मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
प्रेम गौतम काठमाडाैं
२o८३ असोज १५ बिहीबार o६:४८:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेसमा वडादेखि केन्द्रसम्म कम्तीमा ४४ हजार युवा नेतृत्वमा आउँदै

Read Time : > 5 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार o६:४८:oo

नेतृत्वमा ‘दाइ–दिदी’ संस्कृतिको विरासत रहेको पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसमा यसपटक पुस्तान्तरण नारामा मात्र सीमित नरही संगठनको संरचनामै देखिन थालेको छ । १५औँ महाधिवेशनको प्रक्रियासँगै वडादेखि केन्द्रसम्म ठुलो संख्यामा युवा नेतृत्व तहमा आउँदै छन् ।

विधानमै युवाको न्यूनतम प्रतिनिधित्व सुनिश्चित गरिनुले कांग्रेसको परम्परागत संरचनामा नयाँ पुस्ताको प्रवेश संस्थागत गरेको हो । युवाको प्रतिनिधित्वलाई नीति निर्माणसँग जोड्ने दाबी नेतृत्वको छ भने युवा नेता यसलाई पार्टीभित्र आफ्नो भूमिका विस्तारको सुरुवातका रूपमा लिइरहेका छन् ।

१५औँ महाधिवेशनअन्तर्गत वडा, पालिका र क्षेत्रमा ठुलो संख्यामा युवाको प्रतिनिधित्व भएको छ वा अधिवेशन हुन बाँकी ठाउँमा पनि आउने निश्चित गरिएको छ । यसरी वडादेखि केन्द्रसम्म सबै तहका अधिवेशन–महाधिवेशन सकिँदासम्म कांग्रेसमा झन्डै ४४ हजार युवा पदीय जिम्मेवारीमा पुग्दै छन् ।

नेतृत्वका लागि लामो समय कुर्नुपर्ने र माथिल्लो पुस्ताको छायाबाट बाहिर निस्कन कठिन हुने गुनासो युवाको रहँदै आएको थियो । विशेष महाधिवेशनपछि कांग्रेसका विभिन्न तहमा युवाको प्रतिनिधित्व उल्लेख्य बढेको छ ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति बन्यो । साथसाथै कांग्रेसमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधानसमेत संशोधन भयो । सोही विधानअनुसार हाल कांग्रेसको अधिवेशन भैरहेका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको छ भने क्षेत्रीय अधिवेशन पनि अधिकांश स्थानमा सम्पन्न भइसकेको छ ।

वडा कार्यसमितिमा कम्तीमा १० हजार २७१ युवा छानिएका छन् भने क्षेत्रीय प्रतिनिधिमा कम्तीमा ३३ हजार ७१५ युवा चयन भएका छन् । कांग्रेसको माथिल्लो तहमा पुग्न क्षेत्रीय प्रतिनिधि अनिवार्य हुनैपर्छ । क्षेत्रीय प्रतिनिधिमा हरेक वडाबाट कम्तीमा तीनजना छनोट भएका छन् ।

क्षेत्रीय प्रतिनिधिले मात्रै पालिका र प्रदेश प्रतिनिधिका साथै महाधिवेशन प्रतिनिधि बन्न पाउँछन् । महाधिवेशन प्रतिनिधिले मात्रै जिल्ला र प्रदेशको नेतृत्वका साथै केन्द्रीय कार्यसमितिको उम्मेदवार बन्न पाउँछन् ।

पालिकामा कम्तीमा २२५९ युवा छानिएका छन् । प्रत्येक गाउँपालिका कार्यसमितिमा ३० वर्षमुनिको कोटाबाट एक महिलासहित तीन युवा चयन भएका छन् । यस्तै, नगरपालिकातर्फ ३० वर्षमुनिका एक महिलासहित तीन युवा कार्यसमितिमा आएका छन् ।

प्रताप पौडेल

विधान मस्यौदा समितिका सदस्यसचिव तथा सभापति थापाका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेलले सबै तहमा युवाको न्यूनतम प्रतिनिधित्व सुनिश्चित गरिएको र सुझावका आधारमा महाधिवेशनमा अझै थप परिमार्जन हुन सक्ने बताए । ‘भदौ २३ र २४ को युवा विद्रोहपछि कांग्रेसले विधानको प्रस्तावनामै युवाको विषयलाई समावेश गर्दै ग्रहण गर्‍यो र विधानमा संरचनागत परिवर्तन भयो । कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहँदा सबैभन्दा बढी आकर्षण युवामा देखिएको छ । प्रतिस्पर्धा पनि युवामै छ,’ पौडेलले भने, ‘वडादेखि केन्द्रसम्म युवाको न्यूनतम प्रतिनिधित्व कांग्रेसले सुनिश्चित गरेको छ । प्रत्येक वडाबाट क्षेत्रीय प्रतिनिधि कम्तीमा तीनदेखि सातजनासम्म चयन भएका छन् । समग्रमा चार–पाँचजनाको हिसाबले वडाबाट युवा क्षेत्रीय प्रतिनिधि छनोट भएका छन् । सबै तहमा युवाको न्यूनतम प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।’ उनका अनुसार सुझावका आधारमा महाधिवेशनमा विधानमा थप परिमार्जन हुन सक्छ । ‘युवालाई नीति निर्माणको तहमा स्थापित गर्ने हाम्रो सोच हो,’ उनले भने ।

नेपालका कुनै पनि राजनीतिक दलमा एकैपटक यति धेरै युवाले पदाधिकारीको जिम्मेवारी पाएको इतिहासमै पहिलोपटक भएको पौडेलको दाबी छ । ‘राष्ट्रिय मान्यताप्राप्त दलमध्ये सबैभन्दा कम उमेरको सभापति कांग्रेसकै हुनुहुन्छ । युवालाई राजनीतिमा स्थापित गर्ने उद्देश्यले विधानमै व्यवस्था गरिएको हो,’ उनले भने । उनका अनुसार कांग्रेस अब युवामैत्री पार्टीका रूपमा अघि बढिरहेको छ । विशेष महाधिवेशनपछि ३० वर्षमुनिका एक लाखभन्दा बढी सक्रिय सदस्य थपिएको उनले दाबी गरे ।

एलिजा ढकाल

तनहुँकी युवा नेतृ एलिजा ढकालले कांग्रेस अब दाइदिदीहरूको मात्रै नभई सबैको पार्टी भएको सन्देश प्रवाह भएको बताइन् । ‘कांग्रेसले सबै तहमा सबै उमेर समूहको प्रतिनिधित्व हुने गरी विधान बनाएकाले युवाको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित भएको छ । बा, दाइदिदीहरूको सोच र भावना तथा युवाको सोचको सम्मिश्रणबाट कांग्रेस नयाँ ढंगले अघि बढ्दै छ भन्ने यो एउटा उदाहरण हो,’ उनले भनिन्, ‘वडादेखि केन्द्रसम्म सबै उमेर समूहको प्रतिनिधित्व सुनिश्चित भएको छ । कांग्रेसजस्तो पुरानो लोकतान्त्रिक पार्टी अब दाइदिदीहरूको मात्र होइन, सबैको पार्टी हो भन्ने सन्देश प्रवाह भएको छ ।’

शंकर तिवारी

त्यस्तै, चितवनका शंकर तिवारीले कांग्रेसमा युवाको प्रतिनिधित्वले लोकतन्त्रलाई मजबुत बनाउन भूमिका खेल्ने बताए । ‘कांग्रेसमा युवाहरू भोटर बैंकमा मात्र केन्द्रित छन् भन्ने भाष्य अहिले चिरिँदै गएको छ । विशेष महाधिवेशनपछि युवा वर्गको हस्तक्षेपकारी भूमिका हुनुपर्छ, नीति–निर्माणमै हस्तक्षेप गर्नुपर्छ भन्ने भावना विकास भएको छ,’ उनले भने, ‘वडादेखि केन्द्रसम्मै युवा प्रतिनिधित्व सुनिश्चित भएको छ । तर, युवाको हस्तक्षेपकारी भूमिकाका लागि क्लस्टरबाट मात्र सम्भव छैन । युवालाई स्वीकार गर्ने अवस्थामा जिल्ला तहमा अझै समस्या देखिन्छ ।’

उनले त्यसलाई पनि सुधार गर्नुपर्ने बताए । ‘राम्रो सुरुवात भएको छ । राजनीतिक दलमा युवाको प्रतिनिधित्व बढाउनु भनेको लोकतन्त्रको आधार बलियो बनाउनु हो । कांग्रेसमा युवा प्रतिनिधित्वले लोकतन्त्रलाई मजबुत बनाउन भूमिका खेल्छ । यसले युवामा उत्साह पैदा गरेको छ,’ तिवारीले भने । 

सौरभ चतुर्वेदी

यस्तै, कपिलवस्तुका युवा नेता सौरभ चतुर्वेदीले विचारसहितको युवा प्रतिनिधित्वले राजनीतिक दलसँगै समाज परिवर्तनमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘युवाहरू स्पष्ट वक्ता हुन्छन् । पार्टीमा युवाको प्रवेशपछि नयाँ सोच र नयाँ विचार आउँछ । युवाको उल्लेख्य प्रतिनिधित्वले कांग्रेस रूपान्तरणमा अहं भूमिका खेल्छ,’ उनले भने, ‘वडाबाट युवाको प्रवेश भएर केन्द्रसम्म प्रतिनिधित्व सुनिश्चित भएको छ । यसले कांग्रेसलाई नयाँ ढंगले अगाडि बढाउन सहयोग पुर्‍याउँछ । विचारसहितको युवा प्रतिनिधित्वले राजनीतिक दलसँगै समाज परिवर्तनमा सकारात्मक भूमिका खेल्नेछ ।’

देउवा समूहको वडा अधिवेशन आज, निर्वाचन आयोगलाई जानकारी

  • वडादेखि केन्द्रसम्मै जेन–जी अनिवार्य ल्याउने नीति

समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि युवाहरूलाई नेतृत्वमा मौका दिने नीति लिएको छ । वडादेखि केन्द्रसम्मै जेन–जीको प्रतिनिधित्व गराउने नीतिअनुसार देउवा पक्षले तल्ला तहमा अधिवेशनमा चयन गर्न निर्देशन पठाइसकेको छ ।

१५औँ महाधिवेशनका लागि गठन गरिएको एकराज पोख्रेल नेतृत्वको निर्वाचन समितिले जारी गरेको निर्देशिकाअनुसार वडादेखि केन्द्रसम्मको कार्यसमितिमा जेन–जीको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । सबै तहका कार्यसमितिमा १८ देखि २८ वर्षसम्म उम्मेर समूहका महिला र पुरुष एक–एकजनालाई अनिवार्य प्रतिनिधित्व गर्नुपर्ने प्रावधान देउवा पक्षले गरेको छ । ‘निर्वाचित हुने सबै तहका कार्यसमितिहरूमा १८ देखि २८ वर्षसम्मको एक महिला र एक पुरुष अनिवार्य समावेश गर्ने प्रावधान राखिएको छ,’ डा. प्रकाशरण महतले भने, ‘वडादेखि केन्द्रसम्मै नवयुवाको प्रतिनिधित्व हुन्छ ।’

त्यसैबिच देउवा पक्षले बिहीबार वडा अधिवेशन सुरु गर्दै छ । महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले वडा अधिवेशन पार्टीको संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासका दृष्टिले महत्वपूर्ण चरण भएको बताएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै कोइरालाले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउँदै १५औँ महाधिवेशनलाई उत्साह, एकता र लोकतान्त्रिक अभ्यासको सशक्त उत्सवका रूपमा सम्पन्न गर्न सबैको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन् ।

‘वडा अधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र होइन, पार्टीको संगठनलाई नयाँ ऊर्जा दिने, कार्यकर्ताबिचको एकतालाई थप मजबुत बनाउने र नेपाली कांग्रेसलाई जनताको भरोसाको पार्टीका रूपमा अझ सशक्त बनाउने महत्वपूर्ण अवसर हो,’ कोइरालाले भनेका छन्, ‘नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूलाई उच्च मनोबल, उत्साह, जिम्मेवारीबोध र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन हार्दिक अनुरोध गर्दछु ।’

यस्तै, देउवा पक्षले १५औँ महाधिवेशन कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराएको छ । देउवा पक्षको १५ असोजमा वडा, २० असोजमा गाउँ/नगरपालिका, २३ असोजमा प्रदेश सभा क्षेत्रीय, १५ कात्तिकमा जिल्ला, ४ मंसिरमा प्रदेश अधिवेशन र २१–२३ मंसिरमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका छ । 

देउवाको हस्ताक्षर रहेको पत्र निर्वाचन आयोगमा बुझाइएको नेता महतले बताए । पत्रमा १५ असोजदेखि वडा अधिवेशन सुरु भएर २१–२३ मंसिरमा १५औँ महाधिवेशन सम्पन्न गर्ने उल्लेख छ । ‘१४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले १५औँ महाधिवेशन गर्दै छौँ भनेर कार्यतालिकासहितको विवरण आयोगमा बुझाएका छौँ,’ डा. महतले भने । 

आयोगका सूचना अधिकारी सुमन घिमिरेले देउवा पक्षले दिएको महाधिवेशनबारे निवेदन प्राप्त भएको बताए । ‘निवेदन दर्ता भएको छ । निवेदन आएपछि दर्ता गर्ने आयोगको प्रचलन छ,’ घिमिरेले भने, ‘पहिला विशेष महाधिवेशन हुँदा पनि निवेदन दर्ता भएको थियो ।’ यद्यपि, कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन छ ।

विश्लेषक प्रा. हेमराज सुवेदी भन्छन्–युवाको सहभागिताविना अब राजनीति सम्भव छैन 
कांग्रेस संस्थापनले सबै तह र तप्काका युवालाई समेटेर अघि बढ्न खोज्नु सकारात्मक पक्ष हो । झन्डै ४४ हजार युवालाई विभिन्न समितिमा आबद्ध गरेर आकर्षित गर्न खोजिएको देखिन्छ । यसले विगतमा युवालाई समेट्न नसक्दा पार्टी पछाडि परेको निष्कर्षसहित युवालाई कार्यकर्ता मात्र बनाउने परम्परामा परिवर्तन खोजेको संकेत गर्छ ।

खासगरी कांग्रेसमा संस्थापक बिपी कोइरालाको विरासत खोज्ने काम मात्रै हुँदै आएको थियो । अब बल्ल नयाँ युवालाई समावेश गर्ने वैधानिक व्यवस्था भएको छ । अर्कोतर्फ, देउवा पक्षले पनि जेन–जीलाई समावेश गर्ने कुरा उठाएको छ । त्यो पनि सकारात्मक हो । देशलाई अघि बढाउने शक्ति युवा नै हुन् ।

उनीहरूलाई राजनीतिमा समावेश गरिनुपर्छ । युवाको सवालमा कांग्रेस मात्र होइन, अन्य राजनीतिक दलले पनि गम्भीर भएर सोच्न जरुरी छ । युवालाई सत्ता हस्तान्तरण नगर्ने हो भने राजनीतिक दल र तिनका नेतृत्वले अब ठुलो चुनौती सामना गर्नुपर्ने अवस्था आउँछ । युवाको सहभागिताविना अब राजनीतिको भविष्य सम्भव छैन ।

↑