दोस्रो ठुलो व्यापार साझेदारसमेत रहेको उत्तरी छिमेकी चीनसँगका तीनवटै प्रमुख व्यापारिक नाका बन्द भएका छन् । १ साउनदेखि तातोपानी नाका बन्द छ । गत १० भदौको विनाशकारी भोटेकोशी बाढीले सडक, बन्दरगाह, पुललगायत संरचना क्षतिग्रस्त बनाएपछि रसुवा नाका पनि अनिश्चितकालका लागि बन्द भएको छ । तातोपानी र रसुवा नाकाको विकल्पका रूपमा प्रयोग हुँदै आएको कोरोला नाकासमेत पछिल्लो बाढीपहिरोका कारण बन्द भएको भन्सार विभागले जनाएको छ ।
अन्तर्राष्ट्रि व्यापार हुने उत्तरतर्फका सबै नाका बन्द भएपछि स्थलमार्गबाट हुने चीनसँगको आयात–निर्यात प्रभावित भएको छ । नाकामा भएको अवरोधले दसैँ, तिहार र छठका लत्ताकपडा, जुत्ताचप्पल, विद्युतीय तथा सजावटका सामग्रीलगायतको आयात प्रत्यक्ष प्रभावित भएको भएको व्यवसायीले बताएका छन् ।
भन्सार विभागका महानिर्देशक यमलाल भुसालले उत्तरतर्फका तीनैवटै प्रमुख नाका तातोपानी, रसुवा र कोरोला बन्द भएको बताए । यद्यपि, कोरोला नाका भने केही दिनमै पुनः सञ्चालनमा आउने उनको दाबी छ । पूर्वाधार संरचना तथा प्रणालीलगायत अभावका कारण उत्तरतर्फका अन्य नाका तत्काल अन्तर्राष्ट्रिय व्यापारका लागि योग्य नरहेको उनले बताए । नेपाल हिमालयन सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले तत्काल तातोपानी नाका सञ्चालनमा ल्याउनुको विकल्प नभएको बताए ।
१० भदौमा आएको बाढीले रसुवा नाका क्षतिग्रस्त बनाएपछि उक्त नाका सञ्चालन नै अनिश्चित भएको छ । अर्कोतर्फ चीनले तातोपानी नाका पनि नखुलाएका कारण उत्तरी नाकाबाट हुने आयातलाई सहजीकरण गर्न सरकारले कोरोला नाकाबाट सामान ल्याउने बाटो खुलाएको थियो । भन्सार विभागले पनि कोरोला नाकाबाट आयात हुने सामान काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा ल्याएर जाँचपास गर्न सकिने व्यवस्था गरेपछि कोरोला नाकामा चहलपहल बढेको थियो । पछिल्लो दुई महिनामै कोरोलाबाट आठ अर्ब ३३ करोड २१ लाख रुपैयाँबराबरको वस्तु पनि आयात भएको छ, जुन कुल आयातको २.०८ प्रतिशतबराबर हो । तर, पश्चिमा आएको बाढीपहिरोले सडक ठाउँ–ठाउँमा भत्काएपछि उक्त नाकासमेत अहिले बन्द भएको छ ।
यसैबीच, प्रतिनिधिसभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद भरत पराजुलीले तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरे । आकस्मिक समयमा बोल्दै उनले चीन जोड्न रसुवागढी र कोरोला नाका अवरुद्ध हुँदा व्यापारीका हजारौँ कन्टेनर अलपत्र परेका र चीनतर्फको कनेक्टिभिटी पूर्ण रूपमा ठप्प भएको बताए ।
दसैँ–तिहारका लागि सामान बोकेका सात सय कन्टेनर कोरोला नाकामै अड्किए
नेपाल हिमालयन सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले कोरोलातर्फबाट पाँच सयदेखि सात सय कन्टेनर नेपाल आउने क्रममा रहेको बताए । दसैँ, तिहार तथा छठजस्ता चाडपर्वलक्षित ती सामग्री दसैँको प्रयोजनका लागि आउनेमा शंका रहेको उनको बुझाइ छ । ‘कोरोला नाका अझै १०–१२ दिन चल्न सक्दैन भन्ने जानकारी दिइएको छ,’ उनले भने, ‘त्यसो हुँदा चाडपर्वलक्षित सामग्री आयातका लागि तत्कालै कूटनीतिक पहल गरेर तातोपानी नाका खुलाउनैपर्छ ।’ एक उच्च सरकारी अधिकारीले परराष्ट्र मन्त्रालयमार्फत तातोपानी नाका पुनः सञ्चालानका लागि कूटनीतिक प्रयास भइरहेको दाबी गरेका छन् । ‘चीनले उक्त नाका किन बन्द गरेको हो, त्यो बुझ्न सकिएको छैन, औपचारिक घोषणा गरेर बन्द गरिएको पनि होइन,’ ती अधिकारीले भने, ‘अहिलेको विषम परिस्थितिमा तातोपानी नाका खुलाउनुपर्छ भनेर सरकारले कूटनीतिक पहल गरिरहेको छ ।’
सन्धिअनुसार ६ मध्ये तीन नाकामा अझै पूर्वाधार बनेनन्
नेपाल–चीन पारवहन सन्धिको प्रोटकलले दुई देशबिचका ६ वटा नाकाबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सकिने व्यवस्था गरेको छ । प्रोटोकलले रसुवा (केरुङ), कोदारी (तातोपानी), किमाथांका (संखुवासभा), नेचुंग (कोरोला), यारी (हिल्सा) र ओलाङचुङगोला (ताप्लेजुङ) नाकामार्फत पारवहन ढुवानी गर्न सकिने व्यवस्था गरिएको छ । यसमध्ये रसुवा, तातोपानी र कोरोला नाका मात्रै अन्तर्राष्ट्रिय व्यापारका लागि प्रयोग हुँदै आएका छन् । बाँकी तीन नाकामा भने अन्तर्राष्ट्रिय व्यापारका लागि पूर्वाधार तथा संरचना बनिसकेका छैनन् । यद्यपि, ओलाङचुङगोला, किमाथांका, तिप्ताला, भञ्ज्याङ, लाप्ची, फालक, थाप्लापास, मार्युम्लापास, लार्के, यारिलगायत दुई दर्जन परम्परागत नाकासमेत सञ्चालनमा छन् । जहाँ स्थानीयस्तरमा मात्रै आवतजावत तथा व्यापार हुँदै आएको छ ।
उत्तरतर्फका तीनवटै नाका बन्द छन्, कोरोला चाँडै सञ्चालनमा आउनेछ : यमलाल भुसाल, महानिर्देशक, भन्सार विभाग
उत्तरतर्फका तीनैवटै प्रमुख नाका तातोपानी, रसुवा र कोरोला बन्द भएका छन् । तर, कोरोला नाका चाँडै सञ्चालनमा आउँछ । हिमपात र सडक अवरुद्ध भएका कारण सो नाकाबाट हुने व्यापार रोकिएको भए पनि त्यो केही दिनमै खुल्नेछ । जाँचपासमा कुनै समस्या छैन, सडकको पहिरो हटाउने कार्य भइरहेको छ । केही दिनलाई समस्या होला, ठप्पैचाहिँ हुँदैन ।
चीनतर्फको अन्तर्राष्ट्रिय व्यापार पूर्ण रूपमा रोकिएको छ : रामहरि कार्की, अध्यक्ष, हिमालयन सीमापार व्यापार संघ
तत्काल तातोपानी नाका सञ्चालनमा ल्याउनुको विकल्प छैन । नेपालतर्फ सडक ठिकै छ, पारिपट्टि पनि ठिक छ, सामान आयात–निर्यातलाई कुनै समस्या छजस्तो लाग्दैन, तर तातोपानी किन खोलिएको छैन, हामीले बुझ्न सकेका छैनौँ । रसुवा र तातोपानीको बाध्यात्मक विकल्प कोरोला नाका थियो, त्यो पनि बन्द भएपछि अब चीनतर्फ स्थलमार्गबाट हुँदै आाएको अन्तर्राष्ट्रिय व्यापार पूर्ण रूपमा रोकिएको छ । कोरोलातर्फबाट पाँच सयदेखि सात सय कन्टेनर नेपाल आउने क्रममा छन् । दसैँ, तिहार तथा छठजस्ता चाडपर्वलक्षित ती सामग्री दसैँको प्रयोजनका लागि आउनेमा शंका उत्पन्न भएको छ । त्यसो हुँदा चाडपर्वलक्षित सामग्री ल्याउन कूटनीतिक पहल गरेर तातोपानी नाका खुलाउनैपर्छ ।