१६–१९ असोजका लागि तय भएको कांग्रेसको १५औँ महाधिवेशन केही दिन धकेलिने भएको छ । वर्षाका कारण तल्लो तहका अधिवेशन प्रभावित भएपछि तोकिएको मितिमा महाधिवेशन उद्घाटन गर्न कठिन हुने निष्कर्षमा नेताहरू पुगेका छन् । महाधिवेशनको मिति नजिकिएसँगै मिति परिवर्तनको तयारी गरिएको छ ।
घोषित मितिको अन्तिम दिन १९ असोजमा महाधिवेशन उद्घाटन गर्ने कि दसैँ–तिहारपछि सार्ने भन्ने विषयमा छलफल सुरु भएको एक नेताले बताए । तर, औपचारिक निर्णय हुन बाँकी छ । वर्षाका कारण कांग्रेसले यसअघि पनि तल्लो तहका अधिवेशनको मिति परिवर्तन गर्दै आएको थियो ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले वर्षाका कारण तल्लो तहका अधिवेशन प्रभावित भएकाले महाधिवेशनमा पनि त्यसको असर पर्ने बताए । उनले वैधानिक र कानुनी रूपमा अप्ठ्यारो नपर्ने गरी अर्को मिति तोकिने बताए । ‘निरन्तरको वर्षाले अधिवेशनहरू प्रभावित भएका छन् । कतिपय ठाउँमा १४ असोजमा क्षेत्रीय अधिवेशन छ । त्यसकारण १६ असोजसम्म काठमाडौं आउनै नसक्ने स्थिति छ,’ उनले भने, ‘नीतिगत रूपमा महाधिवेशनको कार्यतालिका परिवर्तन गरेका छैनौँ । वैधानिक र कानुनी रूपमा अप्ठ्यारो नपर्ने गरी निर्णय गर्छौँ ।’
१० असोजमै क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका भए पनि निरन्तरको वर्षाका कारण मंगलबारसम्मको समय दिइएको थियो । महाधिवेशन प्रतिनिधि छानिने क्षेत्रीय अधिवेशन मंगलबारसम्म सम्पन्न हुने स्थिति छैन । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार १६ जिल्लामा क्षेत्रीय अधिवेशन सकिएको छ भने २२ जिल्लाका क्षेत्रमा निर्वाचन भइरहेको छ । ‘बाँकीमा मंगलबार हुँदै छ,’ उनले भने ।
कांग्रेस नेता अर्जुननरसिंह केसी महाधिवेशनको मिति सारेर सहमतिको प्रयास गर्नुपर्ने बताउँछन् । ‘महाधिवेशनको मिति दसैँ–तिहार पछि सारेर भए पनि अझै सहमतिको प्रयास गर्नुपर्छ । कांग्रेसलाई एकढिक्का बनाएर मात्रै देशको चुनौती सामना गर्न सकिन्छ । सबैले एक कदम अघि बढेर सहमतिमा पुग्नुपर्छ भन्नेमा छु,’ उनले भने । कांग्रेसको १५औँ महाधिवेशन १६–१९ असोजमा काठमाडौंको खुलामञ्चमा गर्ने कार्यतालिका छ । जिल्ला र प्रदेश अधिवेशन भने महाधिवेशनपछि गर्ने कांग्रेसको तयारी छ ।
पदाधिकारीमा आकांक्षीको लर्को, कुन पदमा कसको चाहना ?
कांग्रेसको १५औँ महाधिवेशनका लागि मतदाता (महाधिवेशन प्रतिनिधि) टुंगो नलाग्दै पदाधिकारीका लागि नेताहरू आन्तरिक गृहकार्यमा लागेका छन् । महाधिवेशन नजिकिँदै गर्दा सभापतिसहित पदाधिकारीमा नेताहरू खुल्दै गएका छन् । विशेष महाधिवेशनबाट संशोधन गरिएको विधानअनुसार केन्द्रीय समिति २३१ सदस्यीय हुनेछ ।
सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठसहित १३ पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुनेछन् । कोषाध्यक्ष र तीन सहमहामन्त्री सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नेछ । मनोनीतसहित कांग्रेस पदाधिकारी १७ सदस्यीय हुनेछ । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा १५औँ महाधिवेशनमा पनि सभापतिमा निरन्तरता दिने तयारीमा छन् । विशेषबाट सभापति निर्वाचित भएका थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले अद्यावधिक गरेको थियो । सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयलाई मान्यता दिए पनि देउवा पक्षको पुनरवलोकन निवेदनमा भने सर्वोच्चले निस्सा दिएको छ । आधिकारिकता मुद्दा अझै अदालतमा विचाराधीन छ ।
१४औँ महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवाको प्यानलबाट सहमहामन्त्री बनेका किशोरसिंह राठौरले सभापतिमा उठ्ने घोषणा गरेका छन् । ‘पार्टीको महाधिवेशन हो, म सभापतिमा उम्मेदवारी दिन्छु,’ उनले भने । राठौर नेविसंघको पूर्वअध्यक्षसमेत हुन् । देउवा खेमाका मानिएका राठौरले विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिको निर्णयअनुसार क्रियाशील सदस्यता अद्यावधिक गराएका थिए ।
उपसभापतिमा विशेष महाधिवेशनबाट चयन भएका विश्वप्रकाश शर्मा र पुष्पा भुसाल नै दोहोरिने तयारीमा छन् । सकभर सर्वसम्मतको प्रयास हुने र सहमति नजुटे निर्वाचनबाटै आउने तयारीमा शर्मा र भुसाल छन् ।
महालक्ष्मी उपाध्याय डिनाले पनि उपसभापतिमा आकांक्षा राखेकी छिन् । तर, उनले सार्वजनिक रूपमा घोषणा गरेकी छैनन् । महाधिवेशन प्रतिनिधि नै नटुंगिएको अवस्थामा अहिले नै उम्मेदवारी घोषणा गर्नु उचित नहुने उनको तर्क छ । विशेष महाधिवेशनबाट महामन्त्री चयन भएका प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्रीका स्वाभाविक दाबेदार हुन् । पौडेल र घिमिरे दुवै विद्यार्थी राजनीतिबाट आएका हुन् । दुवै नेविसंघको अध्यक्षसमेत भए ।
सहमहामन्त्रीद्वय उदयशमशेर राणा र डा. डिला संग्रौलाले पनि महामन्त्रीका आकांक्षा राखेका छन् । तर, सार्वजनिक रूपमा उनीहरूले घोषणा गरेका छैनन् । पूर्वसहमहामन्त्री जीवन परियार र महेन्द्र यादव पनि महामन्त्रीको आकांक्षी छन् । परियार १४औँ महाधिवेशनमा शेखर कोइराला–गगन थापा प्यानलबाट र देउवा प्यानलबाट यादव सहमहामन्त्रीमा निर्वाचित भएका थिए । कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले ००९ मै जनकपुरमा भएको पाँचौँ महाधिवेशनबाट दलित समुदायका धनमानसिंह परियारलाई महामन्त्री बनाएको उदाहरण प्रस्तुत गर्दै जीवनले १५औँ महाधिवेशनबाट आफू महामन्त्री बन्ने आकांक्षा राखेका छन् ।
प्रवक्ता देवराज चालिसेले पनि महामन्त्रीमा आकांक्षा राखेका छन् । सहमतिमै नेतृत्व चयनको प्रयास हुने र लोकतान्त्रिक अभ्यास गर्नर् ेअधिकार सबैलाई भएको उनी बताउँछन् । उनी विशेष महाधिवेशनका अगुवा हुन् । ‘फुटबलमा जस्तै राजनीतिमा पनि टिम चाहिन्छ । आकांक्षा राख्नु अस्वाभाविक होइन, मुख्य रूपमा सहमतिमै नेतृत्व चयन हुन्छ,’ उनले भने ।
केन्द्रीय सदस्य नैनसिंह महरले औपचारिक कार्यक्रममै महामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन् । उनी महाधिवेशन प्रतिनिधि भएको डडेल्धुरा कांग्रेसले महामन्त्रीको उम्मेदवार उठाउने औपचारिक निर्णय नै गरेको छ । उनी सुदूरपश्चिमबाट कार्यकर्ता भेटघाटमा लागिसकेका छन् ।
केन्द्रीय सदस्य सुनील शर्मा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले महामन्त्री उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेका छन् । केन्द्रीय सदस्यहरू रामहरि खतिवडा, मीन विश्वकर्मा, रञ्जित कर्ण र मधु आचार्यले पनि महामन्त्रीमा आकांक्षा राखेका छन् । सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, बहादुरसिंह लामा, कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, प्रकाश स्नेही र मुक्ताकुमारी यादव पनि महामन्त्रीका दावेदार मानिएका छन् ।
महाधिवेशनप्रतिनिधि सात हजार नाघ्ने
१५औँ महाधिवेशनमा प्रतिनिधि सात हजारभन्दा बढी हुने भएका छन् । प्रदेश सभा क्षेत्रीय सभापति र पालिका सभापति पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्थाका कारण प्रतिनिधिको संख्या बढेको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले बताए । ‘यसपालि महाधिवेशन प्रतिनिधि सात हजारभन्दा बढी नै हुन्छन् । प्रदेश (१) र (२) का सभापति र पालिका सभापतिहरू पदेन महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । त्यही कारण यसपालि महाधिवेशन प्रतिनिधिको संख्या धेरै भएको हो,’ खड्काले भने । १४औँ महाधिवेशनमा प्रतिनिधि चार हजार ७४३ थिए ।
को–को हुन्छन् महाधिवेशन प्रतिनिधि ?
१६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट कम्तीमा चार महिलासहित १४ जना, श्रमिक, पेसागत क्षेत्र वा विषय विज्ञबाट दुईजना, ३५ वर्षमुनिका युवा एक महिलासहित तीनजना, अपांगता भएका व्यक्ति एकजना प्रत्यक्ष र महिला, दलित, मधेशी दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारू, मुस्लिम, पिछडिएको क्षेत्रबाट १० जना प्रतिनिधि समानुपातिक आधारमा प्रतिनिधिसभा क्षेत्रको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम निर्वाचित गर्नेछ ।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति र गाउँ–नगरपालिका कार्यसमितिको सभापति पदेन केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनेछ । पदेन महाधिवेशन प्रतिनिधिलाई मतदानको अधिकार भए पनि उम्मेदवार बन्ने अधिकार हुँदैन ।
कांग्रेसले विशेष महाधिवेशनबाट विधान संशोधन गर्दै केन्द्रीय पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि रहने पुरानो व्यवस्था हटाएर वडाबाटै अनुमोदित भएर आउनुपर्ने व्यवस्था गरेको छ । क्षेत्रका साथै भ्रातृ, शुभेच्छुक र विदेशस्थित सम्पर्क समितिबाट पनि महाधिवेशन प्रतिनिधि आउँछन् । भ्रातृ संस्थाबाट कम्तीमा पाँच र शुभेच्छुक संस्थाबाट कम्तीमा तीनजना महाधिवेशन प्रतिनिधि हुन्छन् ।