महाकालीपारिको भूगोललाई जोड्न २२ वर्षअघि निर्माण गरिएको दोधाराचाँदनी झोलुंगे पुल चुँडिएको छ । दोधाराचाँदनी नगरपालिकालाई कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरसँग जोड्ने पुलको एउटा पिल्लर बुधबार बिहान भासिएर पुल चुँडिएपछि आवतजावत ठप्प भएको छ ।
पुलको करिब तीन सय मिटर भाग नदीमा खसेको छ । पुलले वारिपारि दोधाराचाँदनी नगरपालिका– ४, दोधारा र भीमदत्त नगरपालिका– १३, पिपरैयालाई जोड्छ ।
कुनै समय यो पुल महाकालीपारिको दोधाराचाँदनी क्षेत्रलाई जिल्लाका अन्य भूभागसँग जोड्ने एक मात्र विकल्प थियो । २२ वर्षअघि दोधाराचाँदनीको पुल बनेपछि मात्र दोधाराचाँदनी महाकालीवारि जोडिएको थियो । त्यसअघि नेपालकै भूभाग आउन भारतीय बाटो प्रयोग गर्नुपर्ने स्थिति थियो ।
दोधाराचाँदनी नगरपालिकाका मेयर किशोरकुमार लिम्बूले बुधबार बिहान ६ बजेतिर आठवटामध्ये एउटा पिलर भासिएको र पुलको तीन सय मिटर महाकाली नदीमा खसेको बताए । पछिल्लोपटक महाकाली नदीमा (झोलुंगे पुलको दुई किलोमिटर उत्तर) चार लेनको पक्की पुल निर्माण भइसकेको छ । तर, झोलुंगे पुल पर्यटकीय गन्तव्य बनेको थियो । त्यस्तै, साइकल, मोटरसाइकल र पैदल आउजाउ गर्नेहरू यही पुल प्रयोग गर्थे । बुधबारबाट भने झोलुंगे पुलबाट आउजाउ पूर्ण रूपमा ठप्प भएको छ ।
भीमदत्त नगरपालिका– १३ का वडाध्यक्ष रामचन्द्र बोहराले पुल चुँडिएसँगै स्थानीयलाई घुमाउरो भएर जानुपर्ने बाध्यता भएको बताए । उनका अनुसार नेपाली तथा बाह्य मुलुकका पर्यटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै झोलुंगे पुल अवलोकनका लागि आउने गर्थे । ‘पुल हेर्न दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटन आउने गरेका थिए । पुल भासिएपछि पर्यटक आउने कुरा भएन । जतिसक्दो शीघ्र सरकारले निर्माण गरोस्,’ उनले भने ।
नेपालकै सबैभन्दा लामो यो पुल पर्यटकीय गन्तव्य हो । आकर्षक डिजाइनसहितको यो पुल हेर्न ठुलो संख्यामा आन्तरिक र बाह्य पर्यटक पुग्ने गरेका छन् ।
दोधारामा पुलको छेउमा व्यापार गर्दै आएकी मधु सिंहले पुल चुँडिदा आवतजावत बन्द भएपछि असहज भएको बताइन् । पुल हेर्न आउने पर्यटकले स्थानीय व्यापार व्यवसायमा सहयोग पुगेको उल्लेख गर्दै उनले पुल भत्किएपछि व्यापारसमेत प्रभावित हुने बताइन् ।
०५८ मा निर्माण सुरु भएर ०६१ मा सम्पन्न भएको १४ सय ५३ मिटर लम्बाइ र १.६ मिटर चौडाइको यो पुल कुनै वेला दक्षिण एसियाकै दोस्रो लामो पुलका रूपमा परिचित थियो । महाकाली नदीपारिको नेपाल भनेर चिनिने दोधाराचाँदनीलाई जिल्ला मुकाम महेन्द्रनगरसँग प्रत्यक्ष जोड्न १० करोड लागतमा पुल बनेको थियो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले चुँडिएको पुल मर्मत गरिने बताए । चुँडिएको पुलका फोटा, भिडियो सडक विभागको पुल मर्मत शाखाका विज्ञ टोलीलाई पठाएको र प्राविधिक आएर अध्ययन गर्ने बताए ।
प्राविधिक अध्ययनपछि पुनर्निर्माण अगाडि बढाउँछौँ : मुख्यन्त्री भट्ट
सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टसहित प्रदेश सरकारका पदाधिकारीले बुधबार दिउँसो पुलको निरीक्षण गरेका छन् । मुख्यमन्त्री भट्ट विभागीयसहित केही मन्त्री र प्राविधिकको टोली लिएर पुलको निरीक्षण गर्न पुगेका थिए । त्यस क्रममा उनले पुलको प्राविधिक स्टिमेट तयार भएपछि पुनर्निर्माण प्रक्रिया अगाडि बढाइने बताए ।
उनले बजेटले धान्न सक्ने स्थितिमा प्रदेशले पुनर्निर्माण गर्ने र धेरै बजेट लाग्ने स्थितिमा संघ सरकारलाई पुनर्निर्माणका लागि आग्रह गर्ने बताए । ‘प्राविधिक रूपमा के छ ? हेरेर लागत स्टिमेट निकाल्छौँ, यसलाई तदारुकताका साथ अगाडि बढाउन हाम्रो प्रदेशले जे सक्छ, सकेको सबै गर्छ,’ मुख्यमन्त्री भट्टले भने, ‘प्राविधिक स्टिमेट निकालिसकेपछि स्रोतसाधनले भ्याए हामी लगानी गर्छौँ, प्रदेशलाई ज्यादै ठुलो भार पर्ने स्थिति हो भने संघ सरकारलाई अनुरोध गर्छौँ ।’
ठुलो लगानी आवश्यक पर्ने यस्ता योजनालाई संघले पनि उदारतापूर्वक हेरिदिनुपर्ने उनले बताए । दोधाराचाँदनीको झोलुंगे पुल ऐतिहासिक विकासको पूर्वाधार मात्र नभई पर्यटन विकासको आधारशीला पनि भएको मुख्यमन्त्री भट्टले बताए ।
पुलको निरीक्षणपछि सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री ओमबिक्रम भाटले महाकालीपारिको भूभाग दोधाराचाँदनीलाई नेपालसँग जोड्न यो पुलको महत्वपूर्ण ऐतिहासिक भूमिका रहेको बताए । पर्यटकीय दृष्टिले पनि यो महत्वपूर्ण रहेकोले तत्काल पुनर्निर्माण हुनुपर्ने उनले बताए ।
मन्त्री भाटले पुलको पुनर्निर्माणबारे संघीय सरकारसँग तत्कालै आवश्यक छलफल गरिने बताए । संघले प्रदेशलाई निर्माण गर्न भनेको अवस्थामा प्रदेश सरकार पुनर्निर्माण गर्न तयार रहेको उनको भनाइ छ । ‘संघीय सरकारसँग कुरा गर्छौँ । प्रदेश अहिले बजेट निर्माणको तयारीमा छ । हामीले बनाउनुपर्ने अवस्थामा यसै वर्ष बजेट विनियोजन गर्छौँ,’ मन्त्री भाटले भने, ‘बजेटका हिसाबले पनि संघीय सरकारले नै निर्माण गरिदिए सहज हुन्छ । तर, प्रदेशले नै गर्नुपर्ने अवस्था आए हामी तयारै छौँ ।’
पानीको बहाब पिल्लरतिरबाटै बग्दा क्षति
महाकाली नदीको बहाब पिल्लर भएकै ठाउँबाट एकत्रित भएर बगी फाउन्डेसनभन्दा तलसम्मै कटान हुँदा भत्किएको प्रारम्भिक निष्कर्ष छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख रहेका इन्जिनियर पदम मडैले प्रारम्भिक अध्ययन गर्दा सिंगो नदीको बहाब त्यही पिलर भएर बगेको र पिलरको जगभन्दा मुनिबाट कटान गर्दा पिल्लर ढलेको हुन सक्ने बताए । उनले बिहीबारसम्ममा सडक विभागबाट पुलविज्ञ टोली आएर अध्ययन गर्ने बताए ।
बहाब साढे पाँच लाख क्युसेक पुग्दा पनि नढलेको पुल ६० हजार क्युसेकमै ढल्यो
महाकाली नदीमा साढे पाँच लाख क्युसेक पानीको जलस्तर पुग्दा पनि ढलेको थिएन । तर, बुधबार पुल भासिँदा महाकालीमा पानीको बहाब ६० हजार क्युसेक मात्र थियो । शारदा ब्यारेजको तथ्यांकअनुसार पुलको पिल्लरसहित बिचभाग चुँडिएको दिन बुधबार ६ बजेतिर पानीको बहाब ६० हजार १७३ क्युसेक थियो । यसअघि दुईपटक उच्चतम २ कात्तिक ०७८ मा पाँच लाख ४७ हजार २२४ क्युसेक र ४ असार ०७० मा पाँच लाख ४४ हजार क्युसेक पुगेको थियो ।