श्रेष्ठ निराश देखिए । अन्तिम दिनमा तेन्जिङको पदकले उनलाई केही राहत दियो ।

कबड्डीमा लगातार दोस्रो कांस्य
एसियाडमा दोस्रोपटक सहभागिता जनाएको नेपाली महिला कबड्डीले उत्कृष्ट प्रदर्शन गरेको थियो । महिला कबड्डीमा आठ राष्ट्र सहभागी थिए । समूह ‘बी’को लिगमा नेपालले थाइल्यान्डलाई ४६–४३ र श्रीलंकालाई ३४–२५ ले हराएको थियो । गत संस्करणको उपविजेता चाइनिज ताइपेईसँग ३७–१८ ले चुकेपछि नेपाल समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनल पुगेपछि नेपालले कम्तीमा कांस्य पदक निश्चित गरेको थियो । सेमिफाइनलमा नेपाल भारतसँग १८–३७ ले पराजित भएको थियो । 

मानमती विष्टको कप्तानीमा रहेको टोलीमा रविना चौधरी, गंगा घिमिरे, नानुमाया पराजुली, विनिता पण्डित क्षेत्री, जयन्ती बडू,  आस्मा यादव, खिममाया खत्री, मेनुकाकुमारी राजवंशी, मिना नेपाली, सिर्जनाकुमारी थारु र मनीषा जोशी रहेका छन् । मानमति, मेणुका, जयन्ती, रविना, सिर्जना र गंगा १९औँ हाङझाउ एसियाडमा पनि थिए । मुख्य प्रशिक्षकमा पार्वती राई, सहायक प्रशिक्षकमा लोकबहादुर विष्ट र व्यवस्थापकमा शरद दर्शनधारी छन् । हाङझाउ एसियाडमा पनि पार्वती मुख्य प्रशिक्षक थिइन् ।

↑